पर्यटन संरचनामा लाखौं लगानी
कैलाशले बनायो ८८ लाख खर्चिएर जीपलाइन

हेटौंडा– मकवानपुरको कैलाश गाउँपालिकाले २ नम्बर वडाको बैकुण्ठ–कैलाश क्षेत्रलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लाखौं रुपैयाँ लगानी गरेको छ । गाउँपालिकाले विगतका वर्षदेखि बैकुण्ठमा पर्यटन संरचना निर्माणमा लगानी गर्दै आएकोमा थप ८८ लाख रुपैयाँ खर्चिएर जीपलाइन सम्पन्न गरेको छ ।
गाउँपालिकाले २ नम्बर वडाका प्रमुख दुई प्रमुख धार्मिक एवं पर्यटकीय स्थललाई जोड्नका लागि बैकुण्ठ डाँडादेखि कैलाश डाँडासम्मको एक हजार दुई सय मिटर लामो जीपलाइन निर्माण गरिएको हो । साहसिक पर्यटनमार्फत मनोरञ्जन लिन चाहनेलाई ध्यान दिई जीपलाइन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । बहुवर्षीय ठेक्कामार्फत ८८ लाख ५६ हजार रुपैयाँमा जीपलाइन निर्माण सम्पन्न भएको पालिका अध्यक्ष मुक्तानले बताए ।
गाउँपालिकाले जीपलाइनको शनिबार पहिलो चरणको परीक्षणसमेत गरेको छ । पालिकास्तरबाटै निर्माण भएको पहिलो जीपलाइनको प्राविधिक टोलीसहित गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, इन्जिनियर अनिल जोशीलगायतको टोलीले परीक्षण गरेको हो । पहिलो चरणमा ब्रेकिङ सिस्टम (सोलोप) सम्बन्धी कार्यको परीक्षण गरिएको बताउँदै जीपलाइन प्राविधिक एवं प्रशिक्षक बद्री घिमिरेले दोस्रो चरणको परीक्षणपछि जीपलाइन सञ्चालनमा आउने बताए ।
जीपलाइनको दुई स्थानमा स्टेसन, ब्रेकिङ सिस्टम (हारनेस) र तार निर्माण गरिएको छ । जीपलाइन निर्माण सम्पन्न भए पनि अन्य भौतिक निर्माणको काम बाँकी रहेकाले जीपलाइनको पूर्ण सञ्चालनका लागि भने केही समय लाग्ने कैलाश २ नम्बर वडाध्यक्ष राजेन्द्र घिसिङले बताए । जीपलाइन चढ्ने र ओर्लने स्थानमा शौचालय, प्रतीक्षालय लगायत अन्य भौतिक संंरचना निर्माण गर्न बाँकी छ ।
जीपलाइन सञ्चालनपछि छिमेकी जिल्ला धादिङको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरको हेटौँडा, थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिका लगायतका स्थानबाट पर्यटक आउने विश्वास लिइएको वडाध्यक्ष घिसिङले बताए । बैकुण्ठबाट कैलाश गाउँपालिकाको अधिकांश वडाको अवलोकन गर्न सकिने, ऐतिहासिक विष्णुकुण्ड, गुफा, तामाङ जातिको परम्परागत सांस्कृतिक सम्पदा रहेका कारण पर्यटकीय हिसाबले बैकुण्ठ निकै महत्त्वपूर्ण मानिन्छ ।
कैलाश बैकुण्ठको पर्यटकीय विकासका लागि गाउँपालिकाका साथै बागमती प्रदेश सरकारले समेत गरी करोडौं लगानी गरिएको छ । बैकुण्ठमा २२ लाख रुपैयाँ लगानीमा डाँफे मुनाल पार्कले पर्यटकलाई लोभ्याउने गरेको छ । पार्ककै मुनिपट्टी १५ लाख रुपैयाँ खर्चिएर विष्णुकुण्ड निर्माण गरिएको छ । अग्लो डाँडाको समथल ठाउँमा सधैँ पानी जमिरहने पोखरीलाई विष्णुकुण्डको नाम दिइएको छ ।
सो विष्णुकुण्डलाई संरक्षण गर्दै कुण्डको बीचमा राखिएको बौद्ध धर्मका धर्मगुरु पद्मसम्भवको आकर्षक मूर्तिले पनि पर्यटकलाई उत्तिकै लोभ्याउने गरेको छ । डाँफे मुनाल पार्कसँगै प्रदेश सरकारको १० लाख रुपैयाँ लगानीमा बैकुण्ठ गाउँ सतिघाट संरक्षणस्थल निर्माण गरिएको छ । त्यस्तै गाउँपालिकाको पहलमा प्रदेश सरकारले २० लाख रुपैयाँ लगानी गरेर भर्खरैमात्र आकर्षक डम्फूपार्क निर्माण गरिएको छ । डम्फूपार्कमा लभपार्क, चितुवापार्क र टुङ्गापार्क बनाइएको छ ।
ऐतिहासिक बैकुण्ठडाँडामै गाउँपालिकाले २२ लाख रुपैयाँ लगानी गरी टासी फर्पे छोयलिङ गुम्बा निर्माण गरिएको छ । गुम्बामा मूर्ति प्रतिस्थापन गरी केही समयअघि मात्रै सञ्चालनमा ल्याइएको छ । पर्यटनका लागि आवश्यक धेरै संरचना बनाइसकिएको र अब पर्यटकको आवासका लागि व्यवस्थित होमस्टे स्थापना गरिने वडाध्यक्ष घिसिङले बताए । मकवानपुरको पर्यटकीय नगरी पालुङबाट करिब तीन घण्टाको कच्ची सडकको यात्रापछि कैलाशको बैकुण्ठ पुग्न सकिन्छ ।
त्यस्तै धादिङ जिल्लाको मलेखु र आदमघाटबाट पनि बैकुण्ठ पुग्ने सडक बनिसकेको छ । राक्सिराङ गाउँपालिकाको खैराङबाट पनि बैकुण्ठसम्म पुग्न सकिनेगरी सडक निर्माण भइसकेको छ । हिउँदयाममा मकवानपुरको मनहरीबाट करिब साढे दुई घण्टामै बैकुण्ठडाँडा पुग्न सकिन्छ । धादिङको बेनिघाट–रोराङ गाउँपालिकासँग सिमाना जोडिएको बैकुण्ठबाट धादिङ, गोरखा र रसुवाका हिमालको आकर्षक दृश्य देख्न सकिन्छ । ऐतिहासिक गाउँको रूपमा रहेको बैकुण्ठमा तामाङले घाटु नाच नाच्ने प्रचलन छ ।