Logo

म्याग्नस फर्माबाट औषधि उत्पादन

वीरगन्ज– वीरगन्ज पथलैया औद्योगिक करिडोरमा १८ वर्षअघि स्थापना भएको औषधि उद्योग म्याग्नस फर्माले प्यारेन्टल तथा इन्जेक्टेवल औषधि उत्पादन गर्ने भएको छ । वीरगंजमा मंगलबार साँझ पत्रकार सम्मेलन आयोजना गरी औषधि उत्पादनका लागि अत्यधुनिक स्टेराईल प्लान्ट निर्माण अन्तिम चरणमा रहेको जानकारी दिएको हो ।

म्याग्नस फर्माका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्केले विश्व स्वास्थ्य संगठनको असल औषधि उत्पादन अभ्यास तथा विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्यधुनिक स्टेराईल प्लान्ट निर्माण गरिएको हो । उक्त प्लान्टबाट थेराप्युटिक सेगमेन्टका विभिन्न औषधिहरू उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । १०९ विभिन्न ब्राण्डका २०७ प्रकारका औषधि उत्पादन गरिरहेको कम्पनीले तीमध्ये पाँच वटा औषधि नेपाली बजारमै पहिलो पटक ल्याएको दाबी गरेको छ ।

त्यस्तै ३४ बढी प्रकारका औषधिहरू नेपालमा नै पहिलो पटक उत्पादन गरिएको जनाएको छ । नेपाली बजारमा उपलब्ध नभएका तथा नवीन प्रविधिका औषधि उत्पादनलाई जोड दिँदै नेपाली बजारमै पहिलो पटक ल्याइएको मधुमेह रोग सम्बन्धी रोगको उपचारमा प्रयोग हुने अल्जाईमर्सको उपचार, हेपाटाईटिस सी र बी जस्ता रोगहरूका लागि आवश्यक औषधिहरू नेपाली ब्राण्डमा पहिलो पटक म्याग्नस फर्माले नै उत्पादन गरेको कम्पनीका अध्यक्ष सन्दीप तुल्स्यानले बताए ।

कम्पनीका प्रबन्ध निर्देशक मास्केका अनुसार नयाँ प्लान्टबाट अब क्रिटिकल केयर, पेन मेनेजमेन्ट, न्युरो, साइक्याट्री, अप्थाल्मिक, ईएनटी र एनेस्थेसिया सम्बन्धी उपचारमा प्रयोग हुने प्यारेन्टल तथा इन्जेक्टेबल औषधिहरू एम्पुल र भाइलमा उत्पादन हुने छन् । नयाँ स्टेराईल प्लान्टका लागि म्याग्नसले एक अर्ब बढी लगानी गरेको जनाएको छ ।

देशकै एक प्रमुख प्रतिष्ठित औषधि उत्पादकका रुपमा स्थापित म्याग्नस फर्माले औषधिहरूको गुणस्तरीयता र विश्वसनीयता बजारमा स्थापित भइसकेको जनाएको छ । कम्पनीले उत्पादन गर्ने इन्जेक्टेबल औषधिहरू देशको स्वास्थ्य क्षेत्रको लागि अत्यावश्यक औषधीहरूमा पर्दछ । आउन लागेको औषधिहरूले गुणस्तरमा कुनै सम्झौता नगरिकन, देशको औषधि आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य लिएको अध्यक्ष तुल्स्यानले बताए ।

समयानुसार प्रविधि र उत्पादन पद्धतिलाई परिमार्जित गर्दै अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र कुशल व्यवस्थापनयुक्त कम्पनीको रूपमा स्थापित गर्नुका साथै नेपाली बजारमा कम्पनीका औषधिहरू गुणस्तरयुक्त, भरपर्दो उत्पादकको रूपमा पनि स्थापित भएको कम्पनीले जनाएको छ । म्याग्नर्सले उत्पादन गरेका उच्च गुणस्तरका औषधिहरू विश्व बजारमा समेत प्रवेश गरेको वित्तीय निर्देशक विनित लोहियाले बताए ।

उनका अनुसार भेनेजुएला, मौरिसियासलगायतका देशहरूमा म्याग्नर्स कम्पनीले उत्पादन गरेको औषधिहरू निर्यात गर्न थालेको छ । यसले देशको व्यापार घाटा न्यूनीकरणमा योगदान दिने लोहियाले बताए । सापेक्षित आद्रर्तासहित उत्कृष्ट तथा गुणस्तरीय औषधि उत्पाद मुख्य उद्देश्य रहेको र यसले ठोस विज्ञान तथा जोखिम व्यवस्थापनको सन्तुलित प्रयोग गरिएको जनाएको छ ।

म्याग्नस फर्माले उत्पादन गर्ने एम्पुलमा एक एमएलको १७ हजार प्रतिघण्टा, दुई एमएलको १६ हजार प्रतिघण्टा र १० एमएलको १० हजार एम्पुल प्रतिघण्टा उत्पादन क्षमता रहेको छ । त्यस्तै भाईल उत्पादन क्षमता दुई एमएल र १० एमएलको प्रति घण्टा सात हजार, ३० एमएलको पाँच हजार र १०० एमलएलको एक हजार पाँचसय भाईल प्रति घण्टा उत्पादन हुने जनाएको छ ।

त्यस्तै अपथ्याल्मिक र नेजल स्प्रे नेपालमा पहिलो पटक उत्पादन गर्न लागिएको र यसमा विशेष प्रकारको स्वचालित मेशिन प्रयोग गरिएको छ । भारतबाट आयात गरिएको स्वचालित मेशिनबाट अपथ्याल्मिकको प्रति घण्टा ६ हजार आँखाको ड्रप र प्रति घण्टामा तीन हजार नेजल स्प्रे उत्पादन हुने जनाएको छ । त्यसैगरी फर्मास्युटिकल उद्योगका लागि प्रयोगशाला र उत्पादन फ्रिज ड्रायर लायोफिलाईजेशन मेशिन पहिलो पटक प्रयोग गर्न लागिएको जनाएको छ ।

नेपालमा उद्योग व्यवसायका लागि नीतिगत समस्याहरूको बावजुद पनि औषधि उद्योगमा नविनतम प्रविधिको प्रयोग र उच्चस्तरीय गुणस्तरमा औषधि उत्पादन गरी देशमा औषधि आयातलाई प्रतिस्थापन गर्दै निर्यातमा पनि महत्त्वपूर्ण योगदान दिन प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ ।

गुणस्तरीय तथा सुरक्षित औषधि प्रयोग गर्न पाउनु प्रत्येक नेपालीको अधिकार भएकोले यसलाई ध्यानमा राख्दै औषधिको गुणस्तरीयतामा कुनै सम्झौता नगरी देशको स्वास्थ्य क्षेत्रमा ठोस योगदान दिएर औद्योगिक विकास तथा रोजगारीको सृजनामा समेत सकारात्मक योगदन पुर्‍याउने अपेक्षा गरिएको प्रबन्ध निर्देशक मास्केले बताए ।

उनले विश्वको धनी अमेरिकी व्यवसायी एलन मस्कलाई पनि नेपालमा आएर उद्योग स्थापना गर्न चुनौती दिए । उनले नेपालको ऐन, कानून र नीतिहरू एकदमै झण्झटिलो रहेको जनाउदै नेपाली उद्योगी व्यवसायीहरूले जस्तो अनेक बाधा, व्यवधान र पीडा सहेर पनि नेपालमै औद्योगिक विकास र उत्पादन गर्दै आत्मनिर्भर बनाउने प्रयासमा आफूहरू रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्