अधिकांश लघुवित्त मर्जरको मनस्थितिमा

केही वर्ष अगाडिसम्म एक सयको संख्यामा रहेका लघुवित्त अहिले ५२ वटामा झरेका छन् । यीमध्ये अधिकांशले मर्जर र एक्विजिसनका लागि एजेण्डा बनाएका छन् ।
काठमाडौं– अर्थतन्त्रको सुस्ततासँगै कर्जा असुलीमा समस्या भोगिरहेका लघुवित्त वित्तीय संस्था मर्जरको तयारीमा जुटेका छन् । अधिकांश लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि जोडि खोज्न थालेका छन् । पुँजीकोषको दबाब झेलिरहेका लघुवित्तदेखि सहज अवस्थामा रहेका लघुवित्त समेतले मर्जरलाई एजेण्डा बनाएका छन् ।
राष्ट्र बैंकको मर्जर नीतिलाई सहयोग गर्ने र आफ्ना लागि पनि उपयुक्त जोडी पाएमा मर्ज गर्ने नीतिमा लघुवित्त रहेको देखिएको छ । यद्यपि मर्जरका एजेण्डा पारित गराएका सबै लघुवित्तले मर्जर गर्छन् नै भन्ने नहुने लघुवित्तका जानकार बताउँछन् । अहिले प्राय: लघुवित्तले मर्जरमा गएपछि पुँजी ठूलो हुने र बलियो हुने भन्दै मर्जरलाई जोड दिएका हुन् । वार्षिक साधारणसभामा अधिकांश लघुवित्तले मर्जरको एजेण्डा लैजाने र पास गराउने क्रम बढेको छ ।
गत फागुन १७ मा समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तबीच मर्जरमा जान सम्झौता भइसकेको छ । यसबाहेक अधिकांश लघुवित्तले साधारणसभाका लागि तयार पारिएको विशेष प्रस्तावमा ‘भविष्यमा अन्य लघुवित्त संस्थासँग मर्जर र प्राप्ति गर्ने प्रयोजनार्थ अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर/प्राप्तिसम्बन्धी सम्झौता पत्र तय गर्ने, डीडीए गर्ने र मर्जर/प्राप्तिसम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पूरा गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने’ उल्लेख गरेका छन् ।
साधारणसभा बोलाएको मानुषी लघुवित्त, महिला लघुवित्त, यस्तै महुली लघुवित्त, समता घरेलु, धौलागिरि लघुवित्त, श्रृजनशील, उन्नति सहकार्य लगायतका लघुवित्तले मर्जरमा जानका लागि प्रस्ताव तयार गरेका छन् । यस्तै निर्धन उत्थान, छिमेक, डिप्रोक्स, कालिका, मिथिला, लक्ष्मी, आरएसडीसी, गणपति, इन्फिनिटी, जीवन विकास, उपकार, सीवाईसी नेपाल, वीन नेपाल र सूर्योदय वोमी लघुवित्तलगायतले मर्जरमा जानका लागि योजना बनाइरहेका छन् ।
स्वावलम्बन, फष्ट माइक्रोफाइनान्स, हिमालयन, फरवार्ड माइक्रोफाइनान्स, सपोर्ट, आशा, गुराँस, मानुषी र युनिक नेपाल लघुवित्तले साधारणसभाबाट मर्जरको एजेन्डा पारित गराइसकेका छन् । केही वर्ष अगाडिसम्म एक सयको संख्यामा रहेका लघुवित्त अहिले ५२ वटामा झरेका छन् । यीमध्ये अधिकांशले मर्जर र एक्विजिसनका लागि एजेण्डा बनाएका छन् ।
नेपाल लघुवित्त संघका पूर्वअध्यक्ष एवम् विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले अहिले केन्द्रीय बैंकको नीति लघुवित्तको संख्या घटाउने भएको हुँदा धेरैले मर्जरमा जान खोजिरहेको बताए । उनले मुलुकमा ३१ वटा मात्रै लघुवित्त संस्था भए पर्याप्त हुने समेत बताए ।
‘हरेक प्रदेशमा प्रदेशस्तरीय तीन–तीनवटा गरेर २१ वटा र राष्ट्रियस्तरका १० वटा लघुवित्त भए पुग्छ भन्ने मलाई लाग्छ,’ लम्सालले भने । ‘अहिले हामीले मर्जरका लागि एजेण्डा राखेनौं । तर अरु कम्पनीहरूले भयो भने मर्जर गरौंन भन्ने सोचेर एजेण्डा बनाएका हुन्,’ लम्सालले भने । उनले अहिले एजेण्डा पास भएका कम्पनीहरूको मर्जर हुन्छ नै भन्ने नहुने बताए ।
उनले भने, ‘पटक पटक साधारणसभा गर्न सम्भव हुँदैन । त्यसैले वार्षिक साधारणसभामै विशेष प्रस्ताव राख्ने र मौका मिल्दा मर्जर गर्ने भन्ने धेरैको सोच हुन्छ ।’ यता स्वावलम्बन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह विष्ट धेरै लघुवित्त भएर अस्वस्थ प्रतिष्पर्धा बढ्दै गइरहेको अवस्थामा राष्ट्र बैंकले पनि मर्जर चाहेकाले त्यसलाई मान्ने गरी मर्जरका लागि तयार भएको बताउँछन् ।
केही लघुवित्तको पुँजी पर्याप्त नभएका कारण पनि दबाब भइरहेको अवस्थामा मर्जरको विकल्प रोज्न खोजेको देखिएको उनले बताए । साथै, केहीले जोडी पाइहालेमा जुनसुकै बेला मर्जर हुनसक्ने भएकाले साधारणसभाबाट एजेण्डा पास गराएको समेत उनको भनाइ छ । उनले पनि अहिले मुलुकमा १५ वटा लघुवित्त भए पर्याप्त हुने बताए । पछिल्लो तथ्यांकअनुसार नेपालमा २१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ ।
यस अर्थमा कुल दुई करोड ९१ लाख जनसंख्यामध्ये ६० लाख गरिब रहेको बताउँदै उनले यसका लागि १५ वटा लघुवित्त भए पर्याप्त हुने सुनाए । ‘लघुवित्तले सामान्यतया एक परिवारमा एक जनालाई कर्जा दिने हो । चार जनाको एक परिवार मान्ने हो भने १५ लाख परिवार गरिब छन्,’ उनले भने, ‘१५ लाख सदस्यलाई कर्जा सेवा दिनुपर्नेछ । एउटा लघुवित्तले एक लाख सदस्यलाई कर्जा दिए पनि १५ वटा लघुवित्त भए पुग्ने देखिन्छ ।’