हुम्लामा तामाका भाँडाकुँडा हुने मानिस धनी !

सुनलगायत अन्य वस्तु भएका धनी हुन्छन् कि तामा भएका ? पक्कै सुन, चाँदी, हिरा मोतिलगायतका वस्तु हुने नै धनी मानिएलान् । तर हुम्लामा भने तामा भएका परिवार धनी मानिन्छन् । जोसँग तामाका भाँडाकुँडा छ, त्यसैलाई सम्पन्न भएको मानिन्छ ।
करिब ३५ वर्ष अगाडि भारतको नैनतालबाट सर्केगाड–८ का जोगवीर रोकायाले भारी बोकाएर ज्यालामा २ तामाको ताउलो अर्थात् भाँडा घरमा ल्याउँदा मन ठेगानमा भएन रे । धनी भएको आभास भयो रे । भाइ दन्तवीर रोकाया र आफू अलग हुँदा २ ताउला भाग परेको थियो । आफू जागिरमा रहँदा ३ ताउला थप्ने जोश चलेर तत्कालीन गाउँघरको चालचलनलाई सम्हाल्ने मन लागेकाले तामाको ठूलो भाँडा भित्र्याएको जोगवीर सम्झन्छन् । अब त चलन हरायो, पहिला पहिला तामाको ताउलो, काँसको भाँडा, घरमा अन्नको खाडल, धेरै पशुवस्तु जसको घरमा हुन्थ्यो उसैलाई धनी मानिन्थ्यो । अहिले समय फेरिएको छ, जो सूचना र प्रविधिमा सक्षम छ, उही धनी मानिन थालिएको, रोकायाको अनुभव छ ।
जोगवीरको मात्रै होइन हाल गाउँघरमा अझ तामाको ठूला भाँडा भएको घरलाई हालसम्म पनि धनी मान्ने प्रचलन हुम्लामा कायम नै छ । नेपालमा नबन्ने र भारतबाट आयात गरिने यस्ता खालका भाँडाको माग अझै गाउँघरमा कायम छ । विशेष गरेर तामाको ठूलो भाँडा विवाह, व्रतबन्ध, चाड पर्वमा भोज भतेर गर्नका लागि प्रयोग हुँदै आएको छ । केही सभा समारोह गर्नुपरेमा यही ताउलोमा खानेकुराको परिकार पकाएर बाँड्ने चलन छ । धेरै पहिला ३ हजारदेखि ४ हजारसम्म पर्ने यस्ता खालको भाँडाको मूल्य पनि समयअनुसार महँगो हुँदै आएको छ । हाल विभिन्न आकार र बाक्लोपनको अवस्था हेरेर यसको मोलमोलाइ हुने गरेको छ । हाल हुम्लामा मात्र नभई जिल्लाबाहिरका व्यापारीले ढाडमा नै बोकेर गाउँघरमा बिक्री गर्न हिँडेपछि यसको मूल्य अझ अकाशिएको छ । गाउँमा नै बिक्री गर्दा १० हजारदेखि २० हजारसम्मको मूल्यमा उपभोक्ताले किनिरहेका छन् । कोही आफन्तको विवाह, व्रतबन्ध र अन्य ठूलो समारोह भयो भने कस्कोमा माग्न जानु, लाज हुन्छ, आफ्नो घरमा भए त तुरुन्तै निकाल्यो, प्रयोग ग¥यो । स्थानीय भाषामा दाल्द अर्थात् गरिब पो रहेछ भनेर गाउँघरकाले कुरा काट्न थाल्छन्, जति महँगो भए पनि किन्नै पर्यो , चंखेली गाउँपालिकाका अजम्मरे जैशीले भने ।
पहिलेपहिले गाडी नहुँदा डाढ मस्कने गरी भारतबाट महिनौ दिन लगाएर यस्ता खालका भाँडा ल्याउने गथ्र्याैं, भाँडा ल्याउने क्रममा ज्यान नै गुमाउनु पथ्र्यो । टेलिफोन हुन्नथ्यो, घरबाट छुट्टिएपछि मर्यो वा बाँच्यो भन्ने कुरा सँगै गएका साथी फर्के पछिमात्र थाहा हुन्थ्यो । तामाको भाँडासँगको माया त्यसैले यहाँका बासिन्दालाई बढी नै हुने गरेको छ ।
हुम्ला जिल्लाभरि ठूलो तामाको भाँडा मैला गाउँका अके भण्डारीको घरमा रहेको बुझिन्छ । भाँडामा ५ जना मानिससँगै सुत्न मिल्ने बताइएको छ । सर्केगाड गाउँपालिकाको वडा नं. ६, ७ र ८ वडामा यस्ता खालको भाँडा किन्नेको होडबाजी नै चल्ने गरेको छ । भाँडा जति बढी भयो उति नै राम्रो मान्ने चलन छ । हुनेखाने वर्गले त छोरी चेलीलाई विवाह गरी अर्को घरमा पठाउँदा यस्ता खालका भाँडा दाइजोसमेत दिने चलन छ । भर्खरै केही दिन अगाडि बाजुराबाट आएका व्यापारीले यस्ता खालका भाँडाको व्यापार हुम्लामा राम्रो हुने देखेर एक ट्रयाक्टर भाँडा नै बिक्रीमा ल्याएको पाइएको थियो । व्यापारीले स्याँडामा गाउँमा गई ७ वटा बिक्री गरी ४५ हजार नाफा गरेको समेत व्यापारीको भनाइ छ । बाँकी रहेको भाँडा जिल्लाको दक्षिणी गाउँपालिका खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली, ताँजाकोटमा बिक्री गर्नका लागि लगेका थिए । ११ किलोमिटर गाडीबाट र त्यसपछि ढाडमा बोकेरै बिक्री गर्ने योजना रहेको समेत व्यापारीले सुनाए । बर्सेनि यस्ता खालका भाँडाबाट व्यापारीले लाखौंको आम्दानी गर्ने गरेका छन् । गाडीको सुविधा भएको भए अझ व्यापारबाट मनग्ये आम्दानी गर्न सकिने देखिएको छ ।
–रेशमराज रोकाया