Logo

सुधारिएको चुल्होका लागि ट्रेजर कार्बनसँग सम्झौता

भैरहवा– ग्रामीण तथा परम्परागत चुल्हो प्रयोग गर्दै आएका घरपरिवारमा सुधारिएको चुल्हो वितरण गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सम्झौता गरेको छ । मंगलबार नगरपालिका र नेपाल ट्रेजर कार्वनबीच सुधारिएको चुल्हो वितरण गर्ने विषयमा सम्झौता भएको हो । कार्बन उत्सर्जन कम गरी जलवायु परिवर्तनको असरमा सुधार गर्ने उद्देश्यले स्थापना भएको नेपाल ट्रेजर कार्वनले खाना पकाउँदा दाउरा तथा गुइठा प्रयोग कम गर्न सुधारिएको चुल्हो वितरण गर्ने गर्दछ ।

नगरपालिकामा पनि त्यस्ता घर परिवारको एकिन गरी सुधारिएको चुल्हो वितरण गर्न नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ र संस्थाको तर्फबाट ट्रेजर कार्वनका प्रमुख स्टेभेनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पछि उक्त संस्थाले नगरपालिकाको सहयोगमा सुरुमा परम्परागत चुल्हो प्रयोग गर्ने घर परिवारको छनौट गर्ने र ६ महिना भित्र सुधारिएको चुल्हो वितरण गर्ने लक्ष्य लिइएको संस्थाका प्रबन्ध निर्देशक समीक्षा बरालले बताइन् ।

बरालका अनुसार यो चुल्होको प्रयोगले ६० प्रतिशत दाउरा तथा गुइँठाको प्रयोग कम गर्नेछ । जसबाट कम दाउराको प्रयोगमा छिटो खाना पाक्नुका साथै कार्वन उत्सर्जनमा पनि कमी ल्याउने छ । नगर प्रमुख खाँले नगरवासीको स्वास्थ्यमा सुधार ल्याउने, वातावरण प्रदूषण कम गर्ने एवं खाना पकाउँदा दाउरा, गुइँठाको लागत कम गर्ने उद्देश्यले नगरवासीलाई आधुनिक एवं सुधारिएको चुल्हो वितरण गर्न संस्थासँग सहकार्य गरिएको जानकारी दिए ।

परम्परागत चुल्होका कारण स्वाथ्यमा समस्या देखिँदै आएको छ । खास गरी गृहीणीहरुमा स्वाशप्रस्वास, खोकी, मुटु रोग, निमोनिया, क्यान्सर, फोक्सोका रोग, दम, आँखा चिलाउने, मोतिविन्दु टाउको दुख्ने जस्ता स्वास्थ्यमा समस्या देखिँदै आएको छ । सुधारिएको चुल्हो भान्साघरमा प्रयोग गर्दा दाउरा कम लाग्ने र धुवाँ नियन्त्रण हुने र भान्सा पनि सफा देखिने भएकाले नागरीकलाई सुधारिएको चुल्हो वितरण गर्ने योजना नगरपालिकाले ल्याएको हो ।

सुधारिएको चुल्होको प्रयोगले दाउरा प्रयोगमा कमि भई दाउरा जम्मा गर्न लाग्ने समय र श्रम, खर्चमा समेत कमि ल्याउन सकिने साथै दाउराको खपत घटाउने, चुलोको कार्यदक्षता बढाउने र घर भित्रको धुवाँ कम गर्ने भएकाले आधुनिक चुल्होको महत्त्व स्वास्थ्यका कारण मात्रै नभई वातावरणिय र आर्थिक कारणले पनि महत्त्व रहेकाले सुधारीएको चुल्होतर्फ ध्यान दिन नगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्