सिमरा सेजमा गार्मेन्टलाई अन्तिम अवसर «

सिमरा सेजमा गार्मेन्टलाई अन्तिम अवसर

बारा-सिमरा विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले उद्योग स्थापना गर्न गार्मेन्ट उद्योगलाई अन्तिम अवसर दिने भएको छ । तयारी पोशाक, घरेलु तथा मझौला उद्योग संघहरुले विभिन्न माग राख्दै सिमरा सेजमा उद्योग स्थापना नगरेपछि प्राधिकरणले अब अन्तिम मौका दिने भएको हो ।
सेजका प्रवक्ता सुन्दर थापाले उद्योगीको माग अनुसार शुल्क निर्धारण गरेर उद्योग सञ्चालन गर्न नसकिने बताए ।
उनले भने, “हामीले निर्धारण गरेको प्रतिवर्गमिटर २० रुपैयाँ महगो भन्दै उहाँहरुले भने जस्तो तीन रुपैयाँमा उपलब्ध गराउँन सकिँदैन ।” उनले उप सचिव शोभाकान्त पौडेलको संयोजकत्वमा बनेको समितिले यहि महिना भित्रै दिने प्रतिवेदनका आधारमा थप निर्णय गर्न सकिने बताए । यो नै सरकारको तर्फबाट उद्योगीलाई अन्तिम अवसर हुने उनले बताए ।
गत वैशाख १९ सेज प्राधिकरणले १ महिने म्याद दिएर सूचना प्रकाशित गरी गार्मेन्ट प्रशोधन क्षेत्रमा उद्योग स्थापना र सञ्चालन गर्न प्रस्ताव माग गरे पनि स्वदेशी, विदेशी उद्योग नआएपछि तयारी सेज रितो बनेको छ ।
सिमरा विशेष आर्थिक क्षेत्रभित्रको ‘ए’ ब्लकमा १४६ बिगाह क्षेत्रफलभित्र ६६ वटा उद्योग स्थापना गर्न सकिने गरी सेजले अर्बौ खर्चेर गार्मेन्ट प्रशोधन केन्द्र निर्माण गरेको छ ।
गार्मेन्ट प्रशोधन केन्द्रमा पहिलो पटक बहालअवधि बढीमा ३० वर्ष रहने र क्रमशः नवीकरण गर्न मिल्ने सुविधा दिएको छ ।
सरकारले सेजमा उद्योग स्थापना गर्दा ६ वर्षसम्म पूर्णतया आय करमा छुट, १ वर्षसम्म स्वदेशमा बिक्री गरिसकेपछि मात्र उत्पादन विदेश निर्यात गर्न सकिने प्रावधान ल्याएको छ । यस्ता उद्योगले १ वर्षपछि भने ६० प्रतिशत उत्पादन निर्यात गर्नुपर्छ ।
अमेरिकी सरकारले नेपालमा उत्पादित विभिन्न प्रकारका गार्मेन्टलाई १० वर्ष भन्सार छुट दिने घोषणा गरेको लाभ लिन उद्योगीलाई पहिलो प्राथमिकता दिने सेजको तयारी छ । देशका विभिन्न भागमा सञ्चालित गार्मेन्ट उद्योगलाई सिमरा सार्न दिनुपर्ने, कम्तीमा एक वर्ष गार्मेन्ट प्रशोधन केन्द्रकै सुविधा दिनुपर्ने, भाडादर घटाउनु पर्ने, कच्चा पदार्थ पाउने वातारावरण हुनुपर्नेलगायत तयारी पोशाक उद्योग संघको माग छ ।
एक दशकअघि तत्कालीन उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेको सिमरा सेजको प्रधानमन्त्री केपी ओलीले २०७४ चैत १८ मा सिमरा गार्मेन्ट प्रशोधन क्षेत्रको शिलान्यास गरेका थिए ।  वीरगञ्ज चिनी कारखाना लिमिटेडको सिमरास्थित औराहामा रहेको ८ सय ३३ बिघालाई ५ ब्लकमा बाँडेर अहिले ब्लक ‘ए’ मा पूर्वाधार निर्माण सम्पन्न भएको र ‘बी’ र ‘सी’ पनि तयारीको अन्तिम चरणमा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्