Logo

बराह ग्रुपबाट ११ अर्ब हिनामिनामा मुद्दा दायर

विराटनगर– सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था, बराह ग्रुप कम्पनीलगायत २ दर्जनभन्दा बढी कम्पनीले १० अर्ब ७३ करोड रुपैयाँ हिनामिना गरेको भन्दै सुनसरी जिल्ला अदालत इनरुवामा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले सुनसरी जिल्ला अदालतमा बुझाएको अभियोगपत्रमा १० अर्ब ७३ करोड ४३ लाख रुपैयाँ हिनामिना भएको दाबी गरिएको हो ।

उक्त सहकारीका अध्यक्ष शिवकुमार विश्वकर्माबाट ५ अर्ब ८८ करोड ४० लाख रुपैयाँ हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ । जसमा शिवकुमार स्वयंले २ अर्ब ७१ करोड ३१ लाख, उनका बुबा इन्द्रकुमार विश्वकर्माले २ अर्ब ४५ करोड ७७ लाख, उनकी आमा स्व.विष्णुमाया विश्वकर्माबाट ७१ करोडभन्दा बढी रकम असुल गर्नुपर्ने अभियोगपत्रमा उल्लेख छ ।

अभियुक्त मन्दिरा लामिछानेको हकमा १ अर्ब २३ करोड ११ लाख, मानबहादुर विश्वकर्माको हकमा १ अर्ब ११ करोड ८१ लाख, हरिकुमार धमलाको हकमा ३७ करोड ६१ लाख, प्रकाश लामगादेको हकमा ४८ करोड १८ लाख, शुभराज खातीबाट ४३ करोड ७१ लाख असुल गर्नुपर्ने अभियोग पत्रमा उल्लेख छ ।

अभियोगपत्रमा विश्वकर्मासमेत ३५ जनाको हकमा सहकारी ऐन २०७४ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको बिगो र सजायको मागदाबी गरिएको छ । उनीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ को ख, ग, छ, झ, ञ, ट, ड, ढ र त बमोजिमको कसुर गरेको तथा संठगित अपराध (निवारण) ऐन २०७० को दफा ३ को उपदफा १, २, ३ को खण्ड (क) र ५ बमोजिमको कसुर गरेको दाबी गरिएको छ ।

उक्त सहकारीका संस्थाका सञ्चालक/अध्यक्ष लगायतका पदाधिकारीहरू, कर्मचारीहरूसमेतको मिलेमतोमा सहकारीका सेयर सदस्य तथा बचतकर्ताको ५ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ रकम भराउन माग गर्दै धरान ९ का शंकर थापा क्षेत्रीसमेत गरी ४ हजार १६८ जनाले यसअघि नै किटानी जाहेरी दिएका थिए ।

सरकारी वकिलको कार्यालयले भने सेयरधनीहरू विश्वकर्मा, मन्दिरा लामिछाने विश्वकर्मा, मानबहादुर विश्वकर्मा, हरिकुमार धमला विश्वकर्मा, याम्बा ल्वागुन भन्ने इन्द्रबहादुर विश्वकर्मासहित ३५ जना सञ्चालक समितिमा रहेकाहरू र अन्य ऋणी गरी २६२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेका हुन् ।

हाल मानबहादुरको श्रीमती जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता वि.क., अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल, फूलकुमारी भन्ने फूलमाया राई, सुदिन वि.क., श्रीमान महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई, विक्रम गजमेर भने प्रहरी हिरासतमा छन् । सो सहकारीको कारोबार २०७९ जेठ २३ बाट बन्द भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्