आप्रवासी श्रमिकका मुद्धालाई प्राथमिकता दिन सुझाव

आमसञ्चारका माध्यमहरुले आप्रवासी श्रमिकहरुको मुद्धालाई प्रथामिकता दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । सोममार राजधानीमा आयोजित “निःशुल्क र सुरक्षित आप्रवासनमा मिडियाको भूमिका’ विषयको अन्तक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले आप्रवासी श्रमिकहरुको श्रम सम्बन्धि समस्या समाधान गर्न मिडियाको ठूलो भूमिका रहेकाले यस विषयमा प्रथामिता दिनुपर्ने बताएका हुन् ।
सञ्चारविद् डा. कुन्दन अर्यालले सूचना प्रविधिको विकास भए पनि श्रमिकहरुको अधिकारका विषयमा सुसूचित गर्न मिडियाले सामाग्री उपलब्ध गराउन आवश्यक रहेको बताए । “दैनिक १० हजार श्रमिक बाहिरिन्छन्, कतिपय गलत बाटोबाट जाँदा धेरैले दुःख पाएका उदारणहरु पनि छन्,” उनले भने, “श्रमिकका गुनासा सुनुवाइ गर्नुपर्छ, सञ्चार माध्यमले पनि उनीहरुलाई वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने संयमता लगायतका अन्य जानकारीमूलक कुराहरु समेटेर समाचार मार्फत सुचित गराउन सक्छ ।”
यसैगरि विश्व श्रम संगठनमा कार्यरत नेहा चौधरीले मिडियाले श्रमिकहरुलाई श्रम सम्बन्धि जानकारी तथा आप्रवासी श्रमिकलाई उनीहरुको अधिकारको विषयमा जानकारी गराउनुपर्ने बताएकी छिन् । “कतिपय श्रमिकहरुलाई वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामान्य कुराको पनि जानकारी हुँदैन, यसले गर्दा समस्याहरु उत्पन्न भइरन्छन्,” उनले भनिन्, “मिडियामार्फत यस विषयमा निरन्तर रुपमा जानकारी उपलब्ध गराउनुपर्छ ।”
त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख चिरञ्जिवी खनालले तालिम बिना वैदेशिक रोजगारीमा कामदार पठाउँदा कामदारलाई आफूले गर्ने कामको समेत जानकारी नहुने बताए ।
यस्तै सह प्रध्यापक प्रवलराज पोखरेलले वैदेशिक रोजगारबाट स्वदेश फर्किएर राम्रा काम गर्नेहरुका सफलताको कथालाई आमसञ्चामा समावेश हुन सके अरुलाई पनि थप मनोवल पुग्ने बताए ।
पछिल्लो समय विदैशिक रोजगारमा जाने नेपालीहरुको संख्या बढ्दै गइरहेको छ । सारोकारवालाहरुले चेतनाको अभाव, शिक्षा, तालिमको अभाव, सरकारले उचित रुपमा अनुगमन गर्न नसक्दा र मेनपावरहरुबाट ठगिँदा कयौं श्रमिकहरुले श्रमको मूल्य नपाउने, मृत्युदण्डको सजाय भोग्नुपर्ने, श्रमको शोषण हुनेलगायतका समस्या उत्पन्न भएकाले मिडियाले यस्ता विषयमा कलम चलाइरहनुपर्ने बताए ।
त्रिभुवन विश्वविद्यालय आमसंचार तथा पत्रकारिता केन्द्रीय विभागका उप– प्राध्यापक देवराज अर्यालले मिडियाले निष्पक्ष रुपमा आप्रवासीहरुका मुद्धा उठाउन सुझाव दिए ।