Logo

उपमहानगरले वृद्धि गरेको करविरुद्ध धर्ना

दाङ– घोराही उपमहानगरपालिकाले वृद्धि गरेको करको विरोधमा नागरिक स्तरबाट विरोध सुरु भएको छ । नागरिकहरूले शान्तिपूर्ण रूपमा उपमहानगरमा धर्ना दिने कार्य मंगलबारदेखि सुरु गरेका हुन् । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म धर्ना दिइएको छ । उपमहानगरले गरेको कर वृद्धि तथा फोहर व्यवस्थापनको निजीकरण विरुद्ध ‘हाम्रो दाङ हाम्रो जिम्मेवारी अभियान’ ले शान्तिपूर्ण धर्ना कार्यक्रमको आयोजना गरेको छ ।

अभियानले ‘समृद्ध दाङ, हाम्रो अभियान’ नाराका साथ धर्नाको कार्यक्रमको आयोजना गरेको हो । घोराही उपमहानगरको अन्याय पूर्ण कर वृद्धि र फोहर व्यवस्थापनको निजीकरण विरुद्ध शान्तिपूर्ण खबरदारी थालिएको अभियानका संयोजक प्रदिप मजगैंयाले बताए । उपमहानगरपालिकाले गरेको गलत कार्यको विरुद्ध नागरिक स्तरबाट आवाज उठाउने काम गरिएको उनको भनाइ छ ।

‘विकट क्षेत्रहरूमा १३७ प्रतिशतसम्म जग्गाको पोत तथा कर वृद्धि, व्यावसायिक करमा अस्वाभाविक वृद्धि, फोहर व्यवस्थापनलाई निजीकरण गर्ने निर्णय जनताको हितमा छैनन्, त्यसैले शान्तिपूर्ण रूपमा आवाज उठाएका हौं’ संयोजक मजगैयाले भने । यो कार्यक्रम कुनै दल वा व्यक्ति विशेष विरुद्ध नभएर स्वतन्त्र रूपमा जनचेतना अभिवृद्धिका लागि आयोजना गरिएको उनको भनाइ छ ।

धर्ना कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्था तथा पार्टीका नेता कार्यकर्ताले पनि ऐक्यवद्धता जनाएका छन् । पहिलो चरणमा शान्तिपूर्ण रूपमा बसेर सांकेतिक रूपमा धर्ना दिएको उनले बताए । आन्दोलनका कार्यक्रम थप गर्दै अगाडि बढने संयोजक मजगैंयाले बताए । यसअघि नेपाली कांग्रेस घोराही नगर समितिको नेतृत्वमा कर वृद्धि तथा सरसफाइ व्यवस्थापन निजी क्षेत्रलाई दिएको भन्दै विरोध जनाउँदै ज्ञापन पत्र बुझाएको थियो ।

अहिले उप महानगरपालिकाले वृद्धि गरेको कर तथा सरसरफाइ व्यवस्थापन निजी क्षेत्रलाई दिएको प्रति व्यापक विरोध जनाउँदै आएका छन् । घोराही उपमहानगरको आन्तरिक स्रोत कम हुँदै गएको कारण कर वृद्धि गरिएको जनाएको छ । विगत ६ वर्षदेखि कर वृद्धि नभएको र चालु आर्थिक वर्षमा मालपोत र व्यवसायी कर वृद्धि गरिएको घोराही उपमहानगरले जनाएको छ । लामो समयदेखि कर वृद्धि भएको थिएन, चालु आर्थिक वर्षमा केही वृद्धि गरिएको उपमहानगरले जनाएको छ ।

उपमहानगरको नगरसभाले निर्णय गरेर कर वृद्धि गरेर लागु गरेको जनाएको छ । ‘आन्तरिक आम्दानी कम भएको हुँदा कर वृद्धि गरिएको हो’ घोराही उपमहानगरपालिका बजेट तथा राजस्व व्यवस्थापन शाखा प्रमुख कृष्ण केसीले भने । उनका अनुसार वृद्धि भएको कर चालु आर्थिक वर्षको साउनदेखि नै लागु गरिएको हो । गत वर्ष १० रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म रहेको मालपोत कर चालु आर्थिक वर्षमा २० रुपैयाँदेखि ६ सय रुपैयाँ पुगेको उनले बताए ।

त्यसैगरी व्यवसाय करमा पनि केही वृद्धि गरिएको उनको भनाइ छ । ‘पहिलेभन्दा नागरिकको माग बढ्दै गएको र आन्तरिक स्रोत कम भएको कारण कर वृद्धि गरिएको हो’ प्रमुख केसीले भने,‘आम्दानी कम हुँदा माग गरिएका योजनाहरू कार्यान्वयन हुन सकेका छैनन् । कतिपय योजना कार्यान्वयन गरिए पनि भुक्तानी दिन नसक्ने अवस्था रहेको छ ।’

उपमहानगरले गत आर्थिक वर्षमा ३५ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो भने चालु आर्थिक वर्षमा ५५ करोड राजस्व उठाउने लक्ष्य लिएको शाखा प्रमुख केसी बताउँछन् । कर उठाउने नाममा नागरिकलाई अप्ठ्यारोमा पार्ने गरी कर वृद्धि गर्न नहुने आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् । स्थानीय सरकारले करको दरभन्दा पनि दायरा बढाउनु पर्ने उनीहरूको भनाइ छ । करको दायरामा नआएकालाई करको दायरामा ल्याएर आन्तरिक राजस्व वृद्धि गर्नु पर्नेसमेत स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्