Logo

२६ करोड लागतमा बनेको अस्पतालबाट वर्ष दिनमै चुह्यो पानी

बाजुरा– जिल्ला अस्पताल बाजुराको एक वर्ष पहिले निर्माण सम्पन्न भएको एक वर्षमै पानी चुहिन थालेको छ । पानी परेको दिनमा अस्पतालको छाना तथा वालबाट पानी अस्पतालभित्र छिर्ने गरेको अस्पतालका प्रमुख डा. चन्द्रशेखर यादवले बताए । भवन चुहिने भएपछि अस्पतालले सघन सहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीलाई मर्मतका लागि पत्रचार गरेको छ ।

अस्पतालले निर्माण कम्पनी पीएस कन्स्ट्रक्सन डोटीलाई चुहिने ठाउँ तथा अन्य काम नभएको कामलाई बनाउन कार्यालयलाई अनुरोध गरेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीले २०८० साल मंसिर २३ गते भवन निर्माण कार्य सम्पन्न भएको भन्दै अन्तिम भुक्तानीका लागि अस्पताललाई पत्राचार गरेको थियो ।

जिल्ला अस्पताल बाजुराले पनि आर्थिक वर्ष ०८०/०८१ असार मसान्तमा सम्पूर्ण भुक्तानी गरेको थियो । निर्माण सम्पन्न भएको एक वर्षमै पानी परेको दिनमा करोडौ लगानीमा निर्माण भएको भवन चुहिनुले निर्माण कम्पनीमाथि प्रश्न उठेको स्थानीय तुलाबहादुर रोकायाले बताए । भवन निर्माणको कामप्रति नै प्रश्न चिन्ह खडा भएको रोकायाको भनाइ छ । अस्पतालले लेखेको पत्रमा इमरजेन्सी भवन र अन्य ठाउँमा पानी चुहिने गरेको बताएको छ ।

इमरजेन्सी भवनको बीच छतबाट पानी चुहिने गरेको स्वास्थ्यकर्मीले बताए । जिल्ला अस्पताल बाजुरा ५० शैयाको अस्पताल हो । २०७५ साल वैशाख ५ गतेबाट ठेक्काको काम सुरु भएको थियो । डाँफे–लोहनी, पीएस जेभी डोटीले पाएको ठेक्का २०७८ वैशाख ५ मा सक्नेगरी सम्झौता भएको थियो । कम्पनीले सक्ने मितिभन्दा धेरै ढिलो निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गरेको थियो ।

अस्पतालको भवन पानी परेको दिन चुहिने गरेको र तत्काल काम गर्न सम्बन्धितलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए । जिल्ला अस्पताल बाजुराको भवन सहरी विकास मन्त्रालय अन्तर्गत निर्माण भएको हो । २६ करोड ११ लाखमा कम्पनीले ठेक्का पाएको थियो । अस्पतालमा चारवटा भवन निर्माण भएको थियो । बाजुरा अस्पतालमा दैनिक एक सय जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीका प्राविधिक मदन भट्टले भने कतै समस्या आएकाले पानी चुहिएको हो । ठेकेदारलाई जानकारी गराइसकेका छौं, चाँडै मर्मत गर्न लगाउने उनको भनाइ छ । पानी परेको दिनमा चुहिने भएकाले बिरामीको उपचारमा समस्या भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्