९ सय ३९ व्यावसायिक फर्ममा अनुगमन, तीन सय १० कारबाहीमा «

९ सय ३९ व्यावसायिक फर्ममा अनुगमन, तीन सय १० कारबाहीमा

 

फितलो अनुगमनले बजार प्रभावकारी बन्न सकेनः उपभोक्ता अधिकारकर्मी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९ सय ३९ व्यावसायिक फर्ममा अनुगमन गरेको छ । चालू आर्थिक वर्षको पुस महिनासम्म विभागले मुलुकभर ९ सय ३९ व्यावसायिक फर्ममा अनुगमन गरी तीन सय १० वटालाई कारवाही गरेको छ । उपभोक्ता संरक्षण ऐन विपरीत काम गर्ने व्यवसायीलाई विभागले कसुर अनुसार कारवाही गरेको हो । सो अवधिमा खाद्यान्न स्टोर, सपिङ्ग सेन्टर, प्रशोधित पानी उद्योगलगायतका अन्यलाई कारबाही गरेको विभागले जनाएको छ । विभागले उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कसुर अनुसार पाँच हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गरेको छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले विभागको फितलो अनुगमनले बजार व्यवस्थित बन्न नसकेको बताए । “बजार अनुगमन प्रभावकारी नहँदा दिनहुँजसो उपभोक्ता ठगिरहेका छन,” उनले भने, “संयुक्त अनुगमनको भावना विपरीत कैफियत भेटिएपनि कारबाही नहुँदा बजार व्यवस्थित हुन सकेको छैन ।”
विभागका महानिर्देशक नेत्र सुवेदीले बजार अनुगमन संख्यात्मक रुपमा भन्दा पनि गुणात्मक रुपमा अगाडि बढाइएको जानकारी दिए । बजार अनुगमको काम उपत्यकामा मात्र नभएर बाहिरी जिल्लामा पनि तीव्र रुपमा अगाडि बढाइने उनले जानकारी दिए ।
अनुगमनका क्रममा मूल्य सूची नराखेको, कम तौलको सामान बिक्री गरेको, पानीमा फयाक्ट्री मुल्य नराखेको, म्याद नाघेका सामान बिक्री गर्ने व्यवसायीलाई कारबाही गरिएको विभागका सूचना अधिकारी दिपकराज पोखरेलले जानकारी दिए । पुस महिनासम्म तीन सय १० वटा व्यावसायिक फर्मलाई कारबाही गरिएको उनले जानकारी दिए । बजार अनुगमनका क्रममा मुल्य सूची नराखेको, म्याद नाघेका सामान बिक्री, व्यवसाय दर्ता नगरेको, कमसल सामान बिक्री गरेको पाइएको विभागको भनाइ छ ।
विभागले कम तौलको केवल बिक्री थापाथलीस्थित पायोनियर इलेक्ट्रो केवल प्रालिलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै हात्तीवनस्थित स्काइ मार्ट सपिङ्ग सेन्टरलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बालाजुस्थित फयाक्ट्री मुल्य नराखेको कसुरमा अक्वा मिनरल प्रालिलाई एक लाख जरिवाना गरिएको छ । यस्तै हिमाल मिनरल वाटरलाई फयाक्ट्री मुल्य नराखेको फेला परेपछि ५० हजार जरिवाना गरिएको छ । मुल्य सूची नराख्ने, ड्रिङकिङ्ग वाटर चन्द्रागिरि, फ्रेण्डसिप ड्रिङकिङ्ग वाटर र गुड्स स्टोरलाई ५० हजार जरिवाना गरिएको विभागले जानकारी दिएको छ । यस्तै व्यवसाय दर्ता प्रमाणपत्र नभएको फेला परेपछि छिमेकी सपिङ सेन्टरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएकोे छ । यस्तै मुल्य सूची नराख्ने नेपाल फुड्स प्रोडक्स र माइ मार्ट इन्ड्रष्टिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागले ६ महिनाको अवधिमा उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गरेर ६६ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा बजार अनुगमनका नाममा २० लाख रुपैयाँ खर्च भएको विभागले जानकारी दिएको छ । यस अवधिमा विभागले एक सय ३३ वटा व्यावसायिक फर्मलाई स्पष्टिकरण सोधेको छ । साथै उपभोक्ता हित विपरीत व्यवसाय गर्ने ४७ वटा व्यवसायको कारोबार नै रोक्का गरेको छ । दुई वटालाई मुद्धा दायर गर्ने निर्णयका लागि पठाइएको र १८ वटा नमूना परीक्षणका लागि पठाइएको विभागले जानकारी दिएको छ । विभागले नियमित रुपमा बजार अनुगमन गरेपनि बजारमा हुने गलत क्रियाकलाप भने नियन्त्रण हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्