अमेरिकाले फर्काइदिएका नेपाली सोधपुछका लागि प्रहरी जिम्मामा

काठमाडौं- आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई संयुक्त राज्य अमेरिकाले नेपाल फर्काइ दिएका आठ नेपाली नागरिकलाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई अध्यागमक प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्ममा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौं फर्काइएका हुन् ।
अर्का एक नेपाली पनि मंगलबार नै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडौं आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गरे । यसअघि अमेरिकाबाट २७ नेपाली डिपोर्ट भएर फर्किइसकेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार नेपाली बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान १० बजेर १५ मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । जहाजमा चालकदलसहित १४ जना सवार रहेको जनाइएको छ ।
चार्टर्ड जहाज अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट बीचमा टेक्निकल ल्यान्डिङ‘ भएर सिधै काठमाडौं अवतरण गरेको हो । जहाज बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने विमानस्थलले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट आधिकारिक कागजात नभएका नेपाली घरफर्किरहेका छन् ।