घट्यो निक्षेप र कर्जाको ब्याजदर

काठमाडौं- बैंकिङ प्रणालीमा तरलता सहज भएसँगै निक्षेप तथा कर्जा दुवैको ब्याजदरमा निरन्तर कमी आएको छ। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो सात महिनाको तरलता सहज भएसँगै अल्पकालीन ब्याजदरलगायत बैंक तथा वित्तीय संस्थाहरूको आधार दर तथा निक्षेप र कर्जाको ब्याजदरसमेत घटेको हो।
सञ्चालन लक्ष्यको रूपमा रहेको बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २०८० माघमा ३.०४ प्रतिशत रहेकोमा २०८१ माघमा तीन प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८१–८२ को सात महिनासम्ममा निक्षेप संकलन बोलकबोलमार्फत १८ खर्ब नौ अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत एक सय ३० खर्ब ५२ अर्ब गरी कुल एक सय ४८ खर्ब ६१ अर्ब ५५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन भएको छ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा ओभरनाइट तरलता सुविधामार्फत दुई अर्ब ७० करोड तरलता प्रवाह हुँदा एक सय ४८ खर्ब ५८ अर्ब ८५ करोड (कारोबारमा आधारित) खुद तरलता प्रशोचन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधामार्फत तरलता प्रवाह र निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन हुँदा २७ अर्ब ९४ करोड खुद तरलता प्रशोचन भएको थियो।
चालु आर्थिक वर्ष २०८१–८२ को सात महिनासम्ममा राष्ट्र बैंकबाट दुई अर्ब ८७ करोड अमेरिकी डलर खरिदमार्फत तीन खर्ब ८७ अर्ब ५६ करोड खुद तरलता प्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा तीन अर्ब १९ करोड अमेरिकी डलर खरिदमार्फत चार खर्ब २४ अर्ब खुद तरलता प्रवाह भएको थियो। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ दुई खर्ब ६५ अर्ब ५६ करोड थप कर्जा प्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ एक खर्ब ९२ अर्ब ६४ करोड थप कर्जा प्रवाह भएको थियो।
वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा सात प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा चार दशमलव नौ प्रतिशतले बढेको थियो। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा नौ दशमलव नौ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिमा निक्षेपको वृद्धिदर १४ दशमलव नौ प्रतिशत रहेको थियो। २०८० पुसमा नौ दशमलव ३५ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधार दर २०८१ पुसमा छ दशमलव ६५ प्रतिशत कायम भएको छ। त्यसैगरी, २०८० पुसमा सात दशमलव ३२ प्रतिशत रहेको वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर २०८१ पुसमा चार दशमलव ७५ प्रतिशत कायम भएको छ। २०८० पुसमा ११ दशमलव ३८ प्रतिशत रहेको वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर २०८१ पुसमा आठ दशमलव ६९ प्रतिशत रहेको छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात २०८० पुसमा तीन दशमलव ७३ प्रतिशत रहेकोमा २०८१ पुसमा चार दशमव ९२ प्रतिशत पुगेको छ।
२०८१ पुसमा वाणिज्य बैंकको चार दशमलव ७३ प्रतिशत, विकास बैंकको पाँच दशमलव ११ प्रतिशत र फाइनान्स कम्पनीको १२ दशमलव ८५ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहेको छ। २०८० पुसमा वाणिज्य बैंकको ३.६३ प्रतिशत, विकास बैंकको तीन दशमलव ६१ प्रतिशत र फाइनान्स कम्पनीको नौ दशमलव १८ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहेको थियो।
पछिल्लो समय डिजिटल माध्यमबाट हुने कारोबार रकम र संख्या दुवै विस्तार हुँदै गएको छ। राष्ट्र बैंकका अनुुसार समीक्षा अवधिमा रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) मार्फत भएको कारोबार रकम अघिल्लो वर्षको सोही अवधिको एक सय ५२ खर्ब ८३ अर्ब ८१ करोडको तुलनामा एक सय ६३ दशमलव ७६ प्रतिशतले बढेर चार सय तीन खर्ब ११ अर्ब ९१ करोड पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा आरटीजीएस कारोबार संख्या तीन लाख ९८ हजार पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त कारोबार संख्या तीन लाख ७६ हजार रहेको थियो। यसका साथै, मोबाइल बैंकिङ, क्यूआर, डिजिटल वालेटलगायतका शीघ्र भुक्तानी माध्यमको उपयोग व्यापक हुँदै गएको राष्ट्र बैंकको भनाइ छ।