सभामुख चयनको बाटो खुल्यो «

सभामुख चयनको बाटो खुल्यो

उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएसँगै प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि बाटो खुलेको छ । सभामुखको उम्मेदवारको टुङ्गो लागेसँगै उनले पदबाट राजीनामा दिएकी हुन् ।
प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर उनले संविधानले संसद्लाई नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेदवारको टुङ्गो लाग्नेबित्तिकै आफूले राजीनामा गरेको बताइन् ।
उनले आफू दलको नभई संसद्को उपसभामुख भएकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजीनामा गर्न दिएको निर्देशन मान्न नसकेको प्रस्टीकरण दिइन् । “संसदीय मर्यादालाई ख्याल गरी मैले मार्गप्रशस्त गर्न राजीनामा गरेको हुँ,” तुम्वाहाङ्फेले भनिन् ।
उपसभामुखबाट राजीनामा गरेसँगै ट्रयाक परिवर्तन भएको उनको भनाइ थियो । उनले आफ्नो दुईवर्षे कार्यकालमा संविधान र कानूनबमोजिम कर्तव्य निर्वाह गरेको जिकिर गरिन् ।
असोज १४ गतेपछि सभामुख पद रिक्त रहेको असहज परिस्थितिमा संविधानले दिएको अधिकारअनुसार आफूले प्रतिनिधिसभाको नेतृत्व गरेको उनले स्पष्ट पारन् । “उपभामुखबाट राजीनामा गर्दा म अत्यन्त खुशी छु, राजीनामासँगै मेरो प्रगतिका लागि थप उत्साह मिलेको छ,” उनले भनिन् ।
संसद् सचिवालयको कर्मचारीले दुव्र्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा गरेका थिए । गत असोज दोस्रो सातादेखि प्रतिनिधिसभा सभामुखविहीन छ । आइतबार नेकपाको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

 

निर्वाचन माघ १२ मा
प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गते हुने भएको छ । प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराएका हुन् ।
उनले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिए । ज्येष्ठ सदस्य ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामा पढेर बैठकलाई जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १२ गते अपरान्ह ३ बजे बस्नेछ ।
सङ्घीय संसद् सचिवालयले सोमबार नै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मङ्गलबार सभामुख पदका लागि उम्मेदवारी दर्ता हुनेछ । संसद् भवनमा बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ । मङ्गलबार अपराह्न २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्