सुदूरपश्चिम प्रदेश सभामा सरकारको कडा आलोचना

धनगढी-सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा सुदूरपश्चिम प्रदेश सरकरको कडा आलोचना भएको छ । सोमबार शुरु भएको प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुले सरकारको कडा रुपमा आलोचना गरेका हुन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता रणबहादुर रावलले सुदूरपश्चिम प्रदेशका केही मन्त्री बिना लगामका घोडा जस्तै भएको आरोप समेत लगाए । उनले प्रदेश सभाबाट कानुन बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्ति बढेको बताउँदै पहिलो र अन्तिम प्रदेश सांसद् आफूहरु नै हुने खतरा बढेको समेत बताए ।
उनले सामाजिक विकास मन्त्रालयले खरिद गरेको एम्बुलेन्स र अल्ट्रासाउण्ड खरिद तत्कालै छानविन गरी संलग्न व्यक्तिहरुलाई ठीक ठाउँमा ल्याउन मुख्यमन्त्रीलाई विशेष आग्रह समेत गरे । उनले बाजुराको बडीमालिकामा संचालन गरेको स्वास्थ्य शिबिरमा भएको दोहोरो खर्च गरी आर्थिक अनियमितता गरेको बताए ।
उनले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नक्कली किसान खडा गरी कृषकका नाममा व्यापक आर्थिक अनियमितता हुने गरेको बताउँदै अन्य मन्त्रालयमा पनि अध्ययन गरिरहेको बताए । उनले हालै सुदूरपश्चिम प्रदेशमा भएको हिमपातले बालीनालीमा तथा जनधनमा व्यापक क्षति पुगेकोले प्रदेश सभाले संकल्प प्रस्ताव पारित गरी राहत उपलब्ध गराउन माग गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तारालामा तामाङले प्रदेश सभाले बनाएका ऐन कानुन कार्यान्वयन भए÷नभएको विषयमा अनुगमन गर्न आवश्यक रहेको बताए । उनले कानुन कार्यान्वयनको विषमा संसद् वा प्रदेश सरकार कसले गर्ने भन्ने विषयमा बहस गर्न आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले कार्यशैली पुरानै रहेको बताउँदै जनतालाई अनुभुति हुने गरी प्रदेश सरकारले उपस्थिति देखाउन नसकेको बताए ।
प्रमुख सचेतक तामाङले जनताको पक्षमा र प्रदेशलाई समृद्ध बनाउने गरी प्रदेश सभा यो अधिवेशनले ऐन बनाउन सफल हुने विश्वास व्यक्त गरे । उनले अबको दिनमो जनताको चाहना अनुसार प्रदेश सभाले कानुन बनाउन र प्रदेश सरकारले गच्छेअनुसार विकासको काम गर्न सफल हुने विश्वास राख्दै शुभकामना दिए ।
राष्ट्रिय जनता पार्टी (राजपा) का प्रदेश सभा सदस्य मालवती रानाले प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताइन् । उनले प्रदेश सभाले पास गरेका विधेयकहरु पास गरेपनि धेरै विधेयकहरु अलपत्र परेको बताइन् । उनले एम्बुलेन्स खरिदमा ठाडो रुपमा पहाडका जनतालाई ठग्न खोजेको आरोप लगाइन् ।
प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठक शुरु हुनासाथ सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुख शर्मिला पन्तले प्रदेश सभा आव्हान गरेको पत्र पढेर सुनाएका थिए । पहिलो बैठक भएको हुनाले अधिवेशनको शुभकामना प्रदानका लागि सभामुख थापाले प्रदेश सभामा सहभागी तीन वटै दलका एक एक जनालाई शुभकामना मन्तव्य राख्न विशेष समय प्रदान गरेका थिए ।
प्रदेश सभाको अर्को बैठक आज (मंगलबार) १२ः३० मा बस्नेछ । मंगलबार नै प्रदेश सभा स्थापना दिवस रहेकाले सुदूरपश्चिम प्रदेश सभा सचिवालयले भव्य रुपमा स्थापना दिवस मनाउने तयारी गरेको छ ।