Logo

दाङमा मकै उत्पादन बढ्यो

दाङ– दाङमा मकै उत्पादनमा वृद्धि भएको छ । व्यावसायिक रूपमा मकैखेती गर्ने किसान बढेसँगै उत्पादनमा वृद्धि भएको हो । देउखुरी क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सपुरजोन सुरु भएदेखि कृषकहरूले व्यावसायिक रूपमा मकै खेती गर्न थालेका हुन् । आम्दानी राम्रो हुने भएपछि कृषकहरूको मकैखेतीमा आकर्षण बढेको छ । पहिले अन्य बाली लगाउने स्थानमा समेत मकै खेती गर्न थालिएको छ ।

छोटो समयमा उत्पादन राम्रो लिन सकिने र बिक्रीमा समस्या नहुने भएपछि कृषकहरू मकैबालीमा आकर्षित भएका हुन् । जिल्लाको विगत ४ वर्षको तथ्यांक हेर्दा मकैखेती बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दाङमार्फत सञ्चालन भएको मकै सपुरजोन सुरु भएदेखि कृषकहरूले व्यावसायिक रूपमा मकै खेती गर्न थालेपछि उत्पादन बढ्दै गएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा तीन हजार तीन सय हेक्टरमा मकै खेती गरिएकोमा २० हजार २ सय ६२ मेट्रिक टन उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दाङका सूचना अधिकारी चन्द शोभा कँडेलले जानकारी दिइन् । कृषकहरूले रामपुर हाइब्रिड जातको मकै लगाएको उनको भनाइ छ ।

उनका अनुसार आव २०७८/७९ मा ३ हजार ५ सय हेक्टरमा मकैखेती गरिएकोमा १७ हजार ८ सय टन उत्पादन भएको थियो । आव २०७९/८० मा तीन हजार ७ सय हेक्टरमा मकैखेती गरिएको थियो । जसमा २६ हजार ४ सय ५५ टन मकै उत्पादन भएको थियो । आव २०८०/८१ मा तीन हजार ८ सय हेक्टरमा खेती गरिएको थियो । जसमा ३२ हजार ७ सय ९४ टन मकै उत्पादन भएको परियोजना एकाइका सूचना अधिकारी कँडेलले जानकारी दिइन् ।

परियोजनामार्फत नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्राथमिकता दिइएको छ । कृषकहरूलाई यही बिउ प्रयोग गर्न प्रोत्साहन गरिरहेको कँडेलले बताए । हाइब्रिड जात रामपुर हाइब्रिड १० को बिउ दाङमै उत्पादन हुने गरेको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने गरेकाले बढी जसो सोही बाली लगाउने गरेको सूचना अधिकारी कँडेल बताउँछिन् ।

कृषकहरूले अरुण–२ र रामपुर कम्पोजिट जातको मकैको बिउ लगाएर खेती गर्ने गरेका छन् । अरुण–२ र रामपुर कम्पोजिट जातको बिउमा कार्यालयले अनुदान दिने गरेको छ । सुपर जोन कार्यक्रम लागु भएपछि खेतीसँगै किसानको आम्दानीको श्रोतमा वृद्धि भएको छ । बाँझो रहेका जमिनको समेत सदुपयोग भएको परियोजनाले जनाएको छ ।

पछिल्लो समय किसानले हिउँदे, बसन्ते र वर्षे गरी तीन सिजनमा मकै खेती गर्ने गरेका छन् । किसानहरूले हिउँदे सिजनअन्तर्गत असोज–कात्तिक, बसन्ते सिजनअन्तर्गत माघ–फागुन र वर्षे सिजनअन्तर्गत वैशाख–जेठमा मकै रोप्ने गरेका छन् । ‘केही वर्ष पहिलेसम्म वर्षमा एक सिजन मात्र मकै खेती गर्ने किसानहरू पछिल्लो समय २/३ सिजन खेती गर्न थालेका छन्’ सुपरजोनका सूचना अधिकारी कँडेलले भनिन् ।

यसले किसानलाई मकै खेतीतर्फ आकर्षित गरेको उनले बताइन् । कार्यक्रमले किसानलाई प्राविधिक तथा अन्य सहयोग गर्दै आएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्न कृषिमा यान्त्रिकरणको प्रयोगसँगै मकै रोप्ने तरिका, सिँचाइसँगै किसानले उत्पादन गरेको मकैको बजार व्यवस्थापनका लागि सहयोग गर्दै आएको परियोजनाले जनाएको छ ।

त्यस्तै कृषकलाई उद्यमशील बनाउन क्षमता विकास, कस्टम हायरिङ सेन्टर स्थापनासँगै यान्त्रिकीकरण सहयोगमा ५० प्रतिशत तथा सिँचाइ कार्यक्रममा अनुदान सहयोग गर्दै आएको छ । सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा कृिष यन्त्र उपलब्ध गराइएको छ । ६० हर्ष पावरको ट्याक्टर, मल्टिक्रप सिड ड्रिल, मकै खोसल्ने र छोडाउने मेसिन, ज्याब प्लान्टर, मकै छर्ने हाते मेसिन, मकै गोड्ने मेसिन, चिस्यान मापक यन्त्र, सिपर, रोटाभेटर अनुदानमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

उत्पादन भएको मकै बिक्रीमा समेत समस्या नभएको कृषकहरू बताउँछन् । मकै हरियो बोटबाटै बिक्री हुने कृषकहरू बताउँछन् । हरियो बिक्री हुँदा मूल्य पनि राम्रो पाउने गरेका छन् । मकै कृषकहरूले प्रति कोसा १० रुपैयाँमा बिक्री गर्ने गरेका छन् । मकै तयार भएपछि कुखुरा तथा गाई भैँसीको लागि दाना बनाउने उद्योगमा लैजाने गर्छन् । दाना उद्योगले मकै किन्ने भएपछि कृषकहरूलाई समेत सहजता भएको छ । जिल्लामा उत्पादन गरिएको दाना बाहिरी जिल्लाहरूमा जाने गरेको उद्योगीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्