Logo

छिटो निर्माण गर्न स्थानीयको माग

चर्चामै सीमित धरान–धनकुटा सुरुङमार्ग

धनकुटा– सुनसरीको धरान उपमहानगरपालिका र धनकुटाको साँगुरीगढी गाउँपालिकाको लेउती जोड्ने सुरुङमार्गको चर्चा अहिले सेलाएको छ । यो स्थानमा सुरुङमार्ग भन्ने कुरा विसं २०४० सालतिरबाटै तत्कालीन समयमा बेलायत सरकारको सहयोगमा निर्माण भएको धरान–धनकुटा सडक निर्माणको समयदेखि नै त्यहाँ सुरुङमार्ग भन्ने कुराको हल्ला भए पनि अहिलेसम्म सुरुङमार्गका कुरामा मात्र सीमित भएको छ ।

जोगबनी–किमाथाङ्का सडकको दूरी र समय छोट्याउने गरी संघीय सरकारले घोषणा गरेको सुनसरीको धरान र धनकुटाको लेउती जोड्ने सुरुङमार्गको चर्चा अहिले सेलाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सम्भाव्यता अध्ययन पूरा गरे पनि सुरुङमार्ग निर्माणका लागि आवश्यक बजेट ब्यवस्थापन र अरु प्रकृयागत काम अघि बढेको छैन । कुनैबेला चर्चाको विषय बनेको बहुप्रतीक्षित सुरुङमार्गको काम अघि नबढ्दा यस क्षेत्रका बासिन्दा निरास बनेका छन् ।

सरकारको विभिन्न आर्थिक वर्षका बजेटमा बजेट पार्ने भए पनि ठोस् काम भने अहिलेसम्म हुन सकको छैन । सरकारले उच्च प्राथमिकताभन्दै यहाँ मात्र नभएर देशभरि नै विभिन्न स्थानमा सुरुङमार्ग निर्माणको कामका कुरा गरे पनि यो सुरुङमार्ग भने अहिलेसम्म कुरामा मात्र सीमित छ । सुनसरीको धरान र धनकुटाको लेउती जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन सकिएको दुई वर्ष भयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको सम्भाव्यता अध्ययनले कोशी राजमार्गअन्तर्गत धरान–लेउती खण्डको एकतर्फी करिब २६ किलोमिटर दूरी छोट्याउने देखाएको भए पनि अहिले विस्तारै सुरुङमार्ग निर्माणको चर्चा सेलाउँदै गएको छ । तर धनकुटाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री राजेन्द्रकुमार राई भने यो सुरुङमार्ग निर्माण आवश्यक भएकाले सरकारले प्राथमिकता राखेरै निर्माण गर्नुपर्ने बताउँछन् । मूलघाट, भेडेटार धरान सडकको लम्बाइ २६ किलोमिटर हो ।

सुरुङमार्ग बने यो दूरी चार किलोमिटरमा छोटिन्छ र करिब पाँचदेखि सात मिनेटमै लेउतीबाट धरान पुग्न सकिन्छ । तराईको फराकिलो भूगोल र जनसंख्यासँग हिमाली र पहाडी क्षेत्रको सोझो सम्पर्क स्थापित हुने भएकाले पनि सुरुङमार्ग बन्नुपर्ने राईको भनाइ छ । यातायात र ढुवानीको सहजता मात्र नभई सुरुङमार्गमार्फत तमोरको पानी लगेर धरान, तरहरा र इटहरी क्षेत्रको खानेपानी तथा सिञ्चाइको समस्या समाधान गर्न सकिने भएकाले यो काम छिटो गर्नुपर्ने सामाजिक अगुवा तथा प्रस्तावित सुरुङमार्ग निर्माण क्षेत्र लेउतीका स्थानीय बलबहादुर राईको भनाइ छ ।

सडक सञ्जाल व्यवस्थित भइसकेकाले तेह्रथुम, भोजपुर र संखुवासभाबाट अढाइ घण्टामा धनकुटा पुग्न सकिन्छ । पाँचथर र ताप्लेजुङका लागि निर्माणाधीन तमोर करिडोरमा कालोपत्रे सम्पन्न हुनासाथ यी ठाउँबाट करिब तीन घण्टामै धनकुटाको मूलघाट पुग्न सकिन्छ । धरान–लेउती सुरुङमार्गको बहुआयामिक महत्त्व भए पनि बजेट व्यवस्थापन, मोडेल र निर्माणमा लाग्ने समयजस्ता प्राविधिक पक्ष ओझेलमा परेका छन् ।

आउने बजेटमा सुरुङमार्ग निर्माणका लागि बजेट व्यवस्थापनमा लागि पर्ने धनकुटाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईको भनाइ छ । राईले सुरुङमार्ग निर्माणका लागि बजेट व्यवस्थापनको दायित्व आफ्नो भएकाले आउँदो आर्थिक वर्षमा उक्त काम गर्ने बताउँछन् । उनले भने, ‘यो धनकुटाका लागि मात्र नभए र कोशी पहाडी जिल्ला र तराईका जिल्लाका लागि पनि आवश्यक छ, यो सुरुङमार्ग निर्माण भएमा पहाड र तराई जोडिन सहजमात्रै हुँदैन आर्थिक पक्षलाई समेत माथि उठाउन मद्दत पुग्छ ।’

धरान–लेउती सुरुङगमार्ग पूर्वका हिमाली र पहाडी क्षेत्रका बासिन्दाको समय, खर्च र पूर्वाधार विकासका हिसाबले महत्त्वपूर्ण छ । सुरुङमार्गको कामले मूर्तरुप पाए यो क्षेत्रका बासिन्दाको समयको बचत, स्वास्थ्य तथा आकस्मिक सेवामा सुधार, आयात निर्यातमा सहजता, पर्यटन प्रवर्द्धनका साथै थप रोजगारीका अवसर सिर्जना गर्न सकिने अपेक्षा गरिएको छ । कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रका बासिन्दाको लाइफलाइन बन्न सक्ने धरान–लेउती सुरुङमार्ग निर्माणको काम यथाशीघ्र अघि बढाइनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस्