जलविद्युत आयोजनासँगै विकट बस्तीमा यातायात सुविधा

म्याग्दी– म्याग्दीमा निर्माणाधीन जलविद्युत आयोजनाले दुर्गमबस्तीमा सडक सुविधा पुर्याउन सहयोग पुगेको छ । कालिगण्डकी, म्याग्दी र रघुगंगा नदीमा जोडिएका सहायक नदी र खोलामा निर्माणाधीन जलविद्युत आयोजनाले स्थानीय तहसँंग सहजीकरण गरेर दुर्गम बस्तीमा जलविद्युत आयोजना पुर्याउन सहयोग पुगेको हो । धौलागिरि हिमालको आधार शिविरमा पुग्ने पदमार्गको अन्तिम मानव बस्ती धौलागिरि गाउँपालिका–४ बगरमा फागुनको पहिलो हप्ता सडक पुगेको छ ।
बगरबासी सडक नहुँदा एक दिनमा गाउँपालिकाको केन्द्र मुना र दरबाङ बजारमा सेवा लिन पुग्ने गर्थे । वडा सदस्य हरिप्रसाद तिलिजाले खच्चड, भरियामार्फत दैनिक उपभोग्य र आकस्मिक अवस्थामा अस्पताल पुग्न हेलिकप्टर चार्टर गर्नुपर्ने समस्या सडक यातायातको सुविधाले हटेको बताए । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगर, सिम्कोसका साथै चेचुङ र खिवाङ गाउँका बासिन्दा गाडी चढेर एक घण्टामै दरवाङ, मुदी र मुना पुग्न थालेका छन् ।
धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माणाधीन जलविद्युत आयोजनाको पहुँचमार्ग र सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत निर्माण भएको सडकबाट स्थानीयबासीलाई सुविधा पुगेको बताए । धौलागिरि गाउँपालिका–४ मा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दी खोला, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाले मालिका गाउँपालिका–७ शिवरात्रि खोलादेखि बगरसम्म १५ किलोमिटर पहुँचमार्ग निर्माण गरेका छन् ।
‘जलविद्युत आयोजनासँगै विकट गाउँबस्तीमा यातायात सुविधा भित्रिएको छ,’ उनले भने, ‘सीमित सरकारी बजेटबाट अक्करे भीर, पहरा छिचोलेर सडक बनाउन वर्षौं लाग्ने थियो । जलविद्युत आयोजनाहरू भित्रिएसँगै सडक यातायातको पहुँच विस्तार छिटो भएको छ ।’
हाइड्रो इम्पायर प्रालि प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत स्थानीयको मागअनुसार करिब दुई महिना डोजर परिचालन गरेर गत महिना नाउरादेखि १९ घरधुरी रहेको चेचुङ जोड्ने पाँच किलोमिटर सडक निर्माण सम्पन्न गरेको थियो ।
उक्त आयोजनाले चेचुङको फेदी नाउरामा म्याग्दी नदीमाथि ३६ मिटर लामो बेलीब्रिज जडान गरेको छ । गत वर्ष म्याग्दी नदीमा निर्माणाधीन तीनवटा जलविद्युत आयोजनाको लागत साझेदारीमा धौलागिरि गाउँपालिका–४ को लामोछहरा केङ्कीदेखि खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको थियो । खिवाङमा १८० घरपरिवारको बसोबास छ ।
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको बाँध निर्माणस्थलमा म्याग्दी र गुर्जाखोलामा ह्युमपाइप राखेपछि खिवाङ, नाउरा, चेचुङ, बगर, खाम्ला, खारा, बासबोट, छहरीका बासिन्दालाई हिउँदयाममा मुदीको वडा र गाउँपालिका कार्यालय पुग्न दुई घण्टा घुमाउरो सडक प्रयोग गर्नुपर्ने अथवा पैदलयात्रा गर्नुपर्ने समस्या हटेको वडा नम्बर ४ मुदीका वडाध्यक्ष यामबहादुर घर्तीले बताए ।
सडकमा जीप, ट्याक्टर, मोटरसाइकल चल्न थालेका छन् । धौलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी, गुर्जा, दरखोलामा तीनवटा जलविद्युत आयोजना निर्माण सुरू भएका र पाँचवटा निर्माणको तयारीमा रहेकामध्ये धेरैजसोको निर्माणस्थल वडा नम्बर ४ को भूगोलमा पर्छ ।