मेलम्चीको पाइप फुट्दा थापाथली जाने सडक अवरुद्ध

काठमाडौं- थापाथली चोक नजिक मेलम्चीको पाइप फुट्दा नर्भिक हस्पिटल जाने सडक अवरुद्ध भएको छ । मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको थियो ।
पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिएका छन् ।
थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ । यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा सो क्षेत्र जलमग्न थियो । त्यस क्षेत्रका सरकारी कार्यालय डुबानमा परेका थिए । मेलम्चीको पाइप फुटेका विषयमा छानबिन गरिने भएको छ ।