Logo

बजेट अभावमा रोकियो जुम्ला विमानस्थलको जग्गा अधिग्रहण

जुम्ला– सरकारले पर्याप्त बजेट नदिएपछि जुम्ला विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको काम अघि बढ्न सकेको छैन ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतपछिको दोस्रो ठूलो शहर जुम्लाको विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको काम केही अघि सुरु भएको थियो । अहिले बजेट अभावले रोकिएको हो । जुम्लाका सांसदहरुले भने बजेट व्यवस्थापनका लागि पहल गर्न छोडेका छैनन् ।

२०५१ सालमा निर्माण भएको यो विमानस्थलको टर्मिनल भवन जीर्ण बन्दै गएपछि नयाँ टर्मिनल भवन निर्माण तथा धावन मार्ग विस्तार लगायतका पूर्वाधार निर्माणका लागि जग्गा अधिग्रहण गर्ने योजना बनाइएको हो । त्यसअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले १८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ । जग्गा अधिग्रहणका लागि एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सरकारले १० करोडमात्र बजेट विनियोजन गरेको छ ।

यसबीच यही फागुन १५ को मन्त्रीस्तरीय निर्णयबाट जग्गा अधिग्रहणका लागि नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस भएबमोजिम थप ४० करोड बजेट माग गरिएको छ ।

चन्दननाथ नगरपालिकाको मेयर हुँदादेखि नै विमानस्थल विस्तारका लागि जुटिरहेकी सांसद कान्तिका सेजुवालले जग्गा अधिग्रहणको लागत अनुमान एक अर्ब भएकामा चालुमा १० करोडमात्रै विनियोजन हुँदा काम अघि बढ्ने स्थिति नरहेको बताइन् । ‘हाम्रो लामो समयको पहल र प्रयास जारी छ । माथिल्लो कर्णालीको जनजीवन र पर्यटनको आधार मानिएको जुम्ला विमानस्थल विस्तार अपरिहार्य छ,’ उनले भनिन्, ‘तर लागत अनुमानका तुलनामा बजेट विनियोजन कम गरिएको छ ।’ जग्गा अधिग्रहणका लागिमात्र करिब ४८ करोड आवश्यक पर्ने देखिएको जानकारी उनले दिइन् । यही कारण चालु आवमा थप ४० करोड बजेट मागिएको छ ।

६७० मिटर लामो धावनमार्गलाई १ हजार ५० मिटरसम्म बढाउने लक्ष्य राखिएको छ । यसका लागि धावनमार्गको पूर्वपट्टी १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ (१) को खण्ड (ख) बमोजिम विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउने कार्यको लागि विमानस्थलको उत्तर र पूर्वतर्फ जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको हो ।

प्राधिकरणलाई जग्गा अधिग्रहणका लागि मन्त्रिपरिषद्को २०८० जेठ २ गते निर्णयबाट स्वीकृति प्रदान गरिएको हो । ‘दलहरुले विमानस्थल विस्तारको विषय राजनीतिक एजेन्डा बनाए पनि कुनै काम हुन सकेन,’ नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत भन्छन्, ‘विमानस्थलले सांसद तथा अन्य सरोकारवालालाई गिज्याइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्