निराशाले लखेटेका र सपनाले डोर्याएका पाइला

धेरै ठूलो संघर्ष, त्याग र बलिदानबाट नेपालमा लोकतन्त्रको स्थापना भएको हो । लोकतन्त्रमा देशमा केही हुनेछ र सुखले सास फेर्न पाइनेछ भन्ने जनताको आशा र भरोसा थियो । रोजीरोटी र केही गर्ने र केही बन्ने अवसर सहजै उपलब्ध हुन्छ भन्ने विश्वास थियो । तर, लोकतन्त्र आएको दुई दशक नहुँदै नेपाली जनतामा लोकतन्त्रप्रतिको आशा, भरोसा र विश्वास टुट्न लागेको छ । लोकतन्त्रको उपहास गर्दै भइरहेका अलोकतान्त्रिक क्रियाकलाप देखेर आजित जनताले भन्न थालेका छन्, यही हो लोकतन्त्र ? यस्तै दिन देख्नका लागि लोकतन्त्र ल्याइएको हो ?
लोकतन्त्रको मर्मविपरीतका आचरण र व्यवहारले प्रश्रय पाएको देखेर जनताले पुरानै व्यवस्था ठीक भन्न थालेका छन् । बढ्दो भ्रष्टाचार र कुशासनले नेपाली जनता हायलकायल छन् । राजनीतिक विसङ्गतिबाट अछुतो कुनै क्षेत्र छैन । नेताहरू सर्वेसर्वा बनेका छन् । संविधानतः सार्वभौमसत्तासन्पन्न जनता निरीह साबित हुँदै छन् । न रोजीरोटी छ, न कुनै अवसर छ । राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा बढ्दो बेथितिले जनताको जीवन दिनप्रतिदिन कष्टकर बन्दै छ । एउटा वर्ग अभावको खाडलमा जकडिएको छ । अर्को वर्ग सम्भ्रान्तबाट महासम्भ्रान्त बन्ने यात्रामा छ । यो वर्गीय विभेदले सामाजिक असन्तुलन बढेको बढ्यै छ । समानता र समावेशी विकास नारामा मात्रै सीमित भएको र गैरसरकारी संघसंस्थाको कमाइखाने भाँडो मात्रै बनेको छ ।
देशमै केही गर्न सकिन्छ र देशमै केही बन्न सकिन्छ भन्ने विश्वास र भरोसा दिलाउन देशको नेतृत्व सधैँ चुक्दै आएको छ । सत्ता, शक्ति र द्रव्यमोहमा चुर्लुम्म डुबेको नेतृत्वका कारण रङ्गीन सपना देख्ने युवावर्ग हदैसम्म निराश बनेका छन् । समयलाई चिनेका, समाजलाई बुझेका र देशलाई पनि बुझेका युवालाई नेतृत्वले निराश पारेको छ । यही निराशाले गर्दा युवा ‘यहाँ बसेर केही हुन्न’ भन्दै देश छाड्न लालायित छन् । अवसरको खोजीमा रहेका युवालाई उनीहरूले खोजेजस्तो अवसर दिन राज्य असमर्थ छ । राज्यले अवसर नदिए पनि अवरोध मात्र नगरे हुन्थ्यो, तर त्यस्तो पनि हुन सकेको छैन । राज्यले विभिन्न निहुँमा अवरोध गरेकै कारण केही गर्न खोज्ने युवा हतास र निराश छन् ।
अवसरको वितरण पनि पारदर्शी छैन । राजनीतिक अस्थिरता र नीतिगत अन्योलका कारण देशमा आर्थिक क्रियाकलापमा वृद्धि हुन नसक्दा रोजगारी सिर्जना ठप्पजस्तै छ । अध्ययनपश्चात् रोजगारी र अन्य अवसरको खोजीमा रहेका युवा यी दुवैबाट वञ्चित हुनुपर्दा हदैसम्म निराश छन् । यही निराशाले लखेटिएका युवा विभिन्न बहानामा विदेश पलायन हुँदै छन् ।
सूचना र प्रविधिले साँघुरिएको विश्व परिवेशमा संसारका कुनै पनि मान्छे एकै ठाउँमा सीमित भएर बस्न चाहँदैन । अवसरको खोजीमा हिँड्नु मान्छेको स्वभाव पनि हो । नेपालका प्रतिभाशाली एवम् महत्वाकांक्षी युवा पनि अवसरको खोजीमा संसारभर पुगेका छन् । रङ्गीन सपना देख्ने युवाका पाइलाले विदेशका बाटा पछ्याइरहेका छन् । राज्यले प्रतिभाशाली एवम् महत्वाकांक्षी युवालाई देशमा टिकाउने प्रयास नै नगर्दा त्यस्ता युवाले धमाधम देश छाड्दै छन् । युवा देशमा टिक्नै नसक्ने अवस्थाचाहिँ राज्यकै कमजोरीका कारण सिर्जना भइरहेको छ । देशमा टिक्नै नसकेर उज्ज्वल भविष्यको सपना साँच्दै अवसरको खोजीमा बिदेसिने युवाको संख्या दिनप्रतिदिन बढिरहेको सरकारी तथ्याङ्कले नै देखाइरहेको छ ।
अध्यागमन विभागको तथ्याङ्कले सन् २०२४ मा कुल १६ लाख ७४ हजार २ सय २५ नेपाली नागरिक विभिन्न उद्देश्यले विदेश गएको देखाएको छ । जसमध्ये रोजगारीका लागि विदेश जानेको संख्या ८ लाख ५६ हजार ४ सय २२ छ भने अध्ययनका लागि बिदेसिनेको संख्या १ लाख १९ हजार ४ सय ९ रहेको छ । सबैभन्दा चिन्ताको विषयचाहिँ देशका ठूलो संख्यामा योग्य, दक्ष र प्रतिभाशाली नेपाली युवाले सधैँका लागि देश छाड्नु रहेको छ ।
सन् २०२४ मा ६६ हजार ८ सय ३५ यस्ता युवाले सधैँका लागि देश छाडेका छन् । अघिल्लो वर्ष अर्थात् सन् २०२३ मा पनि १६ लाख ३ हजार ८ सय ३६ नेपाली नागरिक विभिन्न प्रयोजनले बिदेसिएका थिए । जसमध्ये रोजगारीमा जानेको संख्या ८ लाख ८ हजार ४ सय १५ थियो भने अध्ययनका लागि जानेको संख्या १ लाख ८ हजार ५ सय ४२ थियो । यसैगरी सधैँका लागि देश छाडेर विदेशमा स्थायी बसोबासका लागि जानेको संख्या ७० हजार ९ सय १५ थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्कले आर्थिक वर्ष २०७८-७९, २०७९-८० र २०८०-८१ मा विदेशमा अध्ययनका लागि अनुमतिपत्र लिने विद्यार्थीको संख्या क्रमशः १ लाख १४ हजार ४ सय २९, १ लाख १० हजार २ सय १७ र १ लाख १२ हजार ५ सय ९३ रहेको देखाएको छ ।
देश विकासका लागि अति आवश्यक मानिएका युवा जनशक्ति विभिन्न बहानामा बिदेसिनु देशकै दुर्भाग्य हो । कहिलेकाहीँ देशको नेतृत्वले युवा पलायनलाई लिएर चिन्ता व्यक्त गरेको सुन्न र पढ्न पाइन्छ । तर, चिन्ता गरेर मात्रै हुँदैन । रोजगारी र अन्य अवसर खोज्ने युवालाई उनीहरूको योग्यता, क्षमता र दक्षताअनुसारको रोजगारी र अन्य अवसर प्रदान गरेर उनीहरूलाई देशमै टिकाउने उपाय राज्यले गर्नुपर्छ । यसका लागि देशका नेतृत्ववर्गको भूमिका सधैँ अहम् हुन्छ । यो भूमिका निर्वाहमा नेतृत्ववर्ग गम्भीर बन्ने हो भने अहिलेको कहालीलाग्दो युवा पलायन कम गर्न सकिन्छ । तर, यो भूमिका निर्वाहमा नेतृत्ववर्ग चुकेकैले अथवा नेतृत्ववर्ग गम्भीर नबनेकैले युवावर्ग निराश बनेका हुन् र देशप्रति विश्वास र भरोसा गर्न छाडेका हुन् । उल्लेख्य कुरा पनि यही हो कि नेतृत्ववर्गको गैरजिम्मेवारी र अकर्मण्यताकै कारण देशमा बेथितिपूर्ण एवम् विषम परिस्थिति सिर्जना भएको हो । यही बेथिति र विषम परिस्थितिकै कारण युवा पलायनले प्रश्रय पाएको हो ।
अरू प्रयोजनले बिदेसिने नेपाली नागरिक निश्चित समयपछि देश फर्किन्छन् । रोजगारीका लागि बिदेसिने नेपालीले रेमिटेन्स पठाएर देशको अर्थतन्त्र धान्न सघाएका छन् र देशलाई गुन लगाएका छन् । तर, अध्ययनका लागि जाने अधिकांश युवाको मनस्थिति भने देश फर्किनु नपरे हुन्थ्यो भन्ने रहेको पाइन्छ । अध्ययनका लागि बिदेसिने युवा विद्यार्थी आफू मात्रै विदेश गएका छैनन्, देशबाट ठूलो परिमाणमा दुर्लभ विदेशी मुद्रा लगेका छन् । नेपाली कामदारले विदेशमा दुःखले कमाइ पठाएको दुर्लभ विदेशी मुद्रा शिक्षाका लागि पुनः बिदेसिनु दुर्भाग्य नै हो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८-७९ मा ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो भने आर्थिक वर्ष २०७९-८० मा १ खर्ब ४२ करोड रुपैयाँ शिक्षाका लागि बाहिरिएको थियो । यसैगरी आर्थिक वर्ष २०८०-८१ मा १ खर्ब २५ खर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो । चालु आर्थिक वर्ष २०८१-८२ को ६ महिनामा शिक्षाका लागि ५६ अर्ब ८२ करोड रुपैयाँ बाहिरिएको छ । यसरी शिक्षाका लागि बाहिरिने विद्यार्थीसँगसँगै बाहिरिने रकममा पनि क्रमशः वृद्धि भइरहेको छ ।
निराशाले लखेटेका र सपनाले डोर्याएका युवा पाइलाहरूले विश्व चुम्दै गर्दा देशचाहिँ युवाविहीन बन्ने खतरा बढिरहेको छ । युवाविहीनताको असर गाउँमा देखिन थालिसकेको छ । गाउँमा मर्दा–पर्दा काँध र साथ दिने युवाको खाँचो निकै खट्किएको छ । बिरामीलाई स्ट्रेचरमा बोकेर नजिकको स्वास्थ्यचौकी अथवा अस्पतालसम्म पुर्याउने युवा–पुरुषको अभाव देशका अधिकांश गाउँले झेलिरहेको छ । युवा–पुरुषको अभावमा गाउँमा सामाजिक परम्पराको निर्वाह नै समस्यामा पर्न थालेको छ । बलियाबाङ्गा युवा जनशक्तिको अभावले खेतीपातीको काम पनि प्रभावित भएको छ । एकातिर तीव्र सहरीकरणले गर्दा खेतीयोग्य जमिन नै घटिरहेको छ भने खेती गर्ने जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझो पर्न थालेका छन् ।
वन तथा वातावरण मन्त्रालयमातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले सन् २०२४ को डिसेम्बरमा प्रकाशित गरेको विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालमा कृषि क्षेत्र १.७५ प्रतिशतले घटेर २२.५९ प्रतिशतमा सीमित भएको छ । खेतीयोग्य जमिनलाई बाँझै छोडेर वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेसँगै कृषि उत्पादनमा र्हास आउँदा आन्तरिक उपभोगको मागलाई सम्बोधन गर्न कृषिजन्य वस्तुको आयातमाथि दबाब परेको छ । अहिले बर्सेनि झन्डै ३ खर्ब रुपैयाँको कृषिजन्य वस्तु आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०८१-८२ को सात महिनामा २ खर्ब ५ अर्बको कृषिजन्य वस्तु आयात भएको छ ।
गाउँको जस्तै समस्या सहरमा पनि देखिन थालेको छ । युवा जनशक्तिको अभावमा विशेष गरी सहरको निर्माण क्षेत्र निकै प्रभावित छ । यो क्षेत्र भारतीय कामदारमाथि निर्भर छ । युवाविहीनताको असर सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक क्षेत्रमा गम्भीर रूपमा पर्ने निश्चित छ । अन्ततः युवाविहीनताको असर देशले भोग्नुपर्नेछ ।
राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षका नागरिकलाई युवा भनेर परिभाषित गरेको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकलाई हेर्ने हो भने युवा जनसंख्या १ करोड २४ लाख १२ हजार १ सय ७३ रहेको देखिन्छ, जुन कुल जनसंख्याको ४२.५६ प्रतिशत हो । यसले देशमा जनसांख्यिक लाभांशको अवसर रहेकोतर्फ इंगित गरेको देखिन्छ । तर, कुल युवा जनसंख्याको आधाभन्दा बढी विदेशमा रहेकाले जनसांख्यिक लाभांश पाउनबाट देश वञ्चित बनेको छ । बरु नेपाली युवा कामदारमार्फत त्यस्तो लाभांश अन्य देशहरूले नै पाइरहेका छन् । यो हाम्रो देशको दुर्भाग्य नै हो ।
अतः निराशाले लखेटेका र सपनाले डोर्याएका युवा पाइला रोक्नका लागि राज्यले तर्जुमा गरेका युवा नीति र रोजगार नीतिका लक्ष्य र उद्देश्यहरूलाई व्यवहारमा उतार्नुपर्छ । स्वदेशमै केही गर्न सकिन्छ र केही बन्न सकिन्छ भन्ने आशा, भरोसा र विश्वास युवामनमा जगाउने काम राज्यले अविलम्ब गर्नुपर्छ । यसो गर्न सकिएन भने निराशाले लखेटिएका र सपनाले डोर्याएका युवा पाइलाहरू देशलाई युवाविहीन बनाएर यसरी नै निरन्तर अघि बढिरहनेछन् ।