खानेपानी अभावले बसाइँ सराइ तीव्र

एक दशकअघि बाक्लोबस्ती रहेको जिल्लाको छथर गाउँपालिकाको वडा नं ३ का सुख्खा ग्रस्त क्षेत्रका दर्जनौं घर खानेपानी अभावकै कारण रित्तिएका छन् ।
खानेपानीको चरम अभावका कारण यहाँका स्थानीय बर्सेनि बसाइँ सर्ने गरेका छन् । पुस्तौनी बिताएको गाउँघरलाई पछिल्लो पुस्ताले त्याग्दै सुविधाको खोजी गर्दै बसाइँ सर्नेको संख्या बढ्दो छ । गाउँपालिकाको वडा नम्बर ३ पञ्चकन्यामा ५ वर्षको तुलनामा सयांै घर बसाइँ सरिसकेका छन् । वडा कार्यालयका अनुसार ५ वर्षअघि ५२० घर रहेकोमा यस वर्षको तथ्यांकमा ३९३ घरमात्र रहेका छन् । बसाइँ सराइका लागि यस वर्षमात्र ७ घर जाने तयारी भइरहेको वडाध्यक्ष तुलसीजंग थापाले बताए । पञ्चकन्यामा बसाइँ सर्नेहरूका कयौं घर भत्किएका छन् बसाइँ सराइको लहरले अधिकांश बस्ती शून्य बन्दै गएको वडा कार्यालयमा रहेको तथ्यांकबाट पुष्टि हुन्छ ।
खासगरी यहाँ रहेका पानीको मुहान सुक्न थालेसँगै बसाइँ सर्नेको क्रम चुलिँदै गएको हो । “खानेपानीको समस्या र सेवा सुविधाबाट टाढिँदै गएपछि बसाइँ सराइ बढ्न थालेको वडासचिव इन्द्रप्रसाद भट्टराईले बताए ।” उनले भने, “यसलाई रोक्न थालिएका योजना पनि सन्तोषजनक छैन ।” छाडेका घर वर्षामा छानो चुहिएर पर्खाल भत्किएका छन् । करेसाबारीमा बहुवर्षे तरकारी बाली र घरछेउ बगैंचामा ऐँजेरूले ढाक्दै गएका बोटमा बेवारिसे अवस्थामा फलेका फलफूल देख्दा अनौठो लाग्छ । ठूलाटार बारी र खेत बाँझै छन् । कतिपयमा झारपात र रूखविरुवाले ढाकेर जंगलजस्तै बनेको छ ।
“बसाइँ सराइ रोक्ने प्रयासमा खानेपानीको योजना सञ्चालनमा रहेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए,” उनले भने, “योजनामा ढिलासुस्ती हुँदा समस्या देखिएको छ ।” योजना सञ्चालन तथा सम्पन्न गर्नका लागि सम्बन्धित उपभोक्ता समितिसँग सल्लाह र परामर्शलाई अगाडि बढाएको प्रमुख तिगेलाले बताए । झुरुप्प बसेका सिँगो गाउँ नै सल्लाह गरेर गएजस्तै देखिएको स्थानीय राजेन्द्र लेक्वाले बताए ।
बसाइँ जानेमध्ये अधिकांश तराईका झापा, सुनसरी र मोरङ जाने गरेका छन् । केही गाउँपालिकाको केन्द्रका साथै आसपासका क्षेत्रमा पनि सरेका छन् । सबैले सुविधा कोखोजीमा गाउँ छोड्न थालेपछि आफू पनि बाध्य हुनु परेको यहाँका स्थानीयको भनाइ छ । गाउँमा खानेपानीको चरम समस्या छ । घण्टौं टाढाका पानी भर्न जानुपर्ने अवस्थाबाट दिक्क भएर गाउँले अन्यत्र जान बाध्य भएका हुन । पुराना पँधेरा कुवा सुक्दै गएको र खानेपानी योजना सञ्चालन भए पनि दीर्घकालीन योजना नहुनु बसाइँ सराइको मुख्य कारण हो । अघिल्लो वर्षदेखि पञ्चकन्याका लागि २ वटा खानेपानी योजना सञ्चालन सुरु भएका छन् । कंशुवा खानेपानी आयोजना र तेलिया खानेपानी आयोजना सञ्चालनमा रहेकाले बसाइँ सराई रोक्न यी आयोजनाले टेवा पुग्ने भएको तेलिया खानेपानी आयोजनाका अध्यक्ष दुर्गा फुयालले बताए ।
प्रत्येक निर्वाचनमा खानेपानीलाई मुद्दा बनाएर नेताले चुनाव जिते पनि यसतर्फ ध्यान नदिने गरेको स्थानीयको गुनासो छ । आकासे पानीको भरमा खेती गर्न कठिनाइ छ । हरेक बस्तीका अधिकांश घरका युवा वैदेशिक रोजगारमा पुगेका छन् । उनीहरूको कमाइले सुविधा सम्पन्न स्थानमा जग्गा खरिद गर्ने तथा घर बनाउने गरेपछि बसाइँ सराइ चुलिएको हो ।
–प्रकाश पाक्साँवा