लिबियामा वैदेशिक हस्तक्षेप रोकिनुपर्छ : राष्ट्रसंघ «

लिबियामा वैदेशिक हस्तक्षेप रोकिनुपर्छ : राष्ट्रसंघ

न्युयोर्क-लिबियाली द्वन्द्वमा अन्तर्राष्ट्रिय शक्तिहरूले आफ्नो हस्तक्षेपलाई रोक्नुपर्ने लिबियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले बताएका छन् ।
लिबियामा विदेशी हस्तक्षेपका कारण क्षणभर केही शान्ति भएजस्तो देखिए पनि यहाँको दीर्घकालीन राजनीतिक समाधानका लागि कुनै अर्थ नरहने गरेको राष्ट्रसंघीय विशेष दूत घसाम सलामीले बताए ।
विश्वका शक्तिराष्ट्रहरू लिबियामा जारी द्वन्द्वको अन्त्यका लागि जर्मनीको बर्लिनमा भेला भएका समय त्यहाँ कार्यरत राष्ट्रसंघीय विशेष दूत सलामीले लिबियाको समाधान लिबियाभित्रका प्रतिद्वन्द्वीबीच वार्ता गराएर मात्र सम्भव देखिएको बताएका हुन् । उत्तर अफ्रिकी मुलुक लिबियामा वैदेशिक हस्तक्षेपका कारण लिबियाली नागरिकबीच ठूलो विभाजन ल्याएको उनको ठहर थियो ।
सलामीले भने, “लिबियाली जनताले सहयोगका लागि विदेशी गुहार्ने दुश्चक्रलाई अन्त्य गरी लिबियाली जनताबीचको एकता त्यहाँको स्थायी शान्तिको सहज बाटो हो । तर, विदेशीहरूको स्वार्थसिद्धका लागि फरक–फरक देशले छुट्टाछुट्टै समूहलाई च्याप्दा समस्या झनै बल्झिने गरेको देखिएको छ । त्यसैले उनीहरूको समस्यामा मध्यस्थता गर्दै लिबियाली समूहबीच वार्ता र सहमति निर्माणको वातावरण हुनुपर्छ ।”
लिबियाली प्रधानमन्त्री फायज अल–साराज र सैनिक नेता खालिफा हफ्तर बर्लिनमा आइतबार हुने सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ भने मध्यस्थताका लागि सम्मेलनमा अमेरिका, रूस, बेलायत, फ्रान्स, चीन र संयुक्त अरब इमिरेट्स (युएई), टर्की, गणतन्त्र कंगो, इटाली, इजिप्ट र अल्जेरियाका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
त्यसैगरी संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अफ्रिकन युनियन र अरब लिगलगायतका संघ–संस्थाका प्रतिनिधिहरू पनि सम्मेलनमा सहभागी हुने जर्मनीका सरकारी अधिकारीहरूले जारी गरेको वक्तव्यमा जनाइएको छ । वक्तव्यका अनुसार जर्मन चान्सलर एन्जेला मर्केलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेससँग परामर्श गरेर सम्मेलनको आयोजना गरेकी हुन् भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सम्मेलनमा मध्यस्थताका लागि जानेछन् ।
सम्मेलनमा भएको छलफलका आधारमा दस्तावेज बनाएर राखिने र त्यसै आधारमा दुई खेमामा विभाजित लिबियाली राजनीतिलाई एकताको सूत्रमा बाँध्ने पहल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्