Logo

सामाजिक उत्तरदायित्वको रकम आफू खनुकूल खर्च गर्दै जलविद्युत आयोजना

म्याग्दी– म्याग्दीमा निर्माणाधीन जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्वको क्षेत्रमा लगानी गरेको रकम पारदर्शी नभएको पाइएको छ । रघुगंगा गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्वको रकम पारदर्शी नगरेको स्थानीयबासीको गुनासो छ ।

जलविद्युत आयोजनाहरूले प्रभावित क्षेत्रका बासिन्दाको मागबमोजिम समुदायको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको क्षेत्रमा खर्चिनुपर्ने रकमको पारदर्शिता नभएपछि स्थानीयबासी रुष्ट बनेका हुन् । यस गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव ५ मेगावाटको ठूलोखोला ‘ए’, ३५ दशमलव ५ मेगावाट क्षमताको राहुघाट मंगले, २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला र ४८ दशमलव ५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना निर्माणाधीन छन् ।

संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन र प्रारम्भिक वातावरणीय परीक्षण, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा प्रस्तावित जलविद्युत आयोजनाको प्रभाव क्षेत्रभित्र रहेको क्षेत्रको भौतिक, जैविक, रसायनिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक वातावरणमा पर्ने असरबारे अध्ययन गरेको हुन्छ । सिर्जना भएका असरलाई न्यूनीकरण निश्चित बजेट नै विनियोजन हुने भए पनि आयोजनाले आफूखुसी उक्त रकम खर्चन थालेपछि जनप्रतिनिधि र स्थानीयबासीले विरोध जनाएका छन् ।

बिहीबार गाउँपालिकाले आयोजना गरेको पालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाका प्रतिनिधि र सरोकारवाला बीचको छलफलमा प्रभावित क्षेत्रका स्थानीयले जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्वको रकमलाई आफू अनुकूल खर्च गर्ने र स्थानीय तहसंँग समन्वय नगर्ने गरेको भन्दै विरोध गरेका थिए । सबै आयोजनालाई सामाजिक उत्तरदायित्वमा खर्चिने रकमको विवरण पेस गर्न भने पनि अहिलेसम्म नआएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

केही आयोजनाले आफ्नै पहुँचमार्गमा बनाइएको सडक र पुलका पूर्वाधार तथा सुरुङबाट निस्कने मकिङ डम्पिङ गर्न बनाएका पूर्वाधारलाई समेत सामाजिक उत्तरदायित्व अन्तर्गत नै बनाइएको प्रचार गरेको भन्दै गाउँपालिका अध्यक्ष भण्डारीले समुदायमा खर्चिनुपर्ने दायित्वबाट आयोजनाहरू पञ्छिन खोजेको बताए ।

कार्यक्रममा रघुगंगा जलविद्युत आयोजनाका सिभिल महाशाखा प्रमुख रविन कट्टेलले आयोजनाबाट सामाजिक उत्तरदायित्वको क्षेत्रमा कुल ६ करोड ६४ लाख खर्चिन पाउनेमध्ये हालसम्म दुई करोड ३९ लाख खर्च भएको जानकारी गराए । त्यसैगरी २२ दशमलव ५ मेगावाटको ठूलोखोला ‘ए’ जलविद्युत आयोजनाका आवासीय इन्जिनियर सञ्जीव न्यौपानेले सामाजिक उत्तरदायित्वको क्षेत्रमा खर्च हुने कुल एक करोड ९२ लाख बजेटलाई प्रभावित क्षेत्रमा पर्ने वडा नम्बर ८ र ७ मा खर्च गर्ने तयारी भएको जानकारी दिए ।

कार्यक्रममा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजना निर्माण गरिरहेको संयुक्त ऊर्जा लिमिटेडका बुद्धिराज अधिकारी, अपर राहुघाट र राहुघाट मंगले दुई जलविद्युत निर्माण गरिरहेको तुदी पावर कम्पनीका उपेन्द्रराज गौतमले आयोजनाले सामाजिक उत्तरदायित्वको क्षेत्रमा खर्च गरेको विवरण पेस गरे पनि कुल खर्च हुने रकम सार्वजनिक गर्न सकेका थिएनन् । जलविद्युत आयोजनाहरूले सामाजिक उत्तरदायित्व र समुदायको विकासमा गर्नसक्ने साझेदारीको सन्दर्भमा स्पष्ट खाका ल्याउन स्थानीयबासीसँंग जनप्रतिनिधि, जलविद्युत निर्माणमा लगानीकर्ताले बेवास्ता गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्