बक्यौता नतिर्ने उद्योगीकाे घरको लाइन काटिन्छ

काठमाडौं– ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डेडिकेडेट फिडर र ट्रंकलाइनमार्फत वितरण गरिएको विद्युत महशुल दरको भुक्तानी नतिर्ने उद्योगीको घरको लाइन काट्नुपर्ने बताएका छन् । ‘अदालतले तिर्नु भनिसकेको छ, संसदीय समितिले तिर्नुपर्ने भनेको छ, कानुनले तिर्नु भनेको छ । त्यसलाई नमानेर बक्यौता नतिर्ने उद्योगीको घरको लाइन काट्नुपर्छ,’ मन्त्री तामाङले आइतबार कारोबारसँग भने ।
बक्यौता तिर्नुको विकल्प नभएको र किस्तामा तिर्ने सुविधा उपलब्ध गराउँदा पनि नटेर्नेको घरमा लाइन काट्ने उनको भनाइ छ । मन्त्रिपरिषद्को निर्णय, ऊर्जामन्त्री र विद्युत नियमन आयोगले उद्योगमा विद्युत नकाटेर बक्यौता उठान वैकल्पिक उपाय अपनाउन भनेको उल्लेख गर्दै उनले उद्योगीको घरको लाइन काट्नुपर्नेमा जोड दिए । ‘यसको लागि आम जनतादेखि सबैले साथ दिनुपर्छ । म नै लाइन काट्ने कामको नेतृत्व गर्छु,’ उनले भने ।
विगतमा १८ घण्टासम्म लोडसेडिङ भएका बेला प्राधिकरणले करिब ५ दर्जन उद्योगलाई डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली उपलब्ध गराएको थियो । अहिले त्यही बिजुली प्रयोग गरेबापतको रकम असुलीमा विवाद भइरहेको छ । बक्यौता उठाउन प्राधिकरणले पटक पटक उद्योगको विद्युत लाइन काटेको छ भने सरकारको निर्देशनपछि जोड्न बाध्य भएको छ ।
उद्योगहरूको लाइन काट्दा सरकारको राजस्वमा समेत असर पर्ने भन्दै लाइन नकाट्न भनिएको छ । ऊर्जा राज्यमन्त्री तामाङले प्राधिकरणको कानुनअनुसार पनि लाइन काट्ने काम उपयुक्त भएको बताए । नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ र विद्युत महसुल संकलन नियमावली, २०७८ ले महसुल नतिर्ने ग्राहकको लाइन काट्न प्राधिकरणलाई अधिकार दिएको छ ।
ऐनको दफा २३ मा कुनै ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने महसुल जरिवाना, क्षतिपूर्ति, अतिरिक्त शुल्क, अन्य शुल्क तथा तिर्न/बुझाउनुपर्ने अन्य रकम तोकिएको समयभित्र नबुझाएमा वा विद्युतको अनाधिकार प्रयोग गरेमा प्राधिकरणले त्यस्तो ग्राहकलाई दिइराखेको विद्युत लाइन काट्न सक्ने व्यवस्था छ । यसैगरी नियमावलीको बुँदा १० मा मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्युत महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत लाइन काट्न सकिने व्यवस्था छ ।