सुदूरपश्चिमका २७ प्रतिशत किसानलाई खाद्यान्न अपुग

धनगढी– सुदूरपश्चिमका २७ प्रतिशत किसानलाई वर्ष भर खान पुग्ने खाद्यान्न अपुग रहने गरेको देखिएको छ । आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार प्रदेशका २०.१ प्रतिशत किसानलाई आफ्नो उत्पादनले ३ देखि ५ महिना र ७.२ प्रतिशत किसानलाई २ महिनासम्म मात्रै खान पुगे पनि बाँकी महिना खाद्यान्न अपुग हुने गरेको हो ।
कृषि गणना २०७८ को प्रतिवेदन अनुसार सुदूरपश्चिममा चार लाख ५७ हजार ७५६ परिवार किसान छन् । एक लाख २४ हजार ९६७ परिवार किसानलाई आफ्नै उत्पादनले वर्षभर खान पुग्दैन । ३२ हजार ९५८ परिवारलाई १० देखि १२ महिनाका आफूले उत्पादन गरेको खाद्यान्न अपुग हुने गरेको छ । ९२ हजार परिवार किसानलाई ७ देखि ९ महिना नै खाद्यान्न अपुग हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
४०.१ प्रतिशत किसानलाई मात्रै घरायसी उपभोगका लागि पर्याप्त खाद्यान्न हुने गरेको छ । ‘प्रदेशका कृषकहरूलाई पुस, माघ, फागुन, चैत, साउन र भदौ महिनामा घरायसी उपभोगका लागि कृषि उत्पादनको अभाव हुने गरेको छ,’ आर्थिक सर्वेक्षण प्रतिवेदनमा भनिएको छ ।
सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक यो तथ्यांकमा शतप्रतिशत सत्यता नरहेको बताउँछन् । उनले किसानलाई अन्न अभाव हुने गरेको सत्य भए पनि कृषि उत्पादनले खान नपुग्ने अवस्था नरहेको बताए । उनले कृषि गणना गर्दा स्याम्पल सर्वेक्षण गरिएको हुँदा ६०/७० प्रतिशतसम्म सत्यता रहेको बताए ।
‘हिमाली जिल्लामा सिँचाइ अभाव, युवा जनशक्ति पलायन, मौसमी विपद्को कारणले उत्पादन हुन सक्दैन,’ निर्देशक शर्माले भने, ‘तर, भोकमरीकै अवस्था छैन । अन्न नहुने भएपछि कसैले फलफूल लगाएका छन्, कसैले पशुपञ्छी पालेका छन् । आफ्नो अन्य कृषि उत्पादन बेचेर अन्न किनेर खान सक्ने अवस्था छ । कतिपयले बाहिर गएर कमाएर ल्याएको पैसाले किनेर खान्छन् ।’
कुल किसान मध्ये ८८.९ प्रतिशत किसानले घरायसी खपतका लागि मात्रै खेती गर्ने गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । १८.३ प्रतिशत किसानले घरायसी खपत र बिक्री गर्ने उद्देश्य राखी खेती गर्ने गरेका छन् भने ०.९ प्रतिशत किसानले मात्रै बिक्री गर्ने उद्देश्यले खेती गर्ने गरेका छन् ।
राष्ट्र बैंकको वार्षिक आर्थिक गतिविधि उत्पादन २०८०/८१ का अनुसार सुदूरपश्चिममा प्रमुख कृषि बालीको उत्पादन २.८५ प्रतिशतले वृद्धि भएको छ । २०७९/८० मा सो बालीको उत्पादन ९.९७ प्रतिशतले वृद्धि भएको थियो । गतआर्थिक वर्षमा खाद्यबालीको उत्पादन ३.६४ प्रतिशतले वृद्धि भएको थियो भने फापर ६५.७१, जौं २५.०३ प्रतिशतले वृद्धि भएको थियो ।
सो वर्ष पाँच लाख ९९ हजार टन धान, तीन लाख ५५ हजार टन गहुँ, एक लाख तीन हजार टन कमै, १९ हजार टन कोदो, १४० टन फापर, दुई लाख २० हजार टन आलु, २४ हजार टन तेलहन, दुई लाख ८८ हजार टन तरकारी, एक लाख टन फलफूल र तीन लाख ५९ टन उखु उत्पादन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।