सामुद्रिक आँधीका कारण फिजीमा २ बेपत्ता, ३ हजार विस्थापित «

सामुद्रिक आँधीका कारण फिजीमा २ बेपत्ता, ३ हजार विस्थापित

फिजीमा आएको सामुद्रिक आँधीका कारण कम्तीमा दुई जना व्यक्ति बेपत्ता भएका छन् । ‘तिनो’ नामक शाक्तिशाली आँधीका कारण अरू ३ हजार विस्थापित भएको जनाइएको छ ।
विस्थापितव्यक्तिहरू शरणार्थी शिविरमा बस्न बाध्य भएको अधिकारीहरूले बताएका छन् । शनिबार तीन चरणमा आँधी आएको फिजीको मौसम विज्ञान विभागले जनाएको छ ।
समाचारमा जनाइएअनुसार आँधीले घर, खेतीपातीसँगै धेरै भौतिक संरचनाहरूमा पनि क्षति पु-याएको छ । “समुद्र धेरै माथि देखिएको थियो, यसले समुद्रभन्दा बाहिरी भागमा पनि धेरै ठाउँमा असर पार्ने भन्ने मलाई लागेको थियो,” एक स्थानीयले एएफपीसँग भने ।
फिजीको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका कर्मचारीहरूले विस्थापितहरूका लागि तत्काल ३ हजार १ सय १५ अस्थायी शिविरको आवश्यकता परेको बताएका छन् ।
आँधीका कारण घरमा क्षति नपुगेकाहरूलाई भने चाँडै नै घर फर्काउन सकिने पनि कर्मचारीहरूले जानकारी गराएका छन् । “हामीलाई थाहा छ, विस्थापितमध्ये अधिकांशलाई अस्थायी शिविरको आवश्यकता पर्छ, किनकि अहिले अत्यधिक वर्षा भइरहेको छ, थप खतराको चेतावनी पनि दिइएको छ,” वरिष्ठ अधिकृत उरैया रैनिमाले बताए ।
उनले अधिकांश घर फर्किन थालिसकेको सूचना आफूहरूलाई प्राप्त भएको पनि जानकारी दिए । आँधी आएको ताभेनी टापुमा झन्डै १९ हजार मानिस बसोबास गर्ने गरेका थिए । त्यस क्षेत्रमा अहिले विद्युत् सेवा अवरुद्ध भएको छ । विस्थापितहरूले आफ्ना परिवारजनको खोजी पनि गरिरहेका छन् । आँधीकै कारण कसैको मृत्यु भएको खबर भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्