झापामा रासायनिक मल अभाव

बिर्तामोड– झापामा रासायनिक मलको अभाव देखिएको छ । खेतीको समयमा मल अभाव भोग्दै आएका उनीहरूलाई यस वर्ष पनि मकै खेतीका लागि मल अभाव भएको हो । झापामा मकै खेती गर्ने किसानहरू रासायनिक मल नपाउँदा समस्यामा परेका छन् । व्यावसायिक मकै खेती गर्दै आएका झापाको झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाको दक्षिणी क्षेत्रमा रासायनिक मल नपाउँदा उनीहरू कसरी बाली उब्जाउने भन्ने चिन्तामा छन् ।
किसानहरूले मल नपाएको फाइदा उठाउँदै त्यस क्षेत्रका व्यापारीले कमिशनमा महँगो मूल्यमा मल बिक्री गर्ने गरेको बताइएको छ । धेरै किसानले कमिशनको महँगो मूल्यको मल खरिद गर्दै आएका छन् । किसानहरूले बजारमा ९ सय ३० रुपैयाँ बोरा पर्ने युरिया एक हजार पाँच सय रुपैयाँसम्म र डीएपी २ हजार ८ सय रुपैयाँसम्म खरिद गरेर मल किन्ने गरेको बताए ।
बाह्रदशी गाउँपालिका– २ का अध्यक्ष भीमबहादुर कार्कीले सरकारले समयमै किसानहरूलाई रासायनिक मल उपलब्ध गराउनुपर्ने बताए । सरकारले मल वितरणको समुचित व्यवस्थापन गर्न नसक्दा समस्या आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ झापाका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले बताए । किसानलाई पर्याप्त रूपमा मल नदिँदा महँगो मुल्यमा मल खरिद गर्नु परेको उनको भनाइ छ ।
रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा मल खरिद गर्नसमेत मल नपाउँदा किसानले बर्सेनि मल समस्या झेल्नुपरेको उनले बताए । झापामा रासायनिक मलको अभाव हुँदा किसानहरूले बर्सेनि सास्ती भोग्नुपरेको कार्कीले बताए । खेतीपाती गर्ने हरेक समय मल अभाव झेल्नुपर्ने बताउँदै उनले बाली लगाउने बेला मल नपाएपछि उत्पादन घट्ने डरले कमिशनमा महँगो मूल्यमा भारतबाट न्यून गुणस्तरीय मल प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए ।
सरकारले साल्ट ट्रेडिङ र नेपाल कृषि सामग्री कम्पनीमार्फत सहकारीलाई मल प्रदान गर्दै आए पनि ती सहकारीहरूले आफ्ना सदस्य र नजिकका व्यक्तिलाई मात्रै मल बिक्री गर्ने गरेकाले समस्या आएको उनको भनाइ छ । मल वितरणको जिम्मा पाएका सहकारीले भने आवश्यकता भन्दा कम मल आएकाले समस्या भएको बताउँदै आएका छन् । मल वितरणको जिम्मा पाएका साल्ट ट्रेडिङ र कृषि सामाग्री केन्द्र लिमिटेडले पर्याप्त मलको व्यवस्था गरे पनि किसानको खेतबारीसम्म मल नपुग्दा सास्ती भोग्नुपरेको छ ।
चरनयोग्य जमिन र घाँस अभावले पशुपालनमा कमी आउँदा किसानहरू रासायनिक मलमा निर्भर हुनुपरेको छ । मल अभावले गर्दा अधिकांश सीमावर्ती गाउँहरूमा भारतबाट कमिशनमा कम गुणस्तरकै भए पनि मल ल्याएर प्रयोग गर्न किसानहरू बाध्य छन् । यतिबेला रासायनिक मलको चरम अभाव छ । मल अभाव भएको यो पहिलो वर्ष होइन । हरेक वर्ष मल अभावका कारण किसानहरू समस्यामा पर्दै आएका छन् । समयमै मल उपलव्ध गराउन उनीहरूले सरकारसँग माग गरेका छन् ।