Logo

किसानले उत्पादन गरेका वस्तु बजारीकरण हुने

डोल्पाको स्याउ जोनमा सडक निर्माण तीव्र

वीरेन्द्रनगर– कृषिजन्य वस्तुलाई बजारीकरण गर्नका लागि डोल्पाको ठूलीभेरी नगरपालिका–३, ४ मा सडक निर्माण कार्य तीव्र पारिएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयले उक्त सडक निर्माण गर्न थालेको हो ।

ज्यू, सु र रंग गाउँका स्थानीयबासीले उत्पादन गरेको कृषिजन्य वस्तुलाई सजिलै बजार सम्मा पुर्‍याउनका लागि सडक निर्माण कार्य सुरु भएको पूर्वाधार विकास कार्यालय, डोल्पाका प्रमुख इन्जिनियर टेकबहादुर हितानले जानकारी दिए । कार्यालय प्रमुख हितानले भने, ‘स्याउ, ओखर, अंगुर, केसरखेती हुने ठाउँ हो यो । डोल्पाको जुफाल विमानस्थलमा जोडिएर उक्त सडक निर्माणको काम गरिएको छ ।’ विमानस्थलका साथै भेरी करिडोरसँग समेत यो सडक जोडिने गर्दछ ।

यहाँ उत्पादित कृषिजन्य वस्तुले बजार नपाएको धेरै गुनासो आएपछि मन्त्रालयसँगको छलफलपछि यो सडकलाई किसानको मागअनुसार आर्थिक रूपमा समेत सक्षम बनाउने उद्देश्यले सडकको काम सुरु भएको हो । २०८१ असार १९ गते जिटी निर्माण सेवासँग चार करोड ४५ लाख ९० लाखमा सडक निर्माणको सम्झौता गरेर कामको सुरुवात गरिएको थियो ।

सडक निर्माण गर्ने अन्तिम म्याद २०८३ असार १८ गते भए पनि निर्माण व्यवसायीले यही आर्थिक वर्षमै काम पूरा गर्ने जानकारी दिएको कार्यालय प्रमुख हितानले जानकारी दिए । ठूलीभेरी नगरपालिकाभित्रका सबैभन्दा बढी स्याउ, ओखर, अंगुर र केसरखेती गर्ने गाउँका रूपमा परिचित रहँदै आएको ज्यू गाउँ, सु, रंगलाई आर्थिक मार्गका रूपमा विकास गरिने लक्ष्य छ ।

सडक नहुँदा डोको तथा घोडा, खच्चडमा बोकाउँदा आर्थिक रूपमा नोक्सान हुँदै आएपछि सडक निर्माणको काम आरम्भ गरिएको थियो । खुर्सानीका लागि पनि यी गाउँ उत्तिकै प्रख्यात छन् । हाल ३५ प्रतिशत भौतिक प्रगति सडकमा भइसकेको कार्यालयले जानकारी दिएको छ । मुद सडकसँग जोडने गरी सडक निर्माण कार्य भएपछि स्थानीयबासी खुसी भएको कार्यालय प्रमुख हितानको भनाइ छ । यहाँका फलफूल देशका ठूला सहरमा लिनका लागि सडक मार्ग सबैभन्दा बढी प्रभावकारी हुने उनको भनाइ छ ।

हाल जुफाल विमानस्थलबाट हुँदै हवाइमार्गबाट स्याउ बजारीकरण हुँदै आएको छ । डोल्पाको स्याउलाई उच्च कोटीको रूपमा लिइँदै आएको छ । बजार अभावमा बोटमै स्याउ खेर गयो भन्ने समाचार अब हेर्नु नपर्ने गरी काम भइरहेको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले बताए । आइतबार सडकको स्थलगत अनुगमन गर्दै मन्त्री बुढाले कामलाई छिटोभन्दा छिटो गुणस्तरका साथ सम्पन्न गर्न आग्रह गरेका थिए । सात किलोमिटर रहेको उक्त सडक आधा काम भइसकेको उनले बताए ।

ठूलीभेरी नगरपालिका–३/४ खोरखोला, ज्यूखोरा, ज्यू हुँदै रंगको निर्माणाधीन सडक अनुगमनपछि बजेटको समस्य नहुने समेत मन्त्री बुढाले बताए । मन्त्री बुढाको गृह जिल्ला समेत डोल्पा नै हो । आफ्नो जिल्लाको विकास निर्माणलाई नतिजामुखी बनाउका लागि स्थलगत अनुगमनमा रहेका मन्त्री बुढाले डोल्पाको विकास समृद्धिसँग किसानको उत्पादन पनि जोडिएको बताए । भेरी करिडोरको समेत अनुगमन भएको उनले बताए । दुनै लासिकयाप सडकको समेत अनुगमन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्