औषधि लिमिटेड सञ्चालनमा ध्यान दिनुपर्ने पक्ष «

औषधि लिमिटेड सञ्चालनमा ध्यान दिनुपर्ने पक्ष

सरकारी स्वामित्वमा रहेको एकमात्र औषधि उत्पादक कम्पनी नेपाल औषधि लिमिटेडले केही दिन अघिदेखि औषधिको व्यावसायिक उत्पादन सुरु गरेको छ । केही समयदेखि जीवनजल उत्पादन गर्दे आएको कम्पनीले हाल सिटामोलको व्यावसायिक उत्पादन सुरु गर्नुका साथै बजारमा धेरै खपत हुने अन्य औषधिहरू समेत उत्पादन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यसअघि, नेपाल सरकारले गत वर्ष २०६७ सालदेखि औषधि उत्पादन बन्द भई कामविहीन अवस्थामा रहेको लिमिटेडलाई पुनः संचालनमा ल्याउने निर्णय गर्नुका साथै उद्योग संचालनमा लागि तत्काल १४ करोड ४५ लाख रूपैंया प्रदान गर्ने निर्णय समेत गरेको थियो । वर्षौंदेखि उत्पादनविहीन अवस्थामा रहेको औषधि लिमिटेडले पुनः औषधि उत्पादनको सुरुवात गर्नु स्वागतयोग्य रहेको छ । सँगसँगै, कम्पनी निष्काम बन्ने गरी विगतमा देखिएका कमजोरी र असफलताबाट पाठ सिकेर सही तवरले संचालन र व्यवस्थापन गरिनुपर्ने चुनौती पनि सरोकारवालाहरू समक्ष रहेको छ ।

नेपाल औषधि लिमिटेड सरकारी स्वामित्वको एकमात्र औषधि उत्पादक कम्पनी हो । कम्पनी ऐन २०२१ बमोजिम शाही औषधि लिमिटेडका नाममा २०२९ साल असोज १ गते स्थापित यो कम्पनी लोकतन्त्रको बहालीसँगै नेपाल औषधि लिमिटेडमा परिणत भएको थियो । गुणस्तरीय औषधि उत्पादन गरी सुपथ मूल्यमा देशभर उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यो कम्पनी स्थापनाको करिब ३ दशकसम्म आफ्नो उद्देश्य प्राप्तिमा सफल रहिआएको थियो । २०५८ सालसम्म नाफामा रहँदै आएको यो कम्पनीले १ सयभन्दा बढी किसिमका औषधिहरू उत्पादन गरी सुपथ मूल्यमा देशभर प्रवाह गर्दे आएको थियो । जीवनजल, सिटामोल जस्ता जनजीवनमा हालसम्म प्रख्यात रहेका औषधिका नामहरू यही कम्पनीबाट उत्पादित औषधिका ब्रान्डहरू हुन् । विभिन्न कारणहरूको विद्यमानतामा आर्थिक वर्ष २०६६/६७ बाट बन्दप्रायः अवस्थामा रहेको कम्पनीले गत वर्षको सरकारी निर्णयसँगै पुनर्जीवन पाएको हो ।
विगतमा नेपाल औषधि लिमिटेड बन्द प्रायः अवस्थामा पुग्नुका पछाडि धेरै कारणहरू रहेका छन् । औपचारिक रूपमा कम्पनी बन्द हुनुमा आर्थिक नोक्सानीभन्दा पनि विश्व स्वास्थ्य संगठनद्वारा औषधिजन्य वस्तुहरूको उत्पादनमा गुणस्तरको सुनिश्चितता गर्न निर्धारित मापदण्ड ‘डब्ल्युएचओ जीएमपी’ अर्थात् ‘गुड म्यानुफ्याक्चरिङ्ग प्राक्टिस’ पूरा गर्न नसक्नु भएको सरकारी दाबी छ । यो मापदण्ड पूरा गर्न नसक्दा औषधि उत्पादनका लागि आवश्यक कच्चा सामग्री आयात गर्नका लागि नेपाल सरकारबाट आयात अनुमतिपत्र नवीकरण नभएसँगै कम्पनी बन्दप्रायः अवस्थामा पुगेको हो । तर, कम्पनी बन्द हुनपुग्नुमा यो औपचारिक कारणमात्र जिम्मेवार नरहेको जानकारहरूले बताउने गरेका छन् । कम्पनीलाई डब्ल्युएचओ जीएमपी मापदण्डयुक्त तुल्याउनमा भन्दा उत्पादनविहीन अवस्थामा पु¥याउनेतर्फ जिम्मेवार सरकारी पदाधिकारीहरू नै अग्रसर भएको आरोप लाग्ने गरेको छ । अर्कोतर्फ, सरकारले अपनाएको खुला बजार नीतिसँगै नेपालमा भित्रिएका विदेशी औषधि कम्पनीका एजेन्ट र देशभित्रै स्थापित दर्जनौं निजी औषधि उत्पादक कम्पनीहरूको दबदबा र निहित स्वार्थ, उद्योग संचालन गर्ने काम सरकारको होइन भन्ने निजीकरण र उदारीकरणको मान्यतासँगै जन्मिएको हौवा जस्ता कारणहरू पनि कम्पनीलाई बन्द गर्ने स्थितिमा पु¥याउनमा जिम्मेवार रहेका छन् । राजनीतिक अस्थिरता र अधिकांश सार्वजनिक संस्थानहरूमा देखिएको चरम राजनीतीकरणको रोगले यस कम्पनीलाई पनि गाँजेको थियो । राजनीतिक नेतृत्वलाई रिझाउने नाममा कम्पनीमा आवश्यकताभन्दा बढी र अनियन्त्रित रूपमा कर्मचारीहरू भर्ना गरी कम्पनीलाई बोझिलो बनाउँदै लगिएसँगै व्यवस्थापन पक्ष दिनदिनै लथालिंग बनेको थियो । यसरी, सतहमा डब्ल्युएचओ जीएमपी पूरा गर्न नसकेको कारण अघि सारिए पनि कम्पनीलाई निष्क्रिय बनाउँदा औषधि उत्पादनका क्षेत्रमा क्रियाशील वैकल्पिक उद्योग र विदेशी कम्पनीहरू फस्टाउन सक्ने घृणित स्वार्थ र एकाधिकारवादी व्यापारिक मानसिकताको खेलले यसलाई उत्पादनविहीन अवस्थामा पु¥याउन मलजल गरेको देखिन्छ ।
गत वर्षको सरकारी निर्णयसँगै कम्पनी संचालनका लागि खुल्ला प्रतियोगिताबाट महाप्रबन्धक छनोटका लागि विज्ञापन भई हालका महाप्रबन्धक छनोट भएका र कार्यभार सम्हालिरहेका छन् । कम्पनीको पुनः संचालनका लागि सरकारले उपलब्ध गराएको रकमबाट पुरानो र भत्किएको हालतमा रहेको भवनको पुनर्निर्माण गर्नुका साथै कारखानालाई पनि डब्ल्युएचओ जीएमपी मापदण्ड अनुकूल तुल्याइएको छ । विश्व स्वास्थ्य संगठनबाट निर्धारित मापदण्ड पूरा गर्नका लागि औषधि उत्पादन गर्ने उपकरण र कोठाहरूलाई पूर्णतः किटाणुरहित तुल्याउनुपर्ने, उत्पादन कक्षमा हावा छिर्न नसक्ने लगायतका मापदण्डहरूको सुनिश्चितता गर्नुपर्ने हुन्छ । कम्पनीले पुनः औषधि उत्पादनको सुरुवात गरेसँगै अत्यावश्यक वस्तुका रूपमा रहेको औषधि विगतमा जस्तै गुणस्तरयुक्त, सहज र सुपथ रूपमा उपलब्ध हुन सक्ने अपेक्षा गरिएको छ । हाल औषधिको उत्पादन र मूल्य निर्धारणमा चलिरहेको एकाधिकारको अन्त्य भई औषधिको बजार सन्तुलनमा आउन सक्ने र यसबाट प्रताडित बनिरहेका आम उपभोक्ताहरूलाई राहत पुग्ने अपेक्षा गर्न सकिन्छ । अर्कोतर्फ, वार्षिक रूपमा २५ अर्ब हाराहारीको आयातित औषधिले धानिरहेको नेपालको औषधि बजारमा आयात हुने औषधिको हिस्सामा कमी ल्याई आत्मनिर्भरता उन्मुख हुन पनि स्वदेशी उत्पादनले महत्वपूर्ण भूमिका खेल्ने स्थिति रहन्छ ।
नेपाल औषधि लिमिटेडको पुनर्जीवन सँगै आगामी दिनमा विगतको जस्तो खराब इतिहास दोहोरिन नदिन तथा यसको सफल र व्यावसायिक संचालनका लागि कम्पनीको व्यवस्थापन एवं सरकारको यथेष्ट ध्यान पुग्नुपर्ने देखिन्छ । प्रकृतिका हिसाबले औषधि उद्योग सेवा भएकाले यसको संचालन सरकारले नै गर्नुपर्छ र संचालनमा क्रममा निजी क्षेत्रसँग हातेमालो गरी अघि बढ्नुपर्छ भन्ने सरकारी मान्यतालाई कम्पनीको संचालनमा वास्तविक रूपमा नै प्रदर्शित गरिन जरुरी छ । यसका साथै, हाल उद्योग मन्त्रालय मातहत रहेको कम्पनीलाई स्वास्थ्य मन्त्रालय मातहत ल्याउनसके कार्यविशिष्टीकरण र नियमनका हिसाबले सहजता आउन सक्ने देखिन्छ । अर्कोतर्फ, आम सार्वजनिक संस्थानहरूमा हुने गरेको अनावश्यक सरकारी हस्तक्षेप र चरम राजनीतिकरणबाट कम्पनीलाई मुक्त राख्न सक्नुपर्छ । कम्पनीमा आवश्यक संख्याका कर्मचारीहरूको उपलब्धता सुनिश्चित गरी राजनीतिक दबाव र भनसुनका भरमा अनावश्यक कर्मचारीहरू भर्ना गर्ने एवं कम्पनीलाई बोझिलो बनाउने गल्ती कुनै हालतमा दोहोरिन हुँदैन । निजी क्षेत्रका व्यवसायी र विदेशी औषधि कम्पनीका एजेन्टहरूको निहित स्वार्थ, एकाधिकारवादी मानसिकता एवं गिद्धे नजरबाट पनि कम्पनीलाई बचाउन आवश्यक छ । विभिन्न किसिमका स्वार्थ, लुछाचुँडी र अव्यवस्थापनकै कारण विगतमा कम्पनीको हैसियत ओरालो लागेको तथ्यलाई आगामी दिनमा गम्भीरताका साथ मनन गर्नु जरुरी छ ।
सही ढंगबाट संचालन र व्यवस्थापन गर्न सक्ने हो भने नेपाल औषधि लिमिटेड जस्तो औषधि उद्योग घाटामा जाने वा बन्द अवस्थामा पुग्ने उद्योग हँुदै होइन । देशभित्र निजी क्षेत्रमा संचालनमा रहेका ४५ वटै औषधि उद्योगहरू नाफामा संचालन भइरहेको स्थितिले पनि यसको पुष्टि गर्छ । अर्कोतर्फ, सरकारले निःशुल्क रूपमा वितरण गर्ने औषधिका लागि वार्षिक २ अर्ब हाराहारी खर्च भइरहेको स्थितिमा निःशुल्क औषधिहरू मात्रै उत्पादन गर्न सक्ने हो भने पनि यो कम्पनीले राष्ट्रका लागी ठूलो योगदान पुराउन सक्ने अवस्था रहन्छ । पुनर्जीवन पाएसँगै आगामी दिनमा पनि औषधि लिमिटेडलाई प्रतिस्पर्धी र व्यावसायिक तुल्याउन नसक्ने हो भने यो राष्ट्रिय लज्जाको विषय समेत बन्न पुग्छ । अतः यस किसिमको स्थिति उत्पन्न हुन नदिई गुणस्तरीय औषधि उत्पादन गरी सर्वसाधारणहरूलाई सुपथ मूल्यमा सहजताका साथ उपलब्ध गराउन सक्नुमा नै औषधि लिमिटेडको पुनर्जीवनले सार्थकता पाउन सक्ने देखिन्छ ।

-रूपनारायण खतिवडा

प्रतिक्रिया दिनुहोस्