त्रिदेशीय पर्यटन एक्स्पो सम्पन्न

काठमाडौं– नेपालको पोखरामा ऐतिहासिक त्रिदेशीय पर्यटन एक्स्पो (नाईस–२०२५) सम्पन्न भएको छ । पर्यटकीय राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो, नेपाल इन्डिया चाइना एक्स्पो सम्पन्न भएको हो ।
प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र स्थानीय, प्रदेश, राष्ट्रिय र क्षेत्रीय स्तरका प्रमुख सरकारी तथा निजी क्षेत्रका सरोकारवालाहरुको सहयोगमा २४ देखि २६ फेब्रुअरीसम्म आयोजना गरेको एक्सपोमा विभिन्न देशका प्रतिनिधिहरूले सहभागीता जनाए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सो एक्स्पो उद्घाटन गरेका थिए । मन्त्री पाण्डेले दुई छिमेकी राष्ट्रहरूबीचको पुलको रूपमा नेपालको रणनीतिक भूमिका तथा विशाल जनसंख्या र तीव्र गतिमा बढ्दो अर्थतन्त्र भएका दुई ठुला मुलुकबाट नेपालले पर्यटनमार्फत प्रयाप्त फाइदा लिन सक्ने सम्भावना रहेको बताए ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईले नाईस २०२५ ले भारत र चीन दुई ठूला स्रोत बजारलाई सदुपयोग गरेर नेपाललाई प्रमुख गन्तव्यको रूपमा स्थापित गर्नमा कार्यक्रमले उल्लेखनीय भूमिका निर्वाह गर्ने बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको अद्वितीय एवं जीवन्त अनुभव प्रदान गर्ने कार्यक्रम सफल भएको बताए ।
पाटा अन्र्तराष्ट्रियका सीईओ नुर अहमद हमिदले नाईस २०२५ को आयोजनाले पर्यटन क्षेत्रमा नयाँ अवसरहरू खोल्न बिशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे । नाईस २०२५ को प्रशंसित सफलताले विश्व पर्यटन परिदृश्यमा नेपालको बलियो उपस्थिति, बढ्दो लोकप्रियता र दिगो पर्यटन वृद्धिका लागि क्षेत्रीय सहकार्यलाई बढावा दिने प्रतिबद्धतालाई जोड दिएको छ ।
फोरमले पर्यटन उद्यमी, विशेषज्ञ र साझेदारबीच छलफल, अनुभव आदानप्रदान गर्न, उत्पादित सेवाहरु समकालीन बजारको ज्ञान हाशिल गर्न महत्त्वपूर्ण सहयोग पुगेको जनाएको छ । एक्स्पोको उद्देश्य दुई उदीयमान आर्थिक समृद्ध र पर्यटकीय हिसावले शक्तिशाली देश भारत र चीनबाट बढी भन्दा बढी पर्यटक नेपालमा भित्र्याउनमा सहज हुने भएको छ ।
ती मुलुकबाट अपार पर्यटन सम्भावना र एकीकृत व्यापार प्रवर्द्धनका लागि अवसरहरू प्रदान गर्ने लक्ष्य विश्वास लिइएको छ । ‘नाइस फर माईस एण्ड मोर’ भन्ने नाराका साथ आयोजना भएको एक्स्पोले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रको रूपमा मात्र नभई नाइस पर्यटनका लागि आकर्षक गन्तव्यको रूपमा प्रवर्द्धन गरेको पाटा नेपालको भनाइ छ ।