पर्वतको एक हजार तीन सय हेक्टरमा आलुखेती

पर्वत– घरघरमा आलुखेती त धेरै भइरहेको छ । तर ठूलो उत्पादन गरेर बजार विस्तार गर्न पर्वतको बिहादीका किसानले भने समूहमा आलुखेती अभियान चलाएका छन् । बिहादी गाउँपालिका–५ को खोरपोखरास्थित शिवजी खोलाका किसानले भने घरमा लगाएको आलुबाहेक समूहमा पनि खेती गरेका हुन् । स्थानीय १९ जना किसान यतिबेला खेतैभरि भेटिन्छन् । उनीहरूले एकै पटक ३० टन आलु फलाउने लक्ष्य सुनाए ।
खोरपोखरास्थित ‘शिवजी खोला कृषक समूह’ मा आबद्ध भएका १९ जना किसानले ५० रोपनी जमिनमा सामूहिक आलुखेती गरेका छन् । ‘जनकदेव’ जातको खायन आलु अहिले खन्ने बेला भएको हो । किसानले प्रतिकेजी ५० रुपैयाँमा बारीबाटै आलु बेच्न सक्ने बताए । लक्ष्यअनुसारको उत्पादनसमेत भएकाले भण्डारणसमेत चाहिएको समूहका अध्यक्ष मेघनाथ भुसालले बताए । घरमा लगाएको घरमै खाने, समूहमा लगाएको बेचेर कमाई गर्ने लक्ष्य उनीहरूको छ ।
समूहका हरेक सदस्यले यो वर्ष आलु बेचेरमात्रै झण्डै एक/एक लाख रुपैयाँ कमाउने योजनामा छन् । स्थानीय नैना काफ्लेले सानो मेहेनतले घरघरमा एक लाख बराबरको कमाइ आलुबाट मात्रै हुने बताइन् । यो हौसलाले आगामी वर्ष हरेक किसानले दोब्बर आलु फलाउने लक्ष्य उनीहरूले राखेका छन् । वैदेशिक रोजगारीमा जाने युवाले पनि गाउँफर्केर आलु लगाउने योजना बनाएको उनले सुनाइन् । यसअघि केही जमिनमा गहुँ र तोरी लगाएपछि अरु बाँझै छाडिने जमिन अहिले आलुले हरियाली भएको छ ।
शिबजीखोला कृषक समूहले नै ‘सेजिटा’ जातको आलुसमेत छुट्टै नमुनाको रूपमा लगाएका छन् । कृषि ज्ञान केन्द्रले चालु वर्ष बीउमात्रै उत्पादन गर्न विहादी गाउँपालिका–१ को सिर्जनशील कृषक समूह, वडा नंं ४ को आत्मनिर्भर कृष्ण समूह र वडा नंं ५ को शिवजीखोला कृषक समूहमा ‘सेजिटा’ आलु लगाइएको हो । ३० क्विन्टल रोपिएकोमा उत्पादन हुने सबै आलु आगामी वर्ष बीउका लागि मात्र उपयोग गर्ने लक्ष्य छ । यो आलुबाट ‘आलु चिप्स’ र ‘फ्रेन्स फ्राइ’ बनाउने गरिन्छ ।
बुटवलस्थित ‘फस्ट च्वाइस कम्पनी’ले किसानको आलु खरिद गरिदिने आश्वासन दिएपछि चालु वर्ष बीउको लागि आलु लगाइएको आईपीएम पाठशालाका प्रमुख तथा कृषि प्राविधिक ऋषिराम भुसालले बताए । पछिल्लो समय पर्वतलाई आलुबाट पनि चिनाउने गरी उत्पादन बढाइएको छ । ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार पर्वतमा चालु वर्षमात्रै ६१ कृषक समूहका १३ सय हेक्टर जमिनमा आलुखेती गर्न किसानलाई बीउ र प्रविधिमा अनुदान दिएको छ ।
समूहमा उत्पादन गर्ने किसानका लागि कृषि ज्ञान केन्द्र पर्वतले बीउमा ७० प्रतिशत र प्रविधिमा ५० प्रतिशत अनुदान दिएको केन्द्रका प्रमुख परशुराम अधिकारीले बताए । किसानको उत्पादनलाई बुटवल र स्याङजासम्मका व्यवसायीले माग गरिरहेकाले बजारीकरणमा सहज हुने कृषि प्राविधिक ऋषिराम भुसालले बताए
‘बृहत् उत्पादन भयो भने बजारको समस्या पर्दैन,’ भुसालले भने, ‘किसानले उचित मूल्य पाउने अवस्था बन्दैछ ।’ यो अवस्था देखेपछि गाउँपालिकाका प्रमुख परवीन गुरुङले पनि किसानलाई उत्पादनमा साथ दिने बताएका छन् । समूह गठन गरेर व्यावसायिक कृषि फसल लगाउने काममा वडाबाट असहयोग भएपछि किसानहरू केन्द्रमा माग गर्न पुगेका थिए ।