Logo

कर्णालीमा वर्षा र हिमपात, किसान उत्साहित

जुम्ला– कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षा र हिमपात भएपछि किसान उत्साहित भएका छन् । लामो समयसम्म वर्षा र हिमपात नहुँदा खडेरीले हिँउदे बाली सुक्ने चिन्तामा रहेका किसान बिहीबार रातिदेखि वर्षा र हिमपात भएपछि उत्साहित भएका हुन् ।

साविक कर्णालीका पाँचै जिल्लाका लेकाली क्षेत्रमा बाक्लो हिउँ जमेको छ । बेंसी क्षेत्रमा भने हिउँ परेनको छैन । वर्षा र हिमपात सँगै भएपछि अपेक्षाकृत हिउँ जमेको छैन । यद्यपि, लगातार दुई दिन भएको वर्षाले हिउँदे बाली सप्रिने कृषि विज्ञहरु बताउँछन् ।

यो वर्ष लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न थालेका थिए । स्याउका बिरुवा रोप्ने किसान पनि अन्योलमा थिए । हिउँदे बाली सुक्न थालेसँगै कृषकहरू उत्पादनमा ह्रास आउने चिन्तामा थिए । तर, हिमपातसँगै वर्षातले राहत दिएको कृषकहरू बताउँछन् ।

‘पुस–माघमै हिउँ पर्नुपर्ने र वर्षा हुनुपर्ने भए पनि हुन सकेन । यसले गर्दा हिउँदे बाली जौ, गहुँ सुक्ने चिन्ता बढेको थियो,’ पातारासीका किसान तारा बूढा भन्छन्, ‘ढिलै भए पनि वर्षा र हिमपात भयो । अब सुक्न थालेका बालीनालीलाई राहत पुग्नेछ । स्याउ बगैंचा व्यवस्थापनमा पनि सहज हुने भयो । नयाँ बिरुवा रोप्ने किसानलाई पनि राहत मिल्नेछ ।’

वर्षा र हिमपात नहुँदा कृषि कार्यालयले अनुदानमा वितरण गर्ने बिरुवा बाँडे पनि किसानले रोपेका थिएनन् । बिरुवा काँटछाँट गरे पनि सिँचाइ अभावले किसान चिन्तित थिए । ढिलै भए पनि वर्षा र हिमपात भएपछि कृषि क्षेत्रलाई राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । जुम्ला, हुम्ला, मुगु, डोल्पामा हिउँले ढपक्कै ढाकेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने कर्णालीका हिमाली जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।

प्रमुख अधिकारीले भने, ‘पानी नपर्दा किसानले स्याउ र ओखरका बिरुवा रोप्न सकेका थिएनन् । लगाएको सबै अन्नबाली खडेरीले सुक्ने चिन्तामा थिए । अहिले हिमपात भएपछि किसान खुसी नहुने कुरै भएन ।’

विगतमा जस्तो पुस–माघमै हिउँ पर्न छोडेपछि स्वाभाविक रुपमा कृषि क्षेत्रलाई असर परेको छ । बेलामै हिमपात नहुँदा स्याउ बगैंचा व्यवस्थापन र हिउँदे बालीलाई असर गर्छ । अब वर्षा भएकोले जुम्लाका किसानलाई आलु रोप्नसमेत सहज हुने भएको छ ।

कृषि विकास कार्यालयले जिल्लाका आठै पालिकामा पुगेर किसानलाई स्याउ बगैंचा व्यवस्थापन तथा रोग किरा निवारणबारे तालिम दिइसकेको छ । तालिम पाए पनि वर्षा नहुँदा अन्योलमा रहेका किसानलाई अब नयाँ बिरुवा रोप्ने, चक्लाबन्दी गर्ने, स्याउका खाडल खन्ने, हिउँ संकलन गर्ने, आलु रोप्ने कामको चटारो सुरु हुने कृषि विकास कार्यालयका प्रमुख अधिकारीको भनाइ छ ।

आकाशे पानीका भरमा गरिने हिउँदे खेतीलाई पछिल्लो वर्षमा पर्याप्त वर्षा नहुँदा बाली नसप्रिने र उत्पादन घट्ने समस्या छ । यद्यपि, जलवायु अनुकूलन खेती गर्न जुम्लामा विभिन्न गैरसरकारी संस्था तथा कृषि विकास कार्यालयले जनचेतना फैलाउँदै आएका छन् ।

डोल्पामा पनि तीन दिनसम्म लगातार भारी हिमपात भएको छ । जगदुल्ला, मुड्केचुला, काइके गाउँपालिका, त्रिपुरासुन्दरी र ठूलिभेरी नगरपालिकाका किसान खुसी भएका छन् । हिमपात र वर्षाका कारण कृषिमा ठूलो फाइदा भए पनि चिसो बढेर जनजीवन प्रभावित भएको जगदुल्लाका स्थानीय मनराज ऐडीले बताए । डोल्पाका उच्च भूभागमा भारी हिउँ पर्दा सदरमुकाम दुनैमा भने परेको छैन । साथै स्वर्गकी अप्सरा उपनामले चिनिने रारा ताल पनि हिउँले ढाकिएको छ । मौसममा सुधार आएसँगै रारामा हिउँ खेल्न जाने आन्तरिक पर्यटक ह्वात्तै बढ्छन् ।

नाग्म–गमगडी सडक अवरुद्ध
लगातारको वर्षा र हिमपातपछि नाग्म–गमगडी सडक अवरुद्ध भएको छ । मुगुलाई कर्णाली राजमार्गमा जोड्ने र रारा जाने पर्यटकीय मार्ग हिमपातपछि अवरुद्ध भएको हो ।

भुलभुले क्षेत्रमा पहिरो खस्दा र सात मोड क्षेत्रमा बाक्लो हिउँ जम्दा सडक अवरुद्ध भएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए । उनले भने, ‘हिउँ र पहिरो पन्छाउन मेसिनसहित जनशक्ति खटिएका छन् । वर्षा र हिमपात फेरि भएमा केही असहज हुन सक्छ ।’

हरेक वर्ष हिमपातका बेला नाग्म–गमगडी सडक अवरुद्ध भइरहने भएकाले उक्त क्षेत्रमा लेन्थ वर्कर तथा डोजर तैनाथ राखेको प्रमुख चौधरीको भनाइ छ । सडक अवरुद्ध भएपछि मुगुबासी र रारा ताल घुम्न गएका पर्यटकलाई केही असहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्