हिमपहिरोमा सातजना अझै बेपत्ता

पोखरा- अन्नपूर्ण पदमार्गमा हिमपहिरोका कारण तीन नेपालीसहित सात जना हालसम्म पनि सम्पर्कविहीन छन् । बिहीबार र शुक्रबार परेको हिमपहिरोमा परी तीन नेपाली र चार कोरियालीसहित सात जना हालसम्म सम्पर्कविहीन रहेको ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले जनाएको छ ।
हिमपहिरोमा परी घाइते भएका दुई जनालाई भने सकुशल उद्धार गरेको टान पोखराका अध्यक्ष हरिबहादुर भुजेलले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए ।
भुजेलका अनुसार एक चिनियाँ नागरिक ज्याङ योङ र एक जना पथप्रदर्शक सहयोगी जगदीश खत्रीलाई टानको टोलीले उद्धार गरी पोखराको फेवासिटी हस्पिटलमा उपचार गराएको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रको हिमालयनदेखि माथि देउरालीको बिचमा करिब ३ हजार २ सय मिटर उचाईमा रहेको हिङकुकेभ वरपर हिमपहिरो गएको हुदा उक्त हिमपहिरोमा सम्पर्क विहिन व्यक्तिहरू परेको हुन सक्ने अध्यक्ष भुजेलले बताए । उनले भने, “हामीले शनिबार करिब १४० जनालाई हेलिकोप्टरमार्फत उद्धार ग-यौं, आइतबार उक्त क्षेत्रमा पुनः हिउँ परेकोले हेलिकप्टरसमेत जान सकेन ।”
विजय केसीको नेतृत्वमा टानले एक टोली हिमपहिरो गएको क्षेत्रमा पुगेको छ । पर्यटक प्रहरी, स्थानीयसहित ८ जनाको टोली देउरालीसहित क्षेत्रमा पुगेको अध्यक्ष भुजेलले बताए । हिमपहिरो भएको क्षेत्रमा हाल पुनः हिउँ परेको र बाक्लो करिब ६ मिटर जस्तो बाक्लो हिउँ भएकोले सो क्षेत्रमा जान आउन कठिन भएको घटना स्थलमा पुगेका केसीले जनाए । हिमपहिरो गएको स्थलमा हाल कुनै व्यक्ति र कुनै संकेत समेत नदेखिएको केसीले टानको टोलीलाई जनाएको अध्यक्ष भुजेलले बताए ।
अन्नपूर्ण पदमार्गमा जाने पर्यटकहरूको एकीन तथ्यांक् राख्ने निकाय नहुँदा हाल कति आन्तरिक तथा वाह्य पर्यटक हिमपहिरोमा परे त्यसको एकिन तथ्यांक नभएको टानका सचिव जीवनराम सापकोटाले बताए । सम्पर्कविहीन भएका कोरियाली आफन्तहरू पोखरा आइसकेको उनले जनाए । प्रतिकुल मौसमका कारण आइतबार हिमपहिरो भएको स्थलमा हेलिकोप्टर समेत जान सक्ने नभएकोले सोमबार कोरियन टोली सहित हेलिकोप्टरबाट जाने तयारि गरीएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।
सम्पर्कविहीन हुने कोरियाली पर्यटकहरूमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको सचिव सापकोटाले बताए । कोरियनहरू काठमाडौँको ट्रिप नेपाल मान्टेन गाइड नामक कम्पनीबाट अन्नपूर्ण बेस्क्याम्प तर्फ गएका थिए । त्यसैगरी नेपालीहरूमा मीनबहादुर लामा (तामाङ), छिरिङ भोटे र नेपाली गाइड सरोज परियार हालसम्म सम्पर्कविहीन भएको सचिव सापकोटाले बताए ।