त्रिनगर नाकाबाट नौं अर्ब आयात, ५५ करोड निर्यात

धनगढी– सुदूरपश्चिम प्रदेशको प्रमुख त्रिनगर नाकाबाट नौ अर्बको सामान आयात हुँदा ५५ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । आयातमा निर्भर रहेको कारण निर्यात व्यापार खुम्चिएको हो । कैलाली भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा नौ अर्ब एक करोड ९० लाख रुपैयाँका २० किसिमका सामान मात्रै आयात भएका छन् ।
यी सामग्रीको आयातबाट तीन अर्ब ६७ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी सात महिनाको अवधिमा यो नाकाबाट ५५ करोड २९ लाख रुपैयाँको १० किसिमका सामान निर्यात भएका छन् । यसबाट ६८ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको हो । त्रिनगर नाकाबाट मसला, तरकारी, इम्ली, खयर कत्था, पिना, चुनढुंगा, टर्पेनटाइन तेल, रोजिन, प्लाइउड जस्ता सामग्री निकासा हुने गरेको छ ।
त्रिनगर नाकाबाट निर्यात हुने पाँच वस्तुमा निकासी कर लाग्ने भन्सार कार्यालयले जनाएको छ । निर्यातमा कर छुट भए पनि व्यापार भने बढ्न सकेको छैन । आर्थिक वर्ष २०७९/८० को ६ महिनामा ४५ करोड ९६ लाख रुपैयाँको निर्यात भएकोमा गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा २९ करोड २३ लाख रुपैयाँमा सामान निर्यात भएको थियो ।
कतिपय निर्यात हुने सामानमा निर्यात गर्ने कम्पनीले निर्यात प्रवर्द्धन गर्न सरकारबाट अनुदान प्राप्त गर्ने र भन्सार राजस्व छुट पाउने व्यवस्था रहेको भन्सार अधिकृत खिमप्रसाद अर्यालले बताए । त्रिनगर नाकाबाट सबैभन्दा बढी रकमको डिजेल आयात भएको छ । तीन अर्ब ९३ करोड ६५ लाख रुपैयाँको डिजेल आयात हुँदा एक अर्ब ५४ करोड ३७ लाख रुपैयाँको पेट्रोल आयात भएको हो ।
एक अर्ब ५ करोड ५५ लाख रुपैयाँको एलपि ग्यास आयात भएको छ । चौथो ठूलो परिमाणमा आयात हुनेमा दालमोठ, पापड, साल्टेड, भुजिया र चमेना रहेका छन । त्यस्ता सामग्रीमात्रै ३६ करोड ७३ लाख रुपैयाँको एक सय २३ टन आयात भएको भन्सार कार्यालयले जनाएको छ । पेपर, पेपर बोर्ड, फिसिङ सेरामिक्स, आलु, फुड सप्लिमेन्ट, पापड, ग्रेनाइट, बेकरस वेयर, सावुन, ब्लांकेट एण्ड ट्राभेलिङ रग्स्, बिटुमिन, एभाइसन टवाइन फ्युल, टायर, सिसा, पास्ता, अण्डा, मकैलगायतका मुख्य २० वस्तु आयात हुनेमा पर्छन् ।
आर्थिक वर्ष २०७९/८० को ६ महिना आठ अर्ब सात करोड २० लाख रुपैयाँको आयात भएकोमा गत आर्थिक वर्षको सोही अवधिमा सात अर्ब सात करोड ७२ लाख रुपैयाँको सामान आयत भएको थियो । गत वर्षको तुलनामा आयात घटेको भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनाले बताए । उनले बजारमा माग घटेको कारण आयात पनि घटेको र निर्यात गर्ने सामान उत्पादन हुन नसकेको कारणले निर्यात व्यापार झन बढी घटेको जानकारी दिए ।