२० करोड लगानीमा पाँच पक्की पुल बनाउँदै पूर्वाधार कार्यालय

जुम्ला– जुम्लाका दुर्गम बस्तीमा यातायातको पहुँच विस्तारका लागि पूर्वाधार विकास कार्यालय जुम्लाले पक्की पुल निर्माणमा जोड दिएको छ । स्थानीय तह सञ्चालनपछि गाउँगाउँमा सडक पुगे पनि पुल नहुँदा प्रयोगविहीन बनेका सडकमा गाडी गुडाउन र नागरिकको दैनिकीलाई सहज बनाउन कार्यालयले पुल निर्माणमा जोड दिएको हो ।
जिल्लाका विभिन्न ठाउँमा निर्माण हुनेगरी तीनवटा पुलको ठेक्का खोलिएको छ भने दुईवटा पक्की पुल निर्माण भइसकेको छ । पूर्वाधार विकास कार्यालय जुम्लाको विवरणअनुसार कनकासुन्दरीलाई सदरमुकामसँंग जोड्ने भैसेडी पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । गुठिचौरका ग्रामीण बस्ती जोड्ने पक्की पुल अन्तिम चरणमा पुगेको छ ।
साथै पातारासीको लुम, कनकासुन्दरीको न्याउरीघाट र हिमा गाउँपालिकाको मोफ्ला जोड्ने पुल निर्माणका लागि ठेक्का खोलिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकरप्रसाद सिंहले बताए । उनका अनुसार नयाँ निर्माण हुने तीनवटा र निर्माण भइसकेका दुईवटा पुल निर्माणका लागि झण्डै २० करोड सात लाख बढी बजेट खर्च हुने भएको छ । जसमा २०७९ असार २९ गते सम्झौता भई निर्माण सुरु भएको कनकासुन्दरीको भैसेडी पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
उक्त पुल निर्माणका लागि चार करोड ३२ लाख रुपैयाँ खर्च भएको थियो । ३० मिटर लम्बाइको उक्त पुल निर्माणपछि कनकासुन्दरीबासीलाई आवतजावतमा सहज भएको छ भने प्रसिद्ध कनकासुन्दरी मन्दिरको दर्शन गर्न आउनेलाई समेत सहज हुने भएको छ । पुल निर्माणपछि कनकासुन्दरी जुम्ला सदरमुकामसँंग समेत जोडिएको छ । कनकासुन्दरी–४ का वडाध्यक्ष धनमानसिंहले भैसेडी पक्की पुल निर्माणपछि दुर्गम साहुबाडा, धोबीघाट, चौकी, मुसेधान्नी, तली लेकपोर, माझगाउँ लेकपोर, कोटलगायतका गाउँका नागरिकलाई सदरमुकाम आउन जानसमेत सहज हुने बताए ।
उक्त पुल हुँदै बजार आउन निकै छोटो पर्ने भए पनि बीचको खण्डमा बजेट अभावले सडक निर्माण हुन सकेको छैन । त्यस्तै, जुम्ला र डोल्पा जोड्ने सडक खण्डअन्तर्गत गुठिचौरमा पनि पक्की पुल निर्माणको ९८ प्रतिशत काम सकिएको छ । तीन करोड ७६ लाख लागतमा निर्माण भएको उक्त पुलले गुठिचौरका दुर्गम बस्तीलाई समेत यातायातमा जोड्न टेवा पुग्ने छ ।
कार्यालयका अनुसार २५ मिटरको सो पुल ९८ प्रतिशत काम सम्पन्न भइसकेकाले सुचारु गर्ने तयारी छ । जिल्लाका पातारासी, कनकासुन्दरी र हिमाका दुर्गम बस्तीमा सहज यातायात पहुँच विस्तार गर्ने उद्देश्यले नयाँ तीनवटा पुल निर्माणका लागि ठेक्का लगाइएको छ । जसमा हिमा गाउँपालिका–३ को मोफ्ला लगायतका दुर्गम गाउँलाई राजमार्गमा जोड्न ९० लाख लगानीमा मोटरेबल बेलिब्रिज बन्ने गरी ठेक्का आह्वान भइसकेको छ । कर्णाली प्रदेश सरकारले भर्खरै स्रोत सुनिश्चित गरेपछि उक्त पुल निर्माण प्रक्रिया अघि बढेको हो ।
यता कनकासुन्दरी गाउँपालिका–१ को न्याउरीघाटमा २५ मिटर लामो पक्की पुल बन्ने छ । उक्त पुल निर्माणका लागि पाँच करोड ४५ लाख बजेटको ठेक्का भई निर्माण कम्पन्नीसँंग सम्झौतासमेत भइसकेको छ भने उता पातारासी गाउँपालिकाको लुममा पनि पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । पुलको काठेपुलबाट केही महिनाअघि एकजना मोटरसाइकलसहित खसेर मृत्यु भएको थियो । जग्गा विवाद टुंगिएपछि ४० मिटर लामो पक्की पुल निर्माण हुने भएको छ ।
लुममा पुल निर्माणका लागि पाँच करोड ६४ लाखको टेण्डर आह्वान भएको छ । लुम र न्याउरीगाड पुल एउटै निर्माण कम्पन्नी (एमएस–एनएस–एमएनएस–एमसी) जेभीले जिम्मा पाएको छ । जिल्लाका दुर्गम बस्ती जोड्ने मनसायले पक्की पुल बनाउन पूर्वाधार विकास कार्यालयले ठेक्का आह्वान गरी सम्झौता गरे पनि ठेकेदारले काम सुरु गर्न ढिलाइ गरेका छन् । लुम र न्याउरीघाट पुलको सम्झौता गत असारमै भए पनि ठेकेदारले ढिलासुस्ती गर्दा काम अघि बढेको छैन ।
यद्यपि ठाउँठाउँमा करोडाैं लगानीका मोटरेबल पुल निर्माण हुने भएपछि जुम्लाका किसान उत्साहित छन् । गाउँमा सडक पुगे पनि पुल नहुँदा सडक मात्र प्रयोगविहीन बनेका छैनन् । उत्पादित कृषि वस्तुसमेत गाउँमै थन्किएका छन् । पुल निर्माण भएपछि गाउँको उत्पादनले बजार पाउने र पिठ्यूँमै भारी बोक्ने बाध्यता हट्ने अपेक्षा गरिएको युवा उद्यमी गोपाल रोकाया बताउँछन् । उनका अनुसार निर्धारित समयमै पुल निर्माण सम्पन्न गर्न र संरचना गुणस्तरीय बनाउन नियमित अनुगमन तथा निरीक्षणको काममा ध्यान दिन जरुरी छ ।
यता पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख सिंह जिल्लाका विभिन्न ठाउँमा नयाँ निर्माण हुने पुलको कामलाई अघि बढाउन ठेकेदारलाई ताकेता दिएको बताउँछन् । ‘भैसेडी पुल सञ्चालनमा आइसकेको छ । गुठिचौर पुल सुचारु गर्ने तयारी छ,’ उनले भने, ‘न्याउरीघाट र लुम पुलको काम ठेकेदारको कारण केही विलम्ब भए पनि काम भइरहेको छ भने उता हिमाको मोफ्ला पुलको भर्खर ठेक्का खोलेका छौं । सबै ठाउँमा निर्धारित समयमै संरचना बनाउने गरी हाम्रो प्रयास रहन्छ ।’