बौद्ध स्थलमा पर्यटकीय पूर्वाधार बन्न आवश्यक

रुपन्देही-लुम्बिनी र यस क्षेत्रका अन्य बौद्ध क्षेत्रहरू विश्वभरका पर्यटकका लागि आकर्षक गन्तव्य हुन् । यी गन्तव्यहरूको प्रवद्र्धनका लागि प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष समेत मनाइरहेको छ । लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढाउन ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं : शान्तिको सन्देश फैलाऔं’ भन्ने मूल नारासहित बौद्ध स्थलहरूमा विभिन्न प्रवद्र्धनात्मक तथा आध्यात्मिक गतिविधि सञ्चालन गरिएका छन् । लुम्बिनीमा मात्र सीमित रहेका पर्यटकीय गतिविधिहरू भ्रमण वर्षका कारण यससँग सम्बन्धित बौद्ध स्थलहरूमा पनि आयोजना हुन थालेका छन् ।लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक महत्वको क्षेत्र हो । यहाँ शान्तिका नायक गौतम बुद्धको इसापूर्व ६२३ मा जन्म भएको थियो ।
यो भूमि संसारभरका बुद्धमार्गी र शान्तिप्रेमीहरूका लागि पवित्र गन्तव्यको रूपमा रहेको छ । सन् १९७८ मा प्रो. केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजना अनुसारको काम सम्पन्न हुन अझै केही वर्ष लाग्ने छ । यद्यपि लुम्बिनी अब घुम्न लायक आकर्षक गन्तव्यको रूपमा तयार भएको छ र यसैकारण यो वर्ष यसको प्रवद्र्धनका लागि लुम्बिनी भ्रमण वर्ष घोषणा गरिएको हो । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेसँगै पर्यटन गतिविधि बढेको त देखिन्छ तर पर्यटकको बसाइ अवधि भने लम्बिन सकेको छैन । भैरहवा–लुम्बिनी सडक खण्ड निर्माणको क्रममा रहेको र वैकल्पिक सडकको विषयमा जानकारी नहुँदा पर्यटक आवागमनमा कमी आएको लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले बताउनुभयो । “लुम्बिनी भ्रमण वर्षका कारण यहाँ पर्यटकीय गतिविधि बढेका छन् जसले गर्दा पर्यटन व्यवसायीहरू उत्साहित छन् तर, पर्यटकहरूको बसाइ अवधि कम छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो – अब बसाइ अवधि लम्ब्याउन पर्यटकीय प्याकेजको तयारीमा लागैका छौं ।” लुम्बिनीदेखि करिब २८ किलोमिटरको दूरीमा सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको स्थान तिलौराकोट छ तर, लुम्बिनी आउने अधिकाँश पर्यटक यो पवित्र स्थानमा पुगेका हुँदैनन् ।
अहिले सडक निर्माणको क्रममा रहेकाले पर्यटकहरू लुम्बिनीबाट सहजै तिलौराकोट पुग्ने अवस्था छैन । पूर्व–पश्चिम राजमार्गबाट तिलौराकोट जान निकै सजिलो छ । कपिलवस्तुको गोरुसिङ्गेबाट ११ किलोमिटरको दूरीमा सजिलै तिलौराकोट पुग्न सकिन्छ । अर्कोतर्फ तिलौराकोटमा पर्याप्त पर्यटकीय पूर्वाधार नहुँदा आकर्षणको केन्द्र बन्न सकेको छैन । विभिन्न अध्ययनहरूले तिलौराकोटमा पर्यटकको बसाइ अवधि औसत ३९ मिनेट मात्र रहेकोे देखाएको छ । तिलौराकोट आउने पर्यटक पश्चिमी र पूर्वीद्वार तथा मध्य भागमा रहेको राजप्रासाद अवलोकन भ्रमण गरी फर्कने गरेका छन् ।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने उद्देश्यले दुरहाम विश्वविद्यालय बेलायत, नेपाल सरकार र विज्ञहरूको संलग्नतामा लुम्बिनी विकास कोषले पुस २२ गतेदेखि पुनः उत्खनन थालेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए । उनले भने, “अबको दुई वर्षभित्र बुद्धले २९ वर्ष बिताएको राजा शुद्धोदनको दरबार यही हो भनेर अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्ने काम सम्पन्न हुन्छ । यो राष्ट्रकै महत्वको विषय हो ।” अध्ययनअनुसार तिलौराकोट आएका ११ प्रतिशत मात्रै राजा शुद्धोदन र रानी मायादेवीको समाधिस्थल मानिएको धमनिहवा स्तूप जाने गरेका छन् । यो तिलौराकोट दरबारबाट ७०० मिटरकै दूरीमा अवस्थित छ । यस्तै, नौ प्रतिशतले मात्रै तिलौराकोटदेखि ७०० मिटर पश्चिम दक्षिण रहेको कपिलवस्तु सङ्ग्रहालय अवलोकन गर्न जाने गरेका छन् ।तिलौराकोटबाट सात किलोमिटरको दूरीमा क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा छ ।
यो स्थानमा भाँचिएको अशोक स्तम्भ र प्राचीन स्तूपको भग्नावशेष छ । यसकोे पनि उचित प्रचारप्रसार र सम्बद्र्धन हुन सकेको छैन । यहाँ पुग्ने पक्की सडक रहे पनि घुमफिर गरेर समय बिताउने वा आध्यात्मिक चिन्तन मनन गर्ने पूर्वाधार नहुँदा पर्यटकहरू आएका छैनन् । आएका पर्यटक पनि छोटो समयमै फर्किने गरेका छन् । यस्तै, कनकमुनि बुद्धको जन्मस्थान निग्लिहवा पनि कपिलवस्तुमै छ । तिलौराकोटदेखि नौ किलोमिटरको दूरीमा यहाँ पुग्न सकिन्छ । यहाँ पनि भाँचिएका अशोक स्तम्भका टुक्रा र निग्लिसागर पोखरी छन् । यस स्तम्भमा उत्कीर्ण अभिलेखले कनकमुनि बुद्धको जन्म यस स्थलमा भएको तथ्य प्रमाणित गर्दछ । यो क्षेत्रमा भ्रमण वर्षको अवसरमा प्रदेश सरकारले पूर्णिमा उत्सव मनाउने बाहेक अन्य पर्यटकीय गतिविधि हुन सकेका छैनन् ।
यहाँ पनि सडक बाहेकका पर्यटन पूर्वाधार छैनन् । तिलौराकोटबाट दश किलोमिटर दूरीमा संरक्षित क्षेत्र अरौराकोट पर्दछ । यस पवित्र स्थललाई कनकमुनि बुद्धको गृहनगरको रूपमा पहिचान गरिएको छ । यहाँ प्राचीन भग्नावशेषहरू रहेका छन् । उचित प्रसारप्रसार नहुँदा यो क्षेत्रको महत्व धेरैले बुझेका छैनन् । प्रदेश सरकारले कनकमुनि बुद्धको गृह नगर अरौराकोट र क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवामा यसै वर्ष मूर्ति राख्ने र पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ । हजारौं शाक्यहरूको बध गरिएको क्षेत्र सगरहवा पनि कपिलवस्तुमै पर्छ । तिलौराकोटदेखि आठ किलोमिटर दूरीमा रहेको यो स्थानमा हाल केही भग्नावशेषहरू र एक पोखरी छन् । डा ए फुहररले यस स्थलमा सन् १८९७ मा उत्खनन् गरी बुद्धकालीन अवशेष तथा स्तूपहरू बाहिर निकालेका थिए ।
भगवान् गौतम बुद्धले ज्ञान प्राप्त गरी पहिलो पटक राजधानी आउँदा आफ्ना पिता शुद्धोधन माता प्रजापति गौतमी, पत्नी यशोधरा तथा छोरा राहुललाई भेटघाट गरेको महत्वपूर्ण स्थल निग्रोधाराम पनि कपिलवस्तुमै छ । यो स्थल लुम्बिनीबाट २८ किलोमिटर दक्षिण पश्चिम तथा तिलौराकोटदेखि छ किलोमिटरको दूरीमा पर्दछ । यहाँ पुरातात्विक एवं धार्मिक महत्वका तीन स्तुप, एक पोखरी र एक इनार छन् ।नवलपरासीको रामग्राम नगरपालिकामा पर्ने रामग्राम ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थल हो । सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा यो क्षेत्र पर्दछ । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको यो स्तूपमा भगवान् गौतम बुद्धको महापरिनिर्वाण पछि अस्तु राखिएको छ ।