Logo

भोटेकोसी गाउँपालिकामा पर्यटनको सम्भावना

भोटेकोसी गाउँपालिका बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा पर्छ । शिल्पकार अरनिको इ.सं. १२६० मा तिब्बतको ल्हासा तथा चीनको राजधानी बेइजिङ जाँदा यही बाटो भएर गएकाले काठमाडौँदेखि कोदारीसम्मको मोटरबाटोलाई निजकै सम्मानमा अरनिको राजमार्ग राखिएको हो । त्यस्तै, अंशुवर्माकी छोरी भृकुटी तिब्बत जाँदा यही बाटो भएर गएकी थिइन् ।

भोटेकोसी गाउँपालिका समुद्री सतहदेखि १ हजार ५ सय मिटर उचाइमा पर्छ । गाउँपालिकाको कुल क्षेत्रफल २७८.३१ वर्गकिमि छ । यसको पूर्वमा दोलखाको गौरीशंकर गाउँपालिका, पश्चिममा बाह्रबीसे नगरपालिका र जुगल गाउँपालिका, उत्तरमा चीन र दक्षिणमा बाह्रबीसे नगरपालिका पर्छ ।

यस गाउँपालिकामा थामी, तामाङ, शेर्पा, नेवार, मगर, राई, जिरेल, गुरुङ, बाहुन, क्षेत्री, घटानी, दलित आदि विभिन्न जातजातिका मानिसहरू बसोबास गर्छन् । यहाँ मुख्यतया हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको बसोबास छ । यहाँका मानिसको मुख्य भाषा नेपाली हो भने शेर्पा, तामाङ, नेवार र अन्य जातिको आफ्नो मातृभाषा छ । भोटेकोसी गाउँपालिका विमाण्डक ऋषि तथा श्रृङ्गी ऋषिले तपस्या गरेको तपोभूमि भएकाले ऐतिहासिक धार्मिक, पुरातात्विक पर्यटकीय सम्पदाको रूपमा परिचित छ ।

भोटेकोसी गाउँपालिकाभित्रका प्रमुख ऐतिहासिक तथा धार्मिक स्थानहरूमा दुगुनागढीको युद्ध किल्ला, कालीदेवी, सेतीदेवी, गुप्तेश्वर, बोक्च्यान, काकालिङ, टासी धार्गेलिङ, तातोपानी, भैरवकुण्ड, पौ-आनी गुम्बा, लिस्तीमाई, मार्मिङको थुजी छेन्बो छ्याक्तोङ, चेन्तोङ, थर्पा छ्याइलिङ, फुनफेन छ्याइलिङ, टसीछोइलिङ र पेमा छ्याइलिङ गुम्बा, वपौली कुण्ड (अन्थली), साङ्माखानी तीर्थ, नम्बरजोड भुमे, देउढुङ्गा माई, चाथली गुफा, सिरम्पा नेगङ पोखरी, महादेव, सेतीदेवी धर्साङ गणेश, सात कन्या मन्दिर आदि पर्छन् ।

भोटेकोसी नदीसँगै रहेको तातोपानीबाट ६ किलोमिटर पश्चिमतर्फ पर्ने दुगुनागढी राणा प्रधानमन्त्री जङ्गबहादुरको पालामा वि.सं. १९१२ मा निर्माण भएको पाइन्छ । नेपाल र तिब्बतबीच युद्ध भएका बखत यो स्थानलाई रासन पानी, आवास र सुरक्षाका लागि प्रयोग गरिएको थियो । भोटसँगको युद्धमा नेपालीले यसै गढीको प्रयोगबाट सफलता हासिल गरेको प्राप्त शिलालेखमा उल्लेख गरिएको छ । शत्रुसँग लड्न सजिलो हुने गरी भौगोलिक हिसाबले समेत यो गढी उचित ठाउँमा निर्माण भएको देखिन्छ । भोटसँगको युद्धमा नेपाली सेनाले तिब्बतको खासा बजारमा यसै गढीबाट तोप हानेर क्षति पुर्‍याएको थियो भन्ने भनाइ छ ।

तिब्बतको खासा र तिब्बततर्फको मनोरम हिमचुलीहरू देखिने यस ठाउँमा अरनिको राजमार्गको लार्चाबाट करिब २ घण्टाको पैदल यात्राबाट पुग्न सकिन्छ । सानो र ठूलो गरी दुईवटा किल्ला रहेको यस ठाउँमा पुग्न पर्खाल निर्माण गरी सुरक्षित बाटोसमेत निर्माण गरिएको छ । यस ठाउँमा अधिकांश शेर्पा जाति बसेका छन् र निजहरूबाट होम स्टेसमेत सञ्चालनमा रहेका छन् ।

धार्मिक तथा ऐतिहासिक सम्पदामात्र नभएर यो गाउँपालिका प्राकृतिक सम्पदाको पनि धनी छ । गाउँपालिकामा प्रमुख नदीनालाहरूमा भोटेकोसी, काउले खोला, टाङ्गा खोला, घट्टे खोला, टुसारे खोला, कर्थली खोला, जिङरिम्बु खोला, चाङडोल खोला, लार्चा खोला, चाकु खोला, लापिलाङ, खुकुण्डोल, टुम्बुक, छ्यासा, ठाल्ड, जिउरुङ, भोटेछ्यासा आदि, ताल, पोखरीहरूमा भैरवकुण्ड, बपौली कुण्ड (अन्थली), सिरम्पा नेगङ आदि, छहराहरूमा तातोपानीको छहरा, काङलाङको छहरा, भैरवकुण्ड छहरा आदि रहेका छन् ।

त्यस्तै, यस गाउँपालिकामा गौरीशंकर संरक्षण क्षेत्रसमेत पर्ने भएकाले वन्यजन्तु, चराचुरुङ्गी तथा जैविक विविधताले भरिपूर्ण छ । यस गाउँपालिकामा बाघ, भालु, बाँदर, चितुवा, मृग, कस्तूरी कुसुण्डा, थार, घोरल, स्याल, बँदेल, दुम्सी, ब्वाँसो, चमेरो, लोखर्के, न्याउरी मुसा, वन बिरालो, मलसाँप्रो, हाब्रे, चरी बाघ, फ्याउरो आदि वन्यजन्तु पाइन्छन् भने डाँफे, मुनाल, मयूर, ढुकुर, कालिज, तित्रा, सारौँ, कोइली, भँगेरा, सुगा, गिद्ध, हुचिल, लाटोकोसेरो, बौडाई, पिउरा, काग, जुरेली, मलेवा, चिबे चरा, पानीहाँस, बकुल्ला, भाले चरा, फिस्टे, गौँथली, कल्चौँडी, टिकटिके, परेवा, चमेरो, कामी चरा आदि पाइन्छन् । त्यस्तै गाउँपालिकाभित्र चिराइतो, पाँचऔँले, टिमुर, यार्सागुम्बा, ठूलो ओखती, जटामसी, पदमचाल, टिमुर, पाखनवेद, बोझो, सुनपाती, शिलाजित, ग्यामजोल, वनमारा, तितेपाती, सतुवा, गोभ्रे सल्ला, खोटे सल्ला, चाँप, उतिस, लालिगुँरास, लोक्ता, पट्टा, मलिण्डो, घिउ कुमारी, टिमुर, जिम्बु, बाबरी, तुलसी, च्याउ, सत्यजीवन, तरुल, पानी अमला, वन तरुल, पानी लहरा, कुरिलो, बनमारा, तितेपाती, वनफर्सी आदि जडीबुटी÷लहरा÷कन्दमूल पाइन्छन् भने काउलो, खस्रु, कमली, उत्तिस, चिलाउने, वङ्सेट, गुराँस, सल्ला, धुपी, फलाट, चाँप, सउर, काफल, गुहेँली आदि विभिन्न प्रजातिका वनस्पतिहरू पाइन्छन् ।

यस गाउँपालिकामा मौलिक परम्परा, रीतिरिवाज, कलासंस्कृति, स्थानीय खानपान र धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धन गर्न सकिने ठूलो सम्भावना छ । विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोतसाधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गरेको अवस्था देखिन्छ ।

देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेशमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताका आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ वैकल्पिक व्यवसायका रूपमा विकास गर्नु उपयुक्त देखिन्छ ।

तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट नेपालले आर्थिक–सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनका रूपमा रहेको छ, जसबाट नेपाली जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ ।

सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण भोटेकोसी गाउँपालिकामा आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।

ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण एवं प्रवद्र्धन प्रभावकारी नहुनु, व्यवस्थित रूपमा होमस्टेलगायत पर्यटकीय सुविधाहरूको उपलब्धतामा कमी, सुरक्षित पर्यटनप्रति आश्वस्त पार्न नसक्नु, व्यवस्थित होटल नहुनु, पर्यटन प्रवद्र्धनका निम्ति आवश्यक नीतिनियम तथा ज्ञानको अभाव, पर्यटकीय विकासका लागि आवश्यकीय सूचना, बाटो, धारा, पथप्रदर्शकहरू होटल व्यवसाय, बैंक, वित्तीय संस्था आदिको अभाव प्रमुख समस्याको रूपमा रहेका छन् । जसको फलस्वरूप यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन ।

अतः यस पालिकाको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । भोटेकोसी गाउँपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक छ । त्यस्तै, सो पालिकाको विकासका लागि व्यवस्थित खानेपानीको पर्याप्त उपलब्धता, बाटोघाटोको आवश्यक व्यवस्था, टेकिङ रुटको सम्भाव्यता अध्ययन, प्रभावकारी होटेल तथा होमस्टेको स्थापना, पुरातात्विक अन्वेषण र संरक्षण, युद्ध संग्रहालयको स्थापना, धार्मिक पर्यटनलाई प्रोत्साहन, पर्यटन सूचना केन्द्रको स्थापना, जनचेतना अभिवृद्धि गर्दै नमुना पर्यटन गाउँपालिका निर्माण गर्नु आजको आवश्यकता हो ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी गरिबी न्यूनीकरण गर्दै भोटेकोसी गाउँपालिकालगायत देशभरका मानिसको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्