Logo

नेपाल लिटरेचर फेस्टिभल आजदेखि

पोखरा– ‘साहित्यको कुम्भमेला’ को रुपमा लिइएको एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ को बाह्रौं संस्करण बिहीबारदेखि पोखरामा सुरु हुने भएको छ । यही फागुन १८ सम्म चल्ने फेस्टिभलमा विभिन्न विषयमा संवाद हुने भएको छ । फेष्टिभलमा संवाद सत्रहरू भने दिउँसो एक बजेदेखि सुरू हुनेछ ।

फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ । अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’ माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले बताए ।

प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचन रहने फेस्टिभलका निर्देशक निरज भारीले बताए । उनी इन्दिरा गान्धी ओपेन युनिभर्सिटीका प्रा.उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबै भन्दा कान्छा उपकुलपतिसमेत भएका थिए । उद्घाटन समारोहमा अनिल शाही र समुहको विशेष सांगीतिक प्रस्तुतिसमेत हुने आयोजक संस्थाका एक सदस्य केशवशरण लामिछानेले बताए ।

दिउँसो १ बजेदेखि भुपी कक्षमा अध्यात्म र संघर्षमाथि ‘अलि अलि हार हो, अलि अलि जित जित !’ सत्रमा अभिनेत्री मनिषा कोइराला र लेखक एवम् पत्रकार विजयकुमार पाण्डेको संवाद हुने उनले बताए । त्यसपछि दिउँसो २ बजेदेखि ३ बजेसम्म ‘स्मृतिमा भूमी’ सत्रमा कान्ति शेरचन र कविता शेरचनसँग वसन्त थापाको संवाद हुने छ ।

अलिमियाँ कक्षमा दिउँसो २ बजेदेखि ३ बजेसम्म सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङसँग विजय तिमल्सिनाले सञ्चार क्षेत्रमाथि केन्द्रीत संवाद गर्ने भारीले उल्लेख गरे । भूपी कक्षमा दिउँसो ३ बजेदेखि ४ बजेसम्म मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भरत कोइरालाले प्रदेश सरकारका गतिविधि, अवसर र चुनौतीलगायत विषयमा संवाद गर्ने आयोजकले जनाएको छ ।

सोही समयमा अलिमियाँ कक्षमा ‘रैथाने ज्ञानको विज्ञान’ सत्रमा सीता मादेम्बाले सुभाष नेपाली, गीता चौधरी र सुरेश ढकालसँग संवाद गर्ने फेस्टिभलका कार्यकारी निर्देशक अजित बरालले जानकारी दिए । भूपी कक्षमा दिउँसो ४ बजेदेखि ५ बजेसम्म नेकपा (एमाले) नेता एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिका सु:ख–दु:ख संवाद हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्