ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया सुरु गर्न शपथग्रहण

वासिङ्टन-ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया सुरु गर्न अमेरिकी प्रधानन्यायाधीशले सिनेटका सदस्यहरूलाई आफूहरूले निष्पक्ष रूपमा न्याय प्रदान गर्ने विषयमा शपथग्रहण गराएका छन् ।
यसरी शपथ लिएपछि उनले सिनेटको एक सदस्यका रूपमा महाअभियोग प्रस्तावमा हुने समग्र प्रक्रियाको अध्यक्षता ग्रहण गर्नेछन् ।
उक्त महाअभियोग प्रस्तावमा छलफलका लागि अमेरिकाको प्रधानन्यायाधीशले सबै सिनेट सदस्यलाई शपथ गराउने र उनको अध्यक्षतामा उक्त प्रक्रियाको किनारा लगाउने कानुनी प्रावधान रहिआएको बताइन्छ ।
यसलगत्तै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा बिहीबारबाट औपचारिक रूपमा सुरु भएको जनाइएको छ ।
प्रधानन्यायाधीश जोन रोबर्ट्सले बिहीबार अपराह्न सिनेट बैठकमा उक्त सिनेटका १ सयमध्ये ९९ औँ सिनेटरलाई शपथ गराएका थिए ।
बिहीबारको सो शपथ कार्यक्रममा रिपब्लिकन पार्टीका एक जना सिनेटर भने अनुपस्थित थिए । उनको घरायसी कारणले गर्दा सो बैठकमा उपस्थित हुन नसकेको जानकारी त्यस अवसरमा गराइएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले माथिल्लो सदन सिनेटमा पठाएको थियो ।
हाउस अफ रिप्रेजेन्टेटिभ्सले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मंगलबार पारित गरेको प्राप्त समाचारमा जनाइएको छ ।
यसअघि हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा उनीमाथि महाअभियोग लगाउनेसम्बन्धी प्रस्तावमा मतदान हुँदा २ सय २८ जनाले माथिल्लो सदनमा पठाउने पक्षमा मतदान गरेका थिए भने १ सय ९३ जनाले विपक्षमा मतदान गरेका थिए ।
अब प्रधानन्यायाधीशले शपथ लिएसँगै बाँकी प्रक्रिया आगामी मंगलबारबाट सुरु हुन लागेको हो । सिनेटमा पठाइएको प्रस्तावको बाँकी प्रक्रिया अर्को हप्ताबाट अघि बढ्ने यसअघि बताइएको थियो ।
यसअघि गत मंगलबार उक्त प्रस्ताव पारित भएपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा हामी फेरि अगाडि बढ्ने छौँ, डेमोक्र्याटहरूले हामीलाई केही पनि गर्न सक्नेछैनन् भन्ने लेखेका थिए ।
मंगलबार सो प्रस्ताव पारित भएपछि बुधबार नै हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख नान्सी पेलोसीले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा पठाएकी थिइन् ।
अमेरिकाको इतिहासमा यसरी संसद्को तल्लो सदनबाट महाअभियोग लगाइएका राष्ट्रपतिहरूमध्ये ट्रम्प तेस्रो राष्ट्रपति भएका छन् ।
तर पनि हाउस अफ रिप्रेजेन्टेटिभ्समा राष्ट्रपति ट्रम्पको रिपब्लिकनको नभएर विपक्षी दल डेमोक्र्याटको बहुमत भएकाले यो प्रस्ताव पारित भएको तर सिनेटमा भने महाभियोग प्रस्ताव पास नहुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
सिनेटमा भने रिपब्लिकनका सांसदहरूको बहुमत छ । १ सय जना सदस्य रहने सिनेटमा उनका विरुद्धमा महाभियोग लगाउन नै दुईतिहाइ मत चाहिन्छ, जुन असम्भव नै रहेको विश्लेषकहरूको भनाइ छ ।
विपक्षीहरूले ट्रम्पलाई शक्तिको दुरुपयोग गरेको, संसद्को काम–कारबाहीमा अवरोध पु¥याएको लगायतका आरोपहरूसहित महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।
तर, राष्ट्रपति ट्रम्प र उनका समर्थकहरूले भने ती आरोपको अस्वीकार गरी ती प्रस्तावका विरुद्धमा खण्डन गर्दै आएका छन् । उनीहरूले ट्रम्पविरुद्धको महाअभियोगको प्रस्तावलाई पक्षपातपूर्ण र आक्रोशबाट चालिएको कदमको संज्ञा दिँदै आएका छन् ।
हाउस अफ रिप्रिजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो । सिनेटले पनि यस प्रस्तावलाई दुईतिहाइ मतले पारित गरेमा राष्ट्रपति ट्रम्प पदच्युत हुनेछन् ।
यतिखेर अमेरिकी राजनीति राष्ट्रपति ट्रम्पलाई समर्थन गर्ने र उनको विरोध गर्नेहरूमा विभाजित भएको बताइन्छ । यस प्रस्तावको प्रक्रिया सुरु भएसँगै अमेरिकी राजनीतिक वातावरण फेरि एकपटक तात्न पुगेको छ ।
उनको दल रिपब्लिकनले महाअभियोगको प्रस्तावलाई असफल गराउने बताएको छ भने विपक्षी दल डेमोक्रयाटिकले भने ट्रम्पलाई सिनेटले महाअभियोग लगाउने र पदच्युद गर्ने बताउँदै आएको छ ।