४०० केभी सव स्टेशन निर्माण जग्गा अधिग्रहणमै सीमित

वीरेन्द्रनगर– जाजरकोटको नलगाड नगरपालिका–७ दानी पिपलमा निर्माण गर्न लागिएको ४०० केभी सव स्टेशन जग्गा अधिग्रहणमा सीमित रहेको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले अधिग्रहण गरेको जग्गामा चारैतर्फ तारहरू लगाएर सुरक्षित गर्ने बाहेक अरु काम गर्न नसकेपछि लामो समयदेखि सव स्टेशन निर्माणको काम अघि बढ्न नसकेको हो ।
जाजरकोटको दानी पिपल र सुर्खेतको मैनतडामा दुई वटा सव स्टेशन निर्माण गरेर प्रसारण लाइन निर्माण गर्ने यसको लक्ष्य रहेको छ । २ हजार ५०० मेगावाट विद्युत यसै स्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडने लक्ष्य लिइएको भए पनि लामो समयदेखि काम नहुँदा अलपत्र जस्तै भएको छ । १५० किलोमिटरको डवल सक्र्रिट प्रसारण लाइन निर्माण गर्ने यसको लक्ष्य रहेको छ ।
यसमा नलगाड जलविद्युत आयोजना ४१७, जलदुल्ला जलविद्युत आयोजना १०६, जगदुल्ला ए–८२ मेगावाट, ७ मेगावाटको ताक्सुगाड जलविद्युत आयोजनालगायतका अन्य विद्युत आयोजनाको विद्युत यसमा जम्मा गर्ने लक्ष्य लिइएको थियो । सुर्खेतसम्म १३२ केभी प्रसारण लाइन निर्माणको काम चलिरहेको छ । कोहलपुरबाट सुर्खेतसम्म काम भइरहेको छ ।
सुर्खेत भेरीगंगा मैनतडाबाट दानी पिपलसम्म ४०० केभी प्रसारण लाइन निर्माणको काम सुरु गर्नु पर्ने भए पनि हालसम्म सुरु नै भएको छैन । मुख्य स्टेशन दानी पिपलमा निर्माण हुने भएको छ । लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सागरराज गौतम भने सम्पर्कमा आएका छैनन् । लामो समयसम्म जग्गा अधिग्रहणको काम भए पनि उक्त जग्गामा भौतिक संरचना निर्माणको काम सुरु नहुँदा स्थानीयवासीले छिटो निर्माण हुनुपर्ने माग राखेका छन् ।
अहिले सो ठाउँमा ३३ केभी प्रसारण लाइनको काम जारी रहेको छ । भेरी करिडोर सडकबीचमा रहेको मन्तडा र दानी पिपल भेरी नदीको किनारमा रहेका आयोजना हुन् । अघिल्लो सरकारले अघि बढाएर धेरै आयोजनाहरू अहिलेको सरकारले ध्यान नदिदा समस्या सिर्जना भएको पूर्व जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आरोप लगाए । नलगाडमा घर टहराको मुआव्जादेखि धेरै विषयहरू अलपत्र जस्तै भएका उनले बताए ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्व ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभाको बैठकमा अहिलेको सरकारले धेरै काम अलपत्र पार्दै आएको बताए । अघिल्ला सरकारले गरेका धेरै कामहरू अहिलेको सरकारले ध्यान नदिएको उनको आरोप छ । जाजरकोटका जनप्रतिनिधि रहेका बस्नेतले आफ्नो जिल्लाको विकास निर्माणका महत्त्वपूर्ण कामहरू सुरु भए पनि सरकारी रवैयाका कारण परिणाम आउन नसकेको बताए ।
जिल्लामा भइरहेका विकास निर्माणका विषयमा केही दिनअघि सम्पन्न अर्ध वार्षिक समीक्षामा समेत यो कुरा उठेको थियो । सत्ता गठबन्धनका नेताहरू काठमाडौँ गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जानकारी गराए पनि अहिलेसम्म हल हुन सकेको छैन । पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तथा प्रदेशसभा सदस्य बेदराज सिंहले धेरै पटक जलविद्युत विषयमा पहल गरे पनि खासै नतिजा आउन नसकेको बताए । यत्ति धेरै पहल गर्दा पनि काम भएन भने अहिलेको सरकारले काम गर्दैन भन्ने बुझ्नुपर्ने उनको भनाइ छ ।