चौरजहारी नगरपालिकामा नगर बस सञ्चालन «

चौरजहारी नगरपालिकामा नगर बस सञ्चालन

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएपछि स्थानीय खुसी भएका छन् ।
नगर क्षेत्रका सर्वसाधारणलाई आवतजावतमा सहजता ल्याउन नगरपालिकाले तीन महिनाअघि नगर बस सञ्चालनमा ल्याएको थियो । यसअघि हिँडेर तथा अन्य सवारीसाधनमार्फत महंगोमा यात्रा गरिरहेका स्थानीय अहिले सहुलियत भाडादरमा यात्रा गर्दा दंग छन् । नगर बस सञ्चालनपछि यात्रामा निकै सहजता भएको स्थानीय गोविन्द घर्तीले बताए ।
“पहिले नगरपालिकाका विभिन्न स्थानमा गाडीमा गए पनि महँगोमा भाडा तिर्नु पथ्र्यो,” उनले भने, “नगरले ठूला बस सञ्चालन गर्दा हामीलाई सहुलियत र सहजता दुवै भएको छ ।” सहुलियत भाडा दर कायम गरी नगरपालिकाले २६ र ३२ सिट क्षमता भएका तीनवटा बस सञ्चालनमा ल्याएको हो । यसअघि अन्य गाडी तथा अटोरिक्सामार्फत ५ सय बढी भाडा तिरेर यात्रा गर्दै आएका यात्रु अहिले १ सय रुपैयाँको नगर बस टिकट काटेर यात्रा गरिरहेका छन् । त्यसमा पनि विद्यार्थीलाई ३३ प्रतिशत छुट दिइएको छ । छुट दिँदा विद्यार्थीहरू निकै खुसी भएको विद्यार्थी निराजन केसीले बताए । त्यस्तै अपांता भएका, सहिद परिवार र जेष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
त्यसैगरी ५ वर्षमुनिका बालबालिका तथा ८० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्थासमेत मिलाएको छ । सुरुमा तीनवटा बसबाट सुरुवात गरेको नगरबस आगामी वर्षमा थप गर्ने योजना नगरपालिकाको छ । नगरस्तरका सडकहरूको स्तरवृद्धिसँगै नगर बस थप गरेर यात्रुहरूलाई सहजता दिने नीति तथा कार्यक्रम अघि सारिएको चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले बताए । चुनावमा जनतासँग भोट माग्दा बाचा गरेअनुसार जनतालाई नगर बस सञ्चालन गरेर सेवा दिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्