Logo

खिम्ती–२ को प्रगति ८ं० प्रतिशत

एक वर्षमा विद्युत उत्पादन हुने

दोलखा– खिम्ती खोलामा निर्माणाधीन खिम्ती–२ जलविद्युत आयोजनाको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । दोलखा र रामेछाप सिमाना भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन खिम्ती–२ आयोजनाको काम तीव्र रुपमा भइरहेको छ । आयोजनाको मुख्य कामको रूपमा रहेको पानी बग्ने मुख्य सुरुङ खन्ने, खनिएका सुरुङमा लाइनिङ र कंक्रिट गर्ने, हेडवक्र्समा नदी फर्काउन गरिने बाँध निर्माण, हेडवक्र्स क्षेत्रमा खोलाको दुवैतिर तटबन्ध गर्ने, इन्टेक, बाँध, डिस्याण्डर लगायतको संरचना निर्माणको काम भइरहेको छ ।

आयोजनाले आउँदो वर्षात्अघि नदी क्षेत्रको काम पूरा गरेर डिस्याण्डर लगायतका काममात्रै बाँकी राख्ने तयारी गरेको छ । ४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजनामा मुख्य सुरुङसहित काम गर्नका लागि विभिन्न स्थानमा सहायक सुरुङसहित आठ हजार ३०५ मिटर सुरुङ निर्माण गर्नुपर्छ । त्यसमध्ये मुख्य पानी बग्ने सुरुङ, सार्जसाफ्ट, ठाडो सुरुङ र काम गर्न जाने सहायक सुरुङसहित अब मुख्य सुरुङको काम १८० मिटरमात्रै बाँकी छ ।

त्यो सुरुङ आउँदो चैत अन्तसम्म छिचोल्ने गरी काम भइरहेको खिम्ती–२ जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी पिपुल्स इनर्जी लिमिटेडका जनसम्पर्क अधिकृत हरिशरण अधिकारीले जानकारी दिए । मुख्य सुरुङको जिरी नगरपालिका–८ को खण्डमा कमजोर चट्टानका कारण केही ढिला भएको थियो । आयोजनाको माथिल्लो ठाडो सुरुङ १६२ मिटर र तल्लो ठाडो सुरुङ ६७ मिटरको रहेको छ । यो एक वर्षअघि छिचोलेर पेनस्टक पाइप राख्ने काम जारी छ ।

आयोजनाको ६५ मिटर ठाडो सुरुङको सर्जसाफ्टको काम पनि सकिएको छ । सर्जसाफ्ट विद्युतगृह एक्कासि बन्द गर्दा हेडवक्र्सको सुरुङबाट आएको पानी निकासका लागि बनाइएको हो । आयोजनाको हाइड्रोमेकानिकल पेनस्टक पाइपका लागि पाता ल्याएर साइटमै ल्याएर पाइप बनाएर जडानको काम पनि जारी छ । ठाडो र तेस्रो सुरुङमा आठ सय मिटर पेनस्टक पाइप जडान गर्नुपर्छ । हेडवक्र्सका मुहानमा राख्ने गेट पनि ढुवानी गरी जडान हुँदैछ ।

अहिले ६० मेगावाटको खिम्ती–१ जलविद्युत केन्द्रको बाँधभन्दा तीन सय मिटरमाथि विद्युतगृह निर्माणको भवन निर्माण गरी उपकरण जडानको काम जारी छ । जेनेरेटर लगायतका ठूलो उपकरण पनि आउँदो वर्षात्अघि गर्ने लक्ष्य छ । कम्पनीले सुरुवातमा यो आयोजना तीन वर्षमा सम्पन्न गर्ने गरी ईपीसीएफ (इन्जिनियरिङ, खरिद, निर्माण तथा वित्तीय व्यवस्थापन) मोडलमा निर्माण गर्न चीनको च्वङक्विङ वाटर टर्बाइन वर्क (सिडब्लूयुटिडब्लू) कम्पनीलाई जिम्मा दिएको थियो ।

सबै प्रक्रिया पूरा गरी आयोजनाको काम थाल्ने समयमा कोरोना (कोभिड–१९) महामारी सुरु भएकाले चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार चीनबाट नेपाल आउन नसकेपछि कम्पनीले नेपालकै हाईहिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरी सिभिलको काम अघि बढाएको हो । आयोजना सम्पन्न गर्न आठ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा अन्य नौ बैंकले ऋण लगानी गरेका छन् ।

आयोजना सम्पन्न भई आउँदा वार्षिक २६ करोड युनिट विद्युत उत्पादन हुनेछ । हिउँदको उत्पादन साढे चार करोड युनिट र बर्खाको उत्पादन साढे २१ करोड युनिट उत्पादन हुनेछ । दोलखाको जिरी नगरपालिका जिरीसिक्री दोभान पहिरेबाट खोला फर्काएर खिम्ती–१ जलविद्युत आयोजनाभन्दा तीन सय मिटरमाथि तामाकोसी गाउँपालिका–७ मा विद्युतगृह बनाई विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको सुरुङ, विद्युतगृह दोलखाको जिरी नगरपालिका–८, ९ र तामाकोसी गाउँपालिका–७ मा तयार हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युत दुई किमि लामो १३२ केभी क्षमताको प्रसारण लाइनबाट गर्जाङ–खिम्ती १३२ केभी प्रसारण लाइनमा जोडिने छ । प्रसारण लाइनका लागि सातवटा टावर निर्माण हुनेछन् । विद्युत प्रसारणका लागि सबस्टेसन र टावरको सिभिलको काम जारी छ । आयोजनाको सिभिलतर्फबाट हाईहिमाल कन्ट्रक्सन, हाइड्रोमेकानिकलको ग्लोबल हाइड्रो अष्ट्रिया र इलेक्ट्रोमेकानिकलको काम क्रिम हाइड्रलले पाइप र सिबीएमल भारतीय कम्पनीले गेटको काम गर्ने गरी ठेक्का पाएको छ ।

प्रतिक्रिया दिनुहोस्