करोड खर्चेर बुलबुले छेउमा अर्को ताल निर्माण हुने

वीरेन्द्रनगर– वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले तालको छेउमा अर्को ताल निर्माण हुने भएको छ । बुलबुले तालको पानीको स्रोत संरक्षण गर्न र चरा रमाउने बनाउनका लागि यो ताल बनाउन लागिएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुटुमा रहेको बुलबुले ताल तथा आसपासको क्षेत्रलाई अझ व्यवस्थित बनाउनका लागि यो योजना कार्यान्वयनमा ल्याइएको हो ।
उपत्यका बीचमा रहेको यो तालको बीचमा जंगल क्षेत्रसमेत रहेको छ । बुलबुले क्षेत्रमा रहेको पानीको संरक्षण गरी यसलाई पर्यटकीय रूपमा सुन्दर बनाउन प्रदेश सरकारले विगतदेखि नै काम गर्दै आएको छ । साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ । कर्णाली आउने हरेक पर्यटकको रोजाइमा बुलबुले ताल पनि पर्ने गरेको छ । विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो ।
बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै संघीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ । बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको संकलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन् । तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरूषका लागि पाँच/पाँच वटा धारा छन् । ताल विस्तार भएसँगै र्याफ्टिङ सञ्चालन भइरहेको छ । गीतमा बुलबुले तालको खुबै चर्चा हुने गरेको छ ।
‘सुर्खेत बुलबुल ताल, मै सानी हुनाले छुट्यो माया जाल’ लोक संकलक तथा वाद्यवादक प्रेमदेव गिरिको शब्द र कमला श्रेष्ठको स्वरमा ३० को दशकमा रेडियो नेपालमा रेकर्ड भएको यही गीतले सुर्खेतलाई नयाँ पहिचान दियो । सुर्खेत र बुलबुले तालको नाम सबै नेपालीको मनमनमा बस्यो । उतिबेला भेरी अञ्चललाई मध्यनजर गर्दै बनाइएको गीतले राम्रै बजार पायो । अहिलेजस्तो यातायात र घुम्ने संस्कारको विकास भइसकेको थिएन ।
सुर्खेत र बुलबुले तालबारे त्यही रेडियोमा बज्ने गीतले नै पहिचान दियो । बुलबुले तालकै नाममा त्यसयता २५ भन्दा बढी गीत सार्वजनिक भएका छन् । सबै गीतमा सुर्खेत र बुलबुले तालको वर्णन गरिएको छ । गीत सुनेरै धेरैले बुलबुलेको अवलोकन गरेका छन् । वार्षिक लाखौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक बुलबुले पुग्छन् । यही तालको किनारमा अर्को ताल बनाउनका लागि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पोखरीको शिलान्यास गरेका छन् ।
प्रवीण निर्माण सेवाले ठेक्का लिएको उक्त पोखरी निर्माणको लागत एक करोड १२ लाख रहेको छ । कर्णाली प्रदेशको भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले योजना कार्यान्वयन गर्नेछ । शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री यामलाल कँडेलले तोकिएकै समयमा काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले बजेटको समस्या नभएको भन्दै तोकिएकै समयमा काम गर्न आग्रह गरे । बुलबुले गुरुयोजना कार्यान्वयन अन्तर्गत दोस्रो पोखरी निर्माण हुन लागेको हो ।
अहिले बुलबुले क्षेत्र सबैको रोजाइ बन्दै गएको छ । ४२ सय वर्गमिटरमा पोखरी फैलिने विस्तृत योजना प्रतिवेदनमा उल्लेख छ । तालमा रहेको पानीको स्रोतलाई जम्मा गरेर पोखरी बनाउने लक्ष्य छ । २०८२ असार १० गतेभित्र काम सक्नुपर्ने सम्झौतामा रहेको भू तथा जलाधार कार्यालयका प्रमुख शिखर चपाईंले बताए । कम्पाउण्ड वाल, क्यानल कभर, नहर निर्माण, नहरका लागि प्लास्टर, फुटपाथ ब्लक निर्माण गरिने छन् । ताल तथा पोखरीलाई व्यवस्थित गर्नका लागि प्रदेश सरकार तथा नगर सरकारको विशेष ध्यान गएको छ ।
ताल पर्यटकीय गन्तव्यका लागि प्रख्यातमात्रै होइन, बुलबुले ताल सुर्खेत उपत्यकाको सबैभन्दा ठूलो पानीको स्रोत पनि हो । २०२९ सालभन्दा पहिले तिलपुर, कुन्टी, नयाँगाउँ, पातालगंगा क्षेत्रको सिँचाइका लागि प्रख्यात थियो । २०२९ सालदेखि बुलबुले तालको संरक्षण हुन थालेको हो । तालको संरक्षणसँगै यसको आकर्षण र महत्त्व बढ्दै गएको छ । बुलबुले अहिले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ । सुर्खेत आउने जो–कोही एक पटक बुलबुले नपुगेर फर्कंदैनन् ।
बुलबुलेको मुख्य आकर्षण जमिन मुनिबाट बुलबुल भएर आउने पानी संकलन गरेर बनाइएका धारा र पार्क हो । बुलबुलेको देखिने जलकुण्ड निर्माण गरिनु पूर्व सानो चिरोको बीचबाट पानी बुलबुल गर्दै बाहिर निस्केर बग्ने गर्दथ्यो । उतिबेला स्थानीयले लुगा धुने, स्नान गर्ने र खानेपानीको समेत प्रयोग गर्ने गर्थे । २०२९ सालमा तत्कालीन राजा वीरेन्द्र शाह सुर्खेत आएपछि तालको संरक्षण र प्रचारप्रचार भएको मानिन्छ । तत्कालीन राजा वीरेन्द्रकै इच्छानुसार वीरेन्द्रनगर बजारको परिकल्पना गरियो ।
यसको गुरूयोजना निर्माण गरियो । त्यही योजनाभित्र बुलबुले पनि समेटियो । राजा वीरेन्द्रकै पहलमा गुरूयोजना निर्माण गरिएकाले यसको नाम वीरेन्द्रनगर राखियो । जुन अहिले कर्णाली प्रदेशको प्रदेश राजधानी पनि हो । बुलबुलेमा रहेका धारामा जमिन मुनिबाट बुलबुल गर्दै निस्केको पानी संकलन भएर प्रवाहित हुन्छ । अहिले बुलबुलेलाई पर्खालले घेरिएको छ । तालबाहेकको बाँकी भागमा विभिन्न फूल र रुख छन् । बालबालिकाका लागि छुट्टै पार्क छ ।
बुलबुलेको ठूलो तालमा र्याफ्टिङ सञ्चालन हुन्छ । ‘बुलबुलेको अवलोकनका साथै यहाँ आउने पर्यटकले र्याफ्टिङको पनि मज्जा लिने गरेका छन् । बुलबुलेमा बिहान, दिउँसो र साँझ तिनै प्रहरमा स्नान गर्ने, घुमफिर गरी मनोरञ्जन लिनेको भीड लाग्छ । बुलबुले कर्णाली प्रदेशको शान, पहिचान भएको बताए । कर्णालीमा पर्यटक आकर्षित गर्ने र पूर्णआनन्द दिने योजनासहित गुरुयोजना बनाए सबैभन्दा ठूलो फाइदा हुने देखिन्छ ।
बुलबुले उद्यान्नमा विभिन्न वनभोज खाने स्थल पनि बनाइएका छन् । शनिबार तथा अन्य बिदाका दिन सरकारी कर्मचारी, शिक्षक, विद्यार्थी र अन्य व्यक्तिले वनभोज खाई नाचगान गरेर रमाइलो पनि गर्ने गर्छन् । तालमा विभिन्न जातका माछा पनि पालिएका छन् । तालबाट बगेर जाने पानी ठूलो जलाशयमा जम्मा गरिन्छ ।