विकास सबै दलको साझा एजेण्डा : पोखरेल «

विकास सबै दलको साझा एजेण्डा : पोखरेल

भक्तपुर-उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विकास निर्माण सबै राजनीतिक दलहरुको साझा एजेण्डा बन्नु पर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीमा नेपाल निर्माण व्यवसायी महासंघको २१ औं साधारण सभा तथा नेपाल बिल्ड टेक एक्स्पो २०२० को उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले भौतिक पूर्वाधारको निर्माणविना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने बताए । समृद्ध मुलुक निर्माणका लागि निर्माण व्यवसायीहरुसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको पनि उपप्रधानतथा रक्षामन्त्री पोख्रेलले स्पष्ट पारे ।
“निर्माण व्यवसायीहरुले भने झै सरकारले निर्माण उद्योगमैत्री ऐन नियम ल्याइरहेको छ, अब निर्माण व्यवसायीहरुले पनि इमान्दारितपूवर्क काम गर्नुपर्छ” उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले भने । समयमा नै निर्माण कार्य पूरा नहुँदा सबैलाई घाटा पुग्ने भन्दै पोख्रेलले यसतर्फ सजग हुन व्यवसायीलाई आग्रह गरे ।
निर्माण कार्यमा लापरवाही गर्नेलाई कार्वाही गर्न सरकार बाध्य हुने समेत उनले बताए । नेपाली निर्माण व्यवसायीहरु अब आफ्नो योग्यता तथा क्षमता सहित श्रेष्ठता प्रमाणित गर्दै अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने उनको भनाइ थियो ।
महासंघका मानार्थ सदस्य समेत रहेका सांसद जीप छिरिङ लामा शेर्पाले निर्माण कार्य समयमा नै पूरा नहुनुमा निर्माण व्यवसायीको मात्र दोष नरहने भन्दै समयमा नै भुक्तानी नहुँदा व्यवसायीलाई धेरै असहज भएको बताए । सांसद बहादुरसिंह लामाले निर्माण क्षेत्रमा गहन अनुसन्धान आवश्यक रहेको भन्दै व्यवसायीले मोबिलाइजेशन खर्चको दुरुपयोग नगरेको दाबी गरे ।
नेकपाका नेता डा. विजय पौडेलले आफ्ना समस्या खुल्ला रुपमा राख्न व्यवसायीहरुलाई सल्लाह दिए । प्रधानमन्त्री कार्यालयका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले व्यवसायीका समस्याबारे सरकार जानकार रहेको भन्दै व्यवसायीहरुको समस्या समाधान भइरहेको बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले म्याद थप तथा बैंक क्रेटिड लाइनको समस्या समाधान भएपनि व्यवसायीहरु अरु धेरै समस्या खेप्न बाध्य भएको तर्फ सरकारको ध्यानाकर्षण गराए । “निर्माण व्यवसाय चलायमान नहुँदा दशेको अर्थतन्त्रमा नै समस्या आउने भएकाले निर्माण व्यवसायीका जायज माग पूरा गर्नुको विकल्प सरकारसँग छैन” अध्यक्ष सिंहले भने । इफाप्काका अध्ययक्ष मोहमद अली जनाहले राजनीतिक स्थिरता विना विकासको परिकल्पना गर्न नसकिने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले नेपालका व्यवसायीहरुले विविध चुनौतिका बाबजुद उत्कृष्ट काम गरिरहेको बताए ।
साधारण सभासँगसँगै महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा भक्तपुर सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो २०२० पनि सुरु भएको छ । निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित् १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु कुल ७० हजार स्क्वाएर फिट क्षेत्रफलको एक्स्पोमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्