पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

काठमाडौं- महाशिवरात्रिको दिन बुधबार आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ । बुधबार महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमाण्डमा चार हजार दुई सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।