Logo

सात महिनामा लक्ष्यभन्दा आधा राजस्व

धनगढी–आर्थिक क्षेत्रमा परेको चापका कारण आयात निर्यात व्यापारमा आएको संकुचनले कैलाली भन्सारको राजस्व संकलन लक्ष्यको आधा पनि संकलन हुन सकेको छैन । चालु आर्थिक वर्षमा ११ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा माघ मसान्तसम्ममा ४१.३४ प्रतिशत मात्रै राजस्व संकलन भएपछि लक्ष्यभन्दा कम राजस्व संकलन भएको हो ।

भन्सार कार्यालयले साउनमा ६९.३३, भदौमा ५९.२८, असोजमा ७६.७५, कात्तिकमा ६९.८१, मंसिरमा ९३.५३, पुसमा ७२.३३ र माघमा ८२.१८ प्रतिशत राजस्व संकलन भएको बताएको छ । तथ्यांक अनुसार भन्सार महसुल एक अर्ब ७५ करोड २५ लाख रुपैयाँ, मूल्य अभिवृद्धि कर एक अर्ब ७२ करोड ५१ लाख, अन्त शुल्क एक अर्ब १२ करोड ५० लाख र अन्य कर एक अर्ब एक करोड १६ लाख रुपैयाँ गरी चार अर्ब ६१ करोड ४३ लाख रुपैयाँ संकलन भएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा भन्सार महसुल चार अर्ब ६७ करोड ९३ लाख, मूल्य अभिवृद्धि कर तीन अर्ब ९१ करोड ६० लाख, अन्त शु:ल्क २९ करोड ३० लाख र अन्य कर दुई अर्ब २७ करोड ४१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ । वार्षिक लक्ष्यको ४१ प्रतिशत राजस्व संकलन भए पनि गत वर्षको तुलनामा राजस्व संकलन बढेको भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनाले बताए । उनले सात महिनाको लक्ष्यमा ७४ प्रतिशत राजस्व संकलन भएको बताए ।

गत आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म पाँच अर्ब ६२ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भए पनि तीन अर्ब ६५ करोड ६१ लाख रुपैयाँ (६५ प्रतिशत) मात्रै संकलन भएको थियो । आर्थिक वर्षको अन्त्यसम्म ११ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३० करोड ६६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा आठ अर्ब २९ करोड ६३ लाख (६७.४१ प्रतिशत) मात्रै राजस्व संकलन गर्न सफल भएको थियो ।

आर्थिक क्षेत्रमा संकुचन भएकोले विगत पाँच वर्षदेखि भन्सार राजस्व असुली निरन्तर ओरालो लागेको बताउँदै भन्सार प्रमुख तिम्सिनानले चालु आर्थिक वर्षमा राजस्व संकलन गरिएको रकम बढेको बताए । उनले विगतको तुलनामा राजस्व संकलन बढ्दै गएको बताउँदै लक्ष्य निर्धारण गर्दा अध्ययन नपुगेको बताए । उनले आर्थिक उत्पादन कति हुन्छ र कति आयात हुन्छ भन्ने कुराको अध्ययन नगरी लक्ष्य निर्धारण गर्दा राजस्व संकलन लक्ष्यमा पुग्न नसकेको बताए ।

ठूलो संख्यामा नागरिक गरिबीको रेखामुनी रहेकोले आम्दानीको स्रोत उपभोगमै खर्च भइरहेकोले पनि आयातमा ह्रास आएको भन्सार प्रमुख तिम्सिनाले बताए । उनले चोरी पैठारीका कारण भन्सारको लक्ष्यमा असर गरेको बताए । विभिन्न अध्ययनले भन्सारबाट आयात र चोरी पैठारी ५०/५० प्रतिशत रहेको देखिाएको बताउँदै उनले चोरी पैठारी नियन्त्रण हुन सकेमात्रै अहिलेको भन्सार लक्ष्य पुरा हुन सक्ने जिकिर गरे । आर्थिक वर्ष २०७७/७८ देखि कैलाली भन्सारले राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्