जुम्लामा एक हजार स्याउका बिरुवा रोपियो

जुम्ला– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा दोस्रो पटक जुम्लामा स्याउका बिरुवा रोपिएको छ । जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनमा सुधार ल्याउने मनसायले दोस्रो पटक जुम्ला पुगेका विप्लवको नेतृत्वमा एक हजार स्याउका बिरुवा रोपिएको हो ।
स्याउका बिरुवा रोप्न विप्लव नेतृत्वमा उत्तर कर्णाली ब्युरो हुम्ला, मुगु, जुम्ला, अछाम, कालिकोट बाजुरासहितका नेकपा नेता–कार्यकर्ता जुम्ला पुगेर स्याउका बिरुवा रोपेका छन् । हिमा गाउँपालिका–७, धाँचुगाउँको धौलापानीमा एक हजार स्याउका बिरुवा रोपिएको छ । स्थानीय कृष्णकौरा शाहीको १४ हजार वर्गमिटर क्षेत्रफल रहेको जग्गा २० वर्ष लिजमा लिएर स्याउका बिरुवा रोपिएको छ ।
अघिल्लो वर्ष पनि विप्लवकै नेतृत्वमा हिमा गाउँपालिका–७ हडुल्यामा एक हजार स्याउका बिरुवा रोपिएको थियो । जुम्लाको आर्थिक समृद्धि र किसानको आयस्तर बढाउन विप्लवले कृषि क्रान्तिमा होमिन किसानलाई ऊर्जा दिइरहेका छन् । उत्पादन सम्भावनानुसारको खेती गरेर उत्पादन बढाउने र आयस्तर उकास्ने खालका उत्पादनमुखी कार्यक्रममा आफ्नो पार्टीले विशेष प्राथमिकता दिएको विप्लवले बताए । तराईमा बृहत् धानखेतीदेखि पहाडमा व्यावसायिक स्याउखेतीको अभियान चलाएको उनको भनाइ छ ।
‘उर्वर बाँझो जग्गालाई उपभोग गरी स्याउ रोपेर उत्पादन बढाउने लक्ष्य लिएका छौं । यसले बाँझो जग्गाको उपभोग र किसानको आयस्तर बढाउने हाम्रो सोच हो,’ उनले भने, ‘देशभर हामीले नेता–कार्यकर्तालाई उत्पादनमा जोडिरहेका छौ । कृषि क्रान्ति चलिरहेको छ । देशभर डेढ सय बिघा जमिनमा खेती गरिरहेका छौं । जुम्लामा पनि स्याउ, ओखरखेती गर्ने उद्देश्यका साथ अघिल्लो वर्ष पनि एक हजार बिरुवा रोपेका छौँ । दोस्रोपटक पनि एक हजार बिरुवा रोपेका छौं । कालिकोटमा पनि बिरुवा रोप्ने छौं ।’
राजनीति सेवा हो । नि:स्वार्थ सेवा गर्न र देशको अर्थतन्त्र सुधारका लागि नेताकार्यकर्ता उत्पादनमा जोडिनुको विकल्प छैन । कृषि उत्पादनलाई प्राथमिकता दिने पार्टीको नीतिअनुसार अघिल्लो वर्ष हिमा गाउँपालिका–७ हडुल्यामा रहेको बाँझो जग्गामा बृहत् स्याउखेती गरिएको पार्टी जिल्ला इन्चार्ज बिर्खबहादुर शाहीले बताए । उनले भने, ‘कृषि उत्पादनले मात्रै देश उँभो लाग्ने भएकाले किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाई आत्मनिर्भर हुने उद्देश्यसहित हिमाली जिल्ला जुम्लामा हावापानी सुहाउँदो स्याउखेतीको सुरुवात गरिएको हो ।
जुम्लाको सबै पाखोबारीमा स्याउ उत्पादन हुने सम्भावना छ । यही सम्भावनालाई अवसरमा रूपान्तरण गर्न हामीले स्याउखेतीमा जोड दिएको शाहीको भनाइ छ । नेकपा दलित मुक्ति मोर्चा कर्णाली प्रदेश कोषाध्यक्ष मंगला विकले व्यक्तिगत रूपमा एक सय स्याउका बिरुवा सहयोग गरेकी छन् । उनले अघिल्लो वर्ष पनि नेकपाको स्याउ रोप्ने कार्यक्रममा यस्तै स्याउका बिरुवा सहयोग गरेकी थिइन् । उनले भनिन्, ‘हरेक नागरिक होस् राजनीतिज्ञ होस् उत्पादनमा जोडिनुपर्दछ । त्यसकारण पनि यो उत्पादनसँग जोडिने कार्यक्रम निकै उत्तम छ । यस्ता कार्यक्रम तीनै तहका सरकारले सञ्चालन गर्नुपर्छ ।