१७ वर्षपछि रतुवा खोला पुल सञ्चालन

बिर्तामोड– झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकाको सिमानामा रहेको रतुवा खोलामा १७ वर्षपछि पुल सञ्चालनमा आएको छ । पूर्व पश्चिम राजमार्गको विकल्पको रूपमा निर्माण सुरु भएको हुलाकी राजमार्गको झापा खण्डअन्तर्गत रतुवा खोलाको पुल निर्माण थालेको १७ वर्षपछि बल्ल सञ्चालनमा आएको हो ।
झापा र मोरङको सिमाना पर्ने हुलाकी सडकअन्तर्गतको रतुवा खोलाको पुल आर्थिक वर्ष २०६४/०६५ मा कालिका ओसिए जेभीले १० करोड ३२ लाख रुपैयाँमा ठेक्का लिएर निर्माण थालेको भए पनि ३४८ मिटर लम्बाइ रहेको सो पुल दुई सय चार दशमलव आठ मिटरमात्रै निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो ।
पुल निर्माण अधुरै भएपछि दोस्रो पटक पुल निर्माणका लागि २०७९ पुस १७ गते २२ करोड ३७ लाख रुपैयाँमा २०८१ असार १७ गते सम्पन्न गर्नेगरी देव एण्ड सायर/समता/आशिषदीप जेभीसँग ठेक्का सम्झौता भएको थियो । उक्त निर्माण कम्पनीले अघिल्लो निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको पुल निर्माण सुरु भएको १७ वर्षपछि निर्माण सम्पन्न गरेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी उपेन्द्र दासले बताए ।
झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकाको सिमानामा रहेको रतुवा खोलामा आर्थिक वर्ष २०६४/०६५ देखि बनाउन थालिएको पुल खोलाको क्षेत्रभन्दा सानो भएपछि सञ्चालनमा आउन नसकेको भए पनि अहिले पूर्वीतर्फ एक र पश्चिमतर्फ दुई स्पान थप गरी मोरङतर्फ ५० मिटर र झापातर्फ २६ मिटर पुलको लम्बाई थप गरी २८२.५ मिटर रहेको पुल सञ्चालनमा आएको उनले बताए ।
पुल सञ्चालनमा आए पनि एप्रोच सडक र केही काम भने बाँकी नै छ । उक्त काम चाँडै सक्ने दोस्रो चरणको ठेक्का लिएर काम गर्दै आएको समता कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक राजेश राउतले बताए । पुलको काम सकिए पनि पुलको एप्रोच सडकमा कालोपत्रे र तारजालीको दक्षिणी भागको काम धमाधम भइरहेको बताउँदै उनले पुलको सुरक्षाका लागि खोलामा तटबन्ध निर्माण पनि भइरहेको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने उक्त पुल प्रधानमन्त्री केपी शर्मा ओली चार पटक प्रधानमन्त्री बन्दामात्र पुलले पूर्णता पाएको ठेकेदार कम्पनीका सञ्चालक राउत बताउँछन् । पुल नहुँदा स्थानीयबासी बर्खामा डुङ्गा र हिउँदमा बाँसको पुलबाट यात्रा गर्न बाध्य थिए । साइकलमा बासको पुलबाट खोला वारपार गर्दा १० रुपैयाँ र मोटरसाइकलको २० रुपैयाँ तिर्नुपरे पनि अहिले पुल सञ्चालनमा आएसंँगै आवतजावत सहज भएको स्थानीयबासी बताउँछन् ।
वर्षाैंपछि पुल बनेर सहज यात्रा गर्न पाउँदा दक्षिणी झापाका बासिन्दा खुसी छन् । झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्ने यो पुल निर्माण भएर सञ्चालनमा आएपछि दक्षिणी झापाका बजारमा समेत चहलपहल बढ्न थालेको व्यवसायी बताउँछन् । पुल निर्माणपछि सवारीसहित आवतजावत सुरु भएपछि दैनिक हजारौंको संख्यामा हिँड्ने यात्रु पनि खुसी छन् ।
पूर्व–पश्चिम राममार्गको विकल्पको रूपमा निर्माण भएको हुलाकी राजमार्गमा पर्ने रतुवा खोलाको पुल निर्माण भएसँगै झापाका दक्षिण क्षेत्रका झापाका बासिन्दालाई हुलाकी मार्ग हुँदै कोशी प्रदेशको राजधानी विराटनगर आउजाउ गर्न सहज भएको छ । हुलाकी राजमार्गको पूर्वमा मेचीदेखि पश्चिममा कञ्चपुरको दोधारा चाँदीसम्मको कुल लम्बाइ १८ सय ८७ किलोमिटर रहेको छ भने हुलाकी राजमार्ग निर्माण भएपछि तराई मधेसका बासिन्दाको जीवनस्तर उकास्न मद्दत पुग्ने बताइएको छ ।