महाशिलाबाट चार महिनामै ८५ लाखको तरकारी निर्यात

पर्वत– पर्वतको विकट महाशिला गाउँपालिकामा उत्पादित तरकारी पोखराको बजारमा छ्याप्छ्याप्ती पाइन थालेको छ । गाउँपालिकाले कृषकलाई ढुवानी अनुदान उपलव्ध गराएपछि यहाँका कृषकले दैनिक पोखरा निर्यात गर्न थालेका हुन् । पछिल्लो चार महिनामा मात्रै ८५ लाख बराबरको तरकारी बजारमा बिक्री भएको गाउँपालिकाले जनाएको छ ।
यहाँबाट दैनिकजसो सवारी पोखरा जाने गरेका छन् । गत कात्तिकदेखि माघ महिनासम्म ८५ लाख बाराबरको तरकारी बिक्री भएको महाशिला गाएँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले जानकारी दिए । गत कात्तिकमा ३६ लाख १९ हाजर रुपैयाँ, मंसिरमहिनामा १३ लाख ७८ हाजर रुपैयाँ, पुस महिनामा २९ लाख ९७ हजार रुपैयाँ र माघमा १८ लाख १२ हजार रुपैयाँ बाराबरको तरीकारी बिक्री भएको हो ।
महाशिलामा फर्सी, आलु, अकबरे खुर्सानी, साग, ब्रोकाउली, काउली, बन्दा, स्कुस, लौका, काक्रो, टमाटर, भिण्डी, सिमी, बोडी लगायतका तरकारीजन्य वस्तु उत्पादन हुने गरेको छ । यहाँका कृषक मौसमी तथा बेमौसमी तरकारी लगाउँछन् । महाशिला गाउँपालिकासँगको सहकार्यमा हेफर इन्टरनेसनल नेपालको सहयोगमा इन्प्रेड नेपालले तरकारी मूल्य श्रृंखलामार्फत ग्रामीण महिला उद्यमको प्रतिस्पर्धात्मकता बढाउने परियोजना सञ्चालन गरेको छ ।
उक्त परियोजनाबाट महाशिला गाउँपालिकाका ८७५ घरपरिवार लाभान्वित भएका छन् । हाल ५९८ घरधुरी कृषक आबद्ध रहेको सो स्थानमा ११ सय ३९ रोपनी जग्गामा तरकारी खेती गरिएको छ । संस्थाले यहाँका किसानले उत्पादन गरेका तरकारी तथा खाद्यान्नबाली उचित मूल्यमा घरेलु बजारका साथै जलजला, वालिङ, पोखरा, काठमाडौँ लगायतका सहरमा बिक्री वितरण गर्न सहजीकरण गरेको छ ।
उक्त परियोजना सञ्चालन भएसँगै यहाँका कृषको संख्या वृद्धि भएको छ भने कृषि उत्पादन र उत्पादकत्वसमेत वृद्धि भएको इन्प्रेड नेपालका कार्यक्रम अधिकृत टुकप्रसाद शर्माले बताए । पालिकाका ६ वटै वडामा सडकको पहुँच विस्तार भएपछि कृषकसमेत ब्यावसायिक बन्दै गएका छन् । गाउँपालिकाले कृषिजन्य उत्पादनमा प्रतिकेजी पाँच रुपैँया उपलब्ध गराउँदै आएको छ । कृषकलाई व्यावसायिक बनाउनका लागि पालिकाले अनुदान दिन थालेको अध्यक्ष भुसालले बताए ।
महाशिला गाउंँपालिकावाट यस वर्ष करिव ३० टन फर्सी, १० टन तरुल बिक्री गरिएको छ । पालिकाले तरकारीमात्र नभएर खसी बोकामा पनि २५ रुपैयाँका दरले प्रतिकिलो अनुदान उपलब्ध गराउँदै आएको छ । पालिकाको उत्पादनमा अनुदान दिने कार्यक्रमपछि कृषि पेशातर्फ आकर्षित हुनेको संख्यासमेत बढ्दै गएको अध्यक्ष भुसालले बताए ।